३२ वर्षपछि चलचित्रमा फर्किएका गौचनले ‘केटी हराएको सूचना’ निर्देशन गर्ने

काठमाडौं । वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्ने भएका छन्। झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए । ‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु,’ उनले भने । निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए । चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रीत रहेको उनको भनाइ छ । ‘चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यहि भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ,’ निर्देशक गौचनले भने । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए । उनले भने, ‘हामीलाई काम गर्ने प्रस्ताव आउँदा भूमिकाबारे भनिन्छ, त्यसलाई निर्देशक र लेखकको सहयोगमा तयार गरिन्छ । म आफैँ तराईको भएकाले आफ्नो पात्रलाई तयार गरेको थिएँ तर निर्देशक गौचनले मलाई ‘न्युट्रल’ बस्न सुझाव दिनुभयो । त्यसकारण यो रामको पात्र एकदमै सरल र जीवन्त देखिएको छ । यो मेरो लागि नयाँ अनुभव पनि हो ।’ अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्म कै उत्कृष्ट रहेको बताए । ‘मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो । यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो,’ उनले भने । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् ।

छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किन्छन् । त्यसलाई आवश्यकताअनुसार काट्छन् । अनि काममा लाग्छन् । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ । भट्टाई र गीता मात्रै होइन अचेल यहाँका मरिक समुदायका व्यक्तिको दिनचर्या यसैगरी बित्ने गरेको छ । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन पाँचदिन मात्र बाँकी छ । तर त्यसका लागि चाहिने सामग्री बनाउन यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ । छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर– २ का वीरेन्द्र मरिकले बताउँछन् । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको सुनाए । स्थानीय अनिता मरिकले यहाँ हरेक वर्ष छट नआउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताए । ‘यही बेला त हो आम्दानी गर्ने । अरु बेला यस्तो अवसर आउँदैन । थोरै भए पनि रकम जम्मा गर्ने र आफ्ना र परिवारका आवश्यकता पूर्ति गर्ने गरेका छौँ,’ उनले भने । भट्टाई मरिकले पनि गाउँ गाउँबाट बाँस किनेर ल्याएर छठमा प्रयोग हुने सामग्री बनाउन लागेको र यसबाट थोरै भए पनि आम्दानी हुने गरेको बताए । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन् । ‘अरु बेला कमाइ हुँदैन, त्यसैले हामीहरू आम्दानीका लागि एक महिना अघिदेखि जुटिरहेका छौँ । पर्व अवसरका रूपमा पनि आउने गर्छ हाम्रा लागि,’ स्थानीय विन्देश्वर मरिकले भने । स्थानीय चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छट पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाए । यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको शिक्षादिक्षाको खर्च धान्ने गरेको उनको भनाइ छ । दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि २ दिनसम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन् । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनियाँ र ढकी बनाउने गीता मरिकको योजना छ तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकामा उहाँ चिन्तित छन् । यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसका सामग्रीको व्यवसायीकरण वा वैकल्पिक सामान बनाउनका लागि आवश्यक तालिम र प्रविधि सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।

४० हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

काठमाडौं । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताए । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म २ हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने २ हजार ५ जनाले परिचयपत्र लगेका छन् । चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष २ हजार १७, महिला १ हजार ३३६, नाबालक ४९ गरी ३ हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला ७८५, पुरुष ७५१ गरी १ हजार ५३६ जनाले नागरिकता लिएका छन् । यस्तै १ हजार १२३ महिला र १ हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपी लिएका छन् । वैवाहिक अङ्गीकृततर्फ भने २ जनाले मात्र नागरिकता लिएका छन् । यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित २०७, दलित प्रमाणित १५१, विपन्न खसआर्य १५ र मुस्लिम ९ जनाले सेवा लिएका छन् । पेन्सन सिफारिसतर्फ २१३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण ५ र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस २ जनाले लिएका कार्यालयको तथ्याङ्क छ ।