विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने

काठमाडौं । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय-अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो । आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए । नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ । रासस

प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान दिइने, को हुन् उनीहरू ?

काठमाडौं ।  गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु प्रसाद आचार्यलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिने भएको छ । नेपाल जन–प्रशासन संघले सोमबार हेमबहादुर मल्ल सम्मान २०७७ /२०७८ घोषणा गरी सम्मानित हुने व्यक्तिकाे नाम सार्वजनिक गरिएकाे हाे । हेमबहादुर मल्ल सम्मान २०७७ बाट गोरक्षबहादुर न्हुच्छे प्रधान र २०७८ बाट भानु प्रसाद आचार्यलाई सम्मान गर्न लागिएकाे  सम्मान छनाैट समितिले बताएकाे छ । नेपाल जन–प्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशनको साैजन्यमा हरेक वर्ष हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएकाे छ । प्रधान र आचार्यले सार्वजनिक सेवामा उल्लेख्य याेगदान गरेकाले हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएकाे बताइएकाे छ । साल्ट ट्रेडिङ कर्पोरेशनका पूर्व अध्यक्ष एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लकाे स्मृतिमा याे सम्मान प्रदान गर्ने गरिएकाे छ । सार्वजनिक प्रशासन तथा व्यवस्थापक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान पत्र र दुई लाख० रुपैयाँसहितकाे सम्मान प्रदान गरिने समितिले बताएकाे छ । हेमबहादुर मल्ल सम्मानबाट यस अघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोईराला, डा. विमल कोईराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् । को हुन् प्रधान र आचार्य ? हेम बहादुर मल्ल सम्मान २०७७ पाउने गोरक्ष बहादुर न्हुच्छे प्रधानले झण्डै चार दशक सरकारी सेवामा याेगदान गरेका छन् । उनले प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ र पर्यटन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखकारुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका छन् । ४५ वर्षअघि गोरखामा जन्मेर काठमाडौंलाई कर्मभूमि बनाएका प्रधानले भारत र अन्य मुलुकहरूबाट उच्चशिक्षा प्राप्त गरी आफ्नो पेसागत वृत्तिको आरम्भ गरेका थिए । वि.स‌ं. २०१६ मा सरकारी सेवामा प्रवेश गरेका प्रधानले झण्डै चार दशक प्रशासन, व्यवस्थापन, प्रशिक्षण र प्रशासन सुधारका क्षेत्रमा समय बिताए । यसैगरी, हेमबहादुर मल्ल सम्मान २०७८ बाट सम्मानित हुन लागेका भानुप्रसाद आचार्य आचार्यले महालेखा नियन्त्रक, अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परीक्षककारुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको कदर स्वरुप सम्मान प्रदान  गर्न लागिएकाे समितिले बताएकाे छ । वि.स‌ं. २०३२ मा नेपाल निजामती सेवा प्रवेश गरी राजपत्रांकित लेखा अधिकृतका रूपमा आफ्नो सार्वजनिक पेसागत जीवनको थालनी गरेका आचार्यले तीन दशकभन्दा बढीको अनुभव र विज्ञता हासिल गरेका छन् । अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै अन्त्यमा राज्यको सर्वोच्च लेखापरीक्षण निकायको प्रमुखका रूपमा उनले काम गरेका थिए । निजामती सेवाभित्र बसेर पदीय जिम्मेवारीको स्थिरता एवं अध्ययन र अनुभवजन्य विशेषज्ञता तथा सार्वजनिक सेवाको एउटा अनुपम दृष्टान्तमा आचार्यकाे नाम आउने सम्मान छनाैट समितिले बताएकाे छ ।

डिशहोममा नयाँ २१ वटा फिल्मको मेला

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, भिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने जनाइएको छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । तीन महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको दुई वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नम्बर १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।