फुङ्लिङमा आगलागीबाट ५ लाखको क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा घर जलेर नष्ट भएको छ भने ५ लाख रुपैयाँबराबरको क्षति भएको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा ५ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । साईबर ब्यूरोको टोलीले उक्त कार्यमा संलग्न चितवनको रत्ननगर नगरपालिका-१० स्थायी वतन भई हाल काठमाडौं जिल्ला बस्ने ४२ वर्षिय चतुर्मान महतोलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल मार्फत चिनजान भई भेटघाटको क्रममा लिईएका तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी मेसेजिङ एप मार्फत पठाई चरित्रहत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिएको भन्दै उनलाई प्रकाउ गरिएको ब्यूरोले जानकारी गराएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा साईबर ब्यूरोबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

चीनले भरतपुर भ्रमण वर्ष २०२४ लाई पठायो उपकरण

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साईडबोट उपकरण उपलब्ध भएकोे छ । मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहिबार महानगरपालिका आई पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएको हो । साईडबोट भनेको एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो । यो उपकरणले १० किलोमिटर टाढाका दृश्यहरुलाई सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ । चेम्बर अफ कर्मशका सेक्रेटरी डा उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने छ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाएको छ । भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्ने छन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर भरतपुरको प्रसारप्रसार गर्न सकिन्छ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थानहरु रहेका छन् ।