काठमाडौं उपत्यकामा जीवित छ नेवारी संस्कृति (फोटोफिचर)

बुङमती खेतबाट फर्कदै किसान । काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । सानागाँउकी महिला परालको खेलौना बनाउदै । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ । काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसङ्गीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ । प्याङगाँउमा प्याङ बनाउदै बृद्ध । नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत सङ्गीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् । साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । ठेचोका महिलाहरु चकटी बुन्दै गफिदै । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ । विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो । किर्तिपुरमा धान कुट्दै महिलाहरु नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ । विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिका खेल्ने गर्छ नेवारी समुदायले । तर यसो भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ । भक्तपुरमा माटाको भाँडा बनाउदै पुरुष । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल

ताप्लेजुङमा टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आए । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ । बुन्ने सीप छैन । यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ । यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको हो । मेलामा बिहीबार भएको टपरी प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए । घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रिए । प्रतिस्पर्धामा सहभागीका मनमस्तिष्क पुराना यादले भरिए । प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमशः दोस्रो र तेस्रो भए । शारीरिक प्रतिक्रिया र अनुहारको भाव हेर्दा लाग्थ्यो उनीहरु प्रतिस्पर्धामा नभई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत कार्यमा भेला भएर दुनाटपरी गाँसिरहेका छन् । उनीहरुले प्रतिस्पर्धाको कुरा बिर्सिएर विगतमा गाउँघरमा भएका विवाह, व्रतबन्धजस्ता कार्यमा भेला भएर दुनाटपरी गाँसेको सम्झिदै रमाइलो अनुभूति गरे । ‘पहिलाजस्तो दुनाटपरी गाँस्ने र प्रयोग गर्ने चलन हराउँदै गयो, विभिन्न कार्य हुँदा गाउँघरका महिला दिदीबहिनी भेला भएर दुनाटपरी गाँस्ने चलन थियो, एकअर्कालाई सघाइन्थ्यो, आजकल त्यस्तो छैन, धेरै पछि यति धेरै भेला भएर टपरी गाँस्दा पुरानो याद आयो, सिक्ने सिकाउने अवसर मिल्यो, रमाइलो भयो’, प्रतिस्पर्धी भीमा थापाले भने । जन्मदेखि मृत्युसम्मका विभिन्न कर्मकाण्डमा चाहिने टपरी अहिलेको पुस्ताले बिर्सिएकामा उनले चिन्ता व्यक्त गरिन् । टपरी बुन्ने प्रतियोगिताले सीप आदानप्रदान भएको र यसबारे नयाँ पुस्तालाई जानकारी गराउन मद्दत पुगेको उनको भनाइ छ । हाङ्देवाकी लक्षिमा देवीले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनलाई पनि पुरानै याद आयो । उमेरमा आफ्नै घरमा र थुप्रै छरछिमेक, आफन्तकहाँ विवाह, व्रतबन्ध आदि कार्यमा भेला भएर दुनाटपरी गाँसेको झलझली सम्झिएको उनले बताए । ‘धेरै समय पछि यतिका धेरै जना भेला भयौँ, धेरै रमाइलो भयो’, उनले भने । प्रतियोगितामा दुई पुरुषसमेत सहभागी थिए । सहभागीमध्ये फुङलिङका ६८ वर्षीय लोचन दाहालले टपरी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकाले