टि २० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध
काठमाडौं । आइसिसी टि २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले समान १/१ अंक बाँडेका छन् । समूह डिमा रहेको नेपालको २ खेलबाट एक अंक भएको छ भने श्रीलंकाको तीन खेलबाट १ अंक छ । तीन खेलमा श्रीलंका बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको हो भने नेपालसँग वर्षाका कारण १ अंक बाँडेको हो । यता नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो भने श्रीलंकासँग अंक बाँड्न बाध्य बनेको हो । नेपालले अब १५ तारिकमा दक्षिण अफ्रिकासँग् वेस्टइण्डिजमा खेल्नेछ । साथै १७ तारिकमा बंगलादेशसँग खेल्नेछ । बाँकी दुवै खेल जितेको खण्डमा नेपालले सुपर ८ को यात्रा तय गर्नेछ । समूह डिबाट दक्षिण अफ्रिका एक अखेल अगावै सुपर ८ मा पुगिसकेको छ । दक्षिण अफ्रिकाले तीनमा तीन खेलमा नै जित हात पारेको छ ।
अचेल गाउँघरमा ढिँकीजाँतो देखिँदैनन्
लमजुङ । यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो । ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोपहुने अवस्था आएको बताउँछिन् । ढिँकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर जीवन धान्दै आएको कुरा अब स्मरणमा सीमित भएको उनले सुनाइन् । ‘विगतमा ढिँकीजाँतोमा सङ्घर्ष गरिएका ती दिन र समय अहिले कथा जस्तै भएका छन् । पहिले गाउँमा ढिँकीजाँतो नभएको कुनै घर नै हुँदैन थियो तर अचेल ढिँकीजाँतो देखिन छाडे । अहिले सम्झदा पनि कथा जस्तै लाग्छ’, उनले भनिन् । दूधपोखरी गाउँपालिकाकी ८६ वर्षीय यमकुमारी गुरुङले पछिल्लो पुस्ताले चासो नदिँदा परम्परागत ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको बताइन् । ‘हाम्रा पालामा सबैले घरमा ढिँकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र पिन्ने मिसिन आयो, अहिले केलाई चाइयोरु ढिँकीजाँतो’, उनले भनिन्, ‘ढिँकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद सम्झदा पनि जिब्रो रसाउँछ । त्यो शौभाग्य अहिलेका चेलीबुहारीले त देख्न पाएनन् ।’ त्यस्तै, दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै बिताए ती परम्परागत सामान देख्न नपाएको धेरै भइसकेको सुनाइन् । ‘हाम्रो धेरै समय त्यसैमा बित्यो तर पछिल्लो समय त्यसबाट कुटेका पिसेका खाने कुरा त कल्पनामा सीमित भएका छन् । समय परिवर्तन भएजस्तै हाम्रा मौलिकता पनि हराउन थाले । निकै दुःख लाग्छ’, उनले गुनासो गरिन् । ढिँकीजाँतो प्रसस्त हुने यस वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँ लगायतका गाउँमा अहिले देख्नै मुस्किल पर्दै गएको छ । एक हजारभन्दा बढी घरधुरी रहेका ती गाउँमा पाँच/१० वटाभन्दा धेरै ढिँकीजाँतो छैनन् । ढिँकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् । त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका ३५ घरमध्ये अहिले एकाध घरमा मात्र ढिँकी रहेको स्थानीय काम सार्की गुरुङले बताए । करिब १०/१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिँकीजाँतो लोप भएको उनको भनाइ छ । यसरी परम्परागत ढिँकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिएकोमा उनले दुःखमनाउ गरे । सोही गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्षअघिसम्म गाउँका प्रायः सबै घरमा ढिँकीजाँतो प्रयोग गर्दै आए पनि अहिले एक दुई जनाको घरमा मात्र रहेको बताए । बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँमा करिब १४ वर्ष अघिसम्म प्रत्येक घरमा ढिँकीजाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै गएर छ वर्ष अघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिँकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताउँछन् । ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिँकीजाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडे तर हामीलाई त धेरै माया लाग्छ ।’ विद्युतीय मेलमा एकमुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिँकीमा बिहानभरीमा पनि धान कुटी नसकिने भएकाले यहाँका स्थानीयले बाध्य भएर ती परम्परागत सामान प्रयोग गर्न छोडेको धेरैको बुझाइ छ । रासस