जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन् । साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री दाहालले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबापत अन्तर्राष्ट्रियरूपमा प्राप्त हुने अनुदान/सहयोगलाई जोखिममा परेका समुदायमा वितरण गर्न प्राथमिकता दिइने धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यकलगायत समुदायलाई सशक्तीकरण गर्ने ‘एजेन्डा’ मैले पहिलेदेखि नै भन्दै आएको हो । यसको परिणामस्वरुप मुलुकमा महिला सशक्तीकरण भएको छ र नेतृत्वमा समेत महिला स्थापित भएका छन् ।’ भेटका क्रममा प्रधानमन्त्री दाहाललाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का सन्दर्भमा सुझावपत्र बुझाउँदै साथसाथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको क्षतिपूर्तिका अवसरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यकलगायत उच्च जोखिममा परेका समुदायलाई ५० प्रतिशत सुनिश्चितता गर्नुपर्ने माग गरिन् । उनले कोप–२८ सम्मेलनका क्रममा नेपालको ‘पेभेलियन’मा साथसाथैले दुईवटा ‘साइड इभेन्ट’ गर्न लागेको बताउँदै आगामी डिसेम्बर ४ को इभेन्टमा कतारका राजकुमारी शेख आश्मा अल थानी प्रमुख अतिथिका रूपमा आउने सुनिश्चित भएको जानकारी गराइन् । प्रधानमन्त्री दाहालले कतारका राजकुमारी अल थानी अतिथिका रूपमा आउने विषयका सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालको पेभेलियनमा हुने कार्यक्रममा कतारकी राजकुमारी अतिथिका रूपमा आउने विषय नेपालका लागि खुसीको कुरा भएको उल्लेख गर्दै यसमा कतारको दोहा र युएईको आबुधाबीस्थित नेपाली दूतावासहरूले आवश्यक समन्वय गर्ने बताए । प्रधानमन्त्री दाहाललाई बुझाइएको सुझावपत्रमा जलवायु परिवर्तनका कारण हिमालका हिउँ पग्लिने क्रम बढेको र हिमताल फुटेर प्राकृतिक विपद्का घटनामा बढोत्तरी हुने जोखिम बढेको उल्लेख छ । यसैगरी सुझावपत्रमार्फत जलवायुजन्य विपद्का कारण स्थानीय समुदायको जीवनयापन, स्वास्थ्य, शिक्षा र रोजगारी लगायतमा गम्भीर असर पुगिरहेकाले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने ध्यानाकर्षण गराइएको छ । भेटमा परराष्ट्रमन्त्री साउदका साथै प्रधानमन्त्रीका जलवायु सल्लाहकार डा. पपुलर जेन्टल भुसाल र साथसाथैका तफर्बाट अध्यक्ष कार्कीको नेतृत्वमा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पा, महिला तथा जलवायुविज्ञ सरु जोशी श्रेष्ठ, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देल, साथसाथैका सल्लाहकार सरिताश्री ज्ञवाली, कोषाध्यक्ष प्रदा कार्की जोशीलगायत थिए ।
बैठकभत्ताबाट बालबालिकालाई पोसाक
भोजपुर । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन् । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी हुन् । बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरूप उनीहरूलाई सम्मान गरेको उपप्रमुख शेर्पाले बताइन् ।
सुर्य नेपाल सेन्ट्रल ओपन सम्पन्न, एमरच्योर सदभावलाई करियरको दोस्रो उपाधि
काठमाडौ । युवा एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन । सदभाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए । अन्तिम दिन आज ३-अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७-अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन । इभन-पार ७२ खेल्दै समग्रमा १०(अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए। प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गरे । समग्रमा ७/अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए। प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे। आज २-ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन(पार २ सय ८८ प्रदर्शनमा चौथो भए । प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो । समग्रमा २-ओभर २ सय ९० को स्कोरमा निरज तामाङ पाँचौ भए। उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए । पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए । आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए । समग्रमा उनी छैटौं भए। समग्रमा ४-ओभर २ सय ९२ सहित रबि खड्का सातौं भए । उनले आज इभन-पार ७२ मा खेल सकाए। उनले ५० हजार प्राप्त गरे। आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौं भए । उनले ४२ हजार ५ सय पुरस्कार राशी हात पारे। समग्रमा ६-ओभर २ सय ९४ सहित धन बहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौं भए । धनले आज ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरे। दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे । अन्तिम १८ होलको सुरूवात गर्दा आज सदभावसँग ४ स्ट्रोकको अग्रता थियो । सदभावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे । दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सदभावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो । तर यसपछि सदभावले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए । दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरेपनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए । यसपछि ब्याक नाइनमा सदभावले दशौं देखि तेह्रौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने संभावनालाई लगभग सुनिश्चित गरे । अन्य गल्फरले चुनौती समेत दिन सकेनन । यसपछि १४औं र १६औं होलमा बोगी खेपे पनि ब्याक नाइन २-अन्डर ३४ मा पुरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने । दिनेशले १४औं होलमा एक सट खेर फाले भने १०औं, ११औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४मा सकाए । भुवनले इभन-पार ७२ मा खेल सकाउने क्रममा फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौं होलमा एक-एक सट बचाए । छैटौं होलमा भने डबल बोगीको सामना गरे । यसपछि १५औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी हान्दै १(अन्डर ३५ मा ब्याक नाइन सकाए । सञ्जयले दोस्रो, सातौं र आठौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाए । १८औ होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।