महिला टी-२० सिरिज : नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौं । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन । यससँगै अब हङकङले पहिला बलिङ गर्ने भएको छ । नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पुजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।
सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी सुरू
महोत्तरी । सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ । मिथिलामा व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथिकै दिन ‘नहाय–खाय’ विधिसँगै जोडेर गर्नेगरेका पनि पाइन्छ । यद्यपि व्रत विधानले कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा–अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ । आजदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइन्छ । यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ । सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अर्घ्य दिइन्छ । षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित मागपूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुुुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिएको मुक्तिको भनाइ छ । खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान बताउँछन् । मुख्यत सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग गाभिएको उपप्राध्यापक मुक्ति बताउँछन् । एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत् भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व गाइने गरिएको छ । पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्वप्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झा बताउँछन् । यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । अघि द्वापरयुगमा भगवान श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुुरु भएको विश्वास गरिँदै आइएको महोत्तरीकै बर्दिबास–२ का बासिन्दा कर्मकाण्ड र मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन् । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिँकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षकघाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र भाकलका रुपमा अर्घ्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीहरुलेसमेत मनाउन थालेपछि छठ पर्व मिथिलाको साझा पर्व बनेको छ । अब मुलुकको राजधानीसहित धेरैजसो ठाउँमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनेको मैथिल गर्वसाथ बताउँछन् । रासस
धुमधामका साथ मनाइँदै भाइटिका, डिजिटल दक्षिणा दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज धुमधामका साथ भाइटिका मनाइँदै छ । भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको बताइएको छ । योसँगै नेपाल राष्ट्र बैंकलाई दिदिबहिनीलाई डिजिटल दक्षिणा दिन आग्रह गरेको छ । नोटको कारोबार नगरी मोबाइल बैंकिङ मार्फित् दक्षिणा दिन राष्ट्र बैंकले आग्रह गरेको हो ।