सीप विकासतर्फ ध्यान दिनुपर्ने बताए । विजेता बन्नेभन्दा पनि राम्रो कामको सम्मान गरौँ भनेर भाग लिएको उनको भनाइ थियो । ‘दुनाटपरी गाँस्ने, प्रयोग गर्ने चलन हरायो, मौलिक वस्तुको संरक्षण र परम्परागत सीपको विकास तथा विस्तार गर्नुपर्छ, अहिलेका नयाँ पुस्तालाई पनि टपरी बुन्ने सीप सिकाउने कार्यक्रम सरोकारवाला निकायले ल्याउनुपर्छ’, दाहालले भने । प्रतिस्पर्धामा भाग लिएर सीप आदानप्रदान गर्ने, नयाँ पुस्तालाई सीप सिकाउनुपर्छ, टपरी गाँस्ने, प्रयोग गर्नुपर्छ भन्नेजस्ता कुरा गरिरहेका वृद्धवृद्धामाझ युवा पुस्ताका प्रतिस्पर्धी भने कोही पनि थिएनन् । ‘युवा पुस्तामा टपरी बुन्ने सीप नभएर वा लजाएर पनि सहभागी नभएका होलान, टपरीको चलन नै हराएको छ’, प्रतियोगितास्थलमा भेटिएका भीम गुरुङले भने । यस्तो प्रतियोगिताले पुराना सीप र मौलिक वस्तुको पुनःउत्थानमा सहयोग मिल्ने उनको भनाइ छ । मेसिन र औजारबाटभन्दा परम्परागत विधिबाटै टपरी बनाउँदा सर्वसाधारणलाई रोजगारी मिल्ने साथै स्वास्थ्यका दृष्टिले समेत फाइदा पुग्ने गुरुङ बताउँछन् । टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा बनाइएको हुन्छ । सालको पातलाई शुद्ध मानिने भएकाले यसैबाट बनेका टपरी जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गर्ने परम्परा छ । तर पछिल्लो समय बजारमा मेसिन तथा औजारबाट बनेका टपरी पाउन थालेपछि बाँसको सिन्काले गाँसेर बनाउने चलन हराउँदै गएको छ । यसको प्रयोग गर्ने क्रम पनि घट्दो छ । सालको पातका टपरीलाई शुद्ध भाँडोका रुपमा लिने गरिएको छ । योसँगै केही वर्षअघिसम्म गाउँघरमा हुने विभिन्न कार्यमा खाना खाने प्रयोजनमा समेत टपरी गाँस्ने गरिन्थ्यो । क्रमशः स्टिल र प्लाष्टिकका भाँडा पाउन थालेपछि विवाह, व्रतबन्धलगायत कार्यमा टपरीको प्रयोग हुन छाडेको छ । रासस

विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले

काठमाडौं । घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुकाबीच मौलिक हातेकला हस्तकलाले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र भरपर्दो नहुने प्लाष्टिकका समानले मानिसको आकर्षण बढाइरहेको देखिन्छ । कतिपय त नेपाली हस्तकलाको सामानकै कपी गरेर बाहिरबाट प्लास्टिकमा सामान भित्रिएका छन् । कालिगढ सरोज दिलु विश्वकर्मा भन्छन्, ‘हाम्रो बजारमा प्लास्टिकका चिल्ला सामान बढी प्रयोग हुन थालेका छन्, यस्ता सामानलाई निरुत्साहित गरी मौलिक कलालाई प्रवद्र्धन गर्न लाग्नुपर्छ, नत्र नेपाली कला लोप हुँदै जानसक्छ ।’ उनका अनुसार यसरी नेपाली हस्तकलाको विकासका लागि अध्ययन अनुसन्धान बढाएर कलाको संरक्षण गर्न जरुरी छ । बजारमा यसको संस्थागतरुपमा खोजी गर्नुपर्छ । कतिपय त्यस्ता कला छन्, जुन बाहिर आउन सकेका छैनन्, त्यसलाई खोजेर प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ । त्यस्तै उत्खनन गर्ने काम र विश्वव्यापी सञ्जाल निर्माण गर्न सकेन नेपाली मौलिक हातेकलाले बजार पनि पाउने र प्रवद्र्धन हुँदा आयआर्जनका सार्थ मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने विश्वास कलाकारको छ । विदेशी कालिगढ नेपालमा भित्रिरहँदा नेपाली कालिगढ भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गनुपर्ने कलाकारहरु बताउँछन् । यी विविध समस्याका विषयमा हस्तकला क्षेत्रमा काम गरिरहेका कलाकारले हालैमात्र कलाकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षण