सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन् । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन् । सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गरेका छन् । यस कठिन घडीमा उनले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।

भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

काठमाडौं । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको निधन भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको निधन भएको पुष्टि भएको हो । उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

जाजरकोटमा भूकम्प : ३७ जनाको निधन, सयौं घाइते

जाजरकोट । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो । रासस