मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते०सम्ममा भएका विपदबाट बिहीबारसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । मनसुन भित्रिएको जेठ २८ देखि असार १२ गतेसम्म कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै, मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । चट्याङबाट क्षति सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते) को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा ९ जना चट्याङबाट र ९ जना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए ।­­­ ­­­

मिस युनिभर्स नेपालको आधिकारिक टु व्हीलर प्रायोजकमा ‘टिभिएस् एन्टर्क’

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ । मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । नेपालमा २०२० देखि शुरु भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रर्तिस्पर्धीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेज लगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ । पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुल्ला राखिएको छ ।

मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

हेटौँडा। जंगली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जंगली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जंगली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । ‘बिरामी भई हेटौँडा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन लगिएको थियो, परिवारले आफू खुसी अस्पतालबाट घर ल्याउने क्रममा लामाको मृत्यु भएको हो’, उनले भनिन्, ‘असार ३ गते च्याउ खानुभएकी रुम्बाको उपचारका क्रममा असार ९ गने मृत्यु भएको हो ।’ प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ–७ दुगुवाङमा जंगली च्याउ खाँदा बलबहादुर प्रजासहित एकै परिवारका पाँच जना बिरामी परेका थिए । बिरामी पाँचै जनाको भरतपुर अस्पतालामा उपचार भइरहेकामा बलबहादुरको मृत्यु भएको प्रनाउ भण्डारीले बताइन् । राक्सिराङ–७ दुगुवाङका स्थानीय बलबहादुर प्रजाले जंगलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो । अस्थायी प्रहरी पोष्ट गिङुका अनुसार सोमबार जङ्गलबाट ल्याइएको च्याउ खाँदा राक्सिराङ–८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन् । २१ वर्षीय भुवल प्रजा, २१ वर्षीय रतिमाया प्रजा, तीन वर्षीय समिक प्रजा र पूर्ण प्रजा बिरामी भएका हुन् । उनीहरूको पनि भरतपुरमा उपचार भइरहेको छ । प्रनाउ भण्डारीका अनुसार मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र वडा नं ५ कालीवनका आठ जनाले जंगली गोब्रे च्याउ खाई बिरामी भएका थिए । बिरामी आठै जनालाई हेटौँडा अस्पतालमा उपचार पश्चात् घर पठाइएको उनले जानकारी दिइन् । ‘वर्षायाममा जंगलमा च्याउ बढी उम्रने भन्दै सोही च्याउ खाँदा एकसातामा तीन जनाको मृत्यु भएको छ, बिरामी आठ जना घर फर्किनुभएको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ’, प्रहरी नायब उपरीक्षक भण्डारीले भनिन् ।