गराएका छन् । अर्का कलाकार श्यामवदन श्रेष्ठ नेपालमा ज्ञान, सीपको कुनै कमि नभएको तर त्यसलाई अभिलेखीकरण र प्रविधिकरण गर्न नसक्दा नेपाली मौलिक सिर्जनाले स्थान नपाइएको जिकिर गर्छन् । ‘विदेशी सामान सजाउनुको सट्टा सङ्घसंस्था वा सरकारी अफिसमा हस्तकलाकै सामान प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने आजको आवश्यकता हो’, उनले भने, ‘नेपालमा खुकुरी, करुवादेखि बाँसका काम गर्ने धेरै उच्चतम ज्ञानयुक्त जनशक्ति नेपालमा छन्, तर चिन्न सकिएको छैन, उपहार दिनुपथ्र्यो भने बाहिरको वस्तु किन दिने उनीहरुले नै उत्पादन गरेका सामान दिने बनाउनुपर्छ ।’ सुनचाँदी व्यवसायी रमेश सुनार पनि त्यसमा सहमत छन् । हस्तकलाले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिइरहेको छ । रोजगारी सिर्जनामा समेत सहयोग गरेको छ । तर कोभिडपछि भने चुनौती थपिएको उनको अनुभव छ । उनी भन्छन्, ‘हामीले राम्रो उत्पादन गरेर सामान पठाउँछौँ, त्यही सामान कपि गरेर हामीलाई नै पठाउने गरिएको छ, त्यसरी बाहिरबाट आएका प्लास्टिकका सामान हामीले नै प्रयोग गर्न बाध्य छौँ ।’ यस कारण पनि कलाकार धेरै विस्थापित भएको उनले बताए । प्रतिष्ठानका प्राज्ञ तथा कलाकार प्रदीप शाक्य नेपाली कला आफ्नै मौलिक शैलीका हुन्छन् । तर यस्ता कलाको प्रवद्र्धनमा लाग्नुको साटो मुलुकको नीति नै आयातमुखी रहनु विडम्बना भएको उनले बताए । हस्तकला महासङ्घका उपाध्यक्ष नवीन शाक्य हस्तकलाका क्षेत्रमा कच्चापदार्थको समस्या रहेको बताउँछन् । ‘हामीले सरकारलाई कर तिर्छौं तर सरकारले हामीलाई सुविधा पनि दिन सक्दैन कच्चापदार्थ सहजै पाइँदैन, कच्चापदार्थको काम गर्न विदेशबाट ढुङ्गा ल्याउनुपर्छ’, उनले भने । नेपालका पुराना प्रविधि जोगाउनु पनि अहिलेको मुख्य चुनौती भएको कालकारको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका विशिष्ट सदस्य रुद्र बराइलीका अनुसार विश्वका धेरै देशलाई थाहा छ कि नेपाल एक कलात्मक मुलुक हो । तर राज्यले त्यसअनुसारको नीति नबनाउँदा समस्या भएको छ । अमर ह्यान्डीक्राफ्टका संयोजक अमरबहादुर विश्वकर्माले दक्षिण एशियामा कलाको खानी नेपाल भए पनि कलाको परिचय विदेशमा गएर लिनुपर्ने विडम्बना रहेको बताए । उनले भने, ‘तामा, पित्तल, सुन, चाँदी, फलाम जस्ता धातुलाई व्यवस्थित ढङ्गले चलाउन सक्ने हो भने र यसलाई राज्यले बोध गरिदिने हो भने पचासौँ लाख युवालाई रोजगारी दिन सकिन्छ ।’ नेपाल लतिलकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली कलाको संरक्षण र प्रवद्र्धनकै लागि प्रतिष्ठानले सातै प्रदेशमा कला हर्बको अवधारणा अघि सारेको बताए । उनका अनुसार सरकारले हालै अघि सारेको राष्ट्रिय ‘स्टार्टअप’ नीतिलाई अध्ययन गरेर समयमै आवश्यक सुझाव दिनसके हस्तकला क्षेत्रले ठूलो लाभ लिनसक्ने बताउँछन् । उनले स्थानीय सीपलाई पाठ्यक्रममा समावेश गर्ने अभियानमा समेत प्रतिष्ठान लागेको बताए । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाको विकासका लागि प्रचारप्रसार र प्रतिष्ठानका प्रकाशनमा हस्तकला विषय समावेश गर्न जरुरी रहेको उनको धारणा छ । पछिल्लो समयमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला क्षेत्रको विकासका लागि कार्ययोजना नै बनाएर अघि बढेको छ । कला र कलाकारको अध्ययन अनुसन्धान गर्नेदेखि कला सम्मेलनमार्फत आएकास झुकावलाई समेटेर थप योजनाका साथ अघि बढ्ने गरी प्रतिष्ठानले कार्य गरिरहेको छ । रासस