अभिभावकहरुले एकपटक हेर्नैपर्ने चलचित्र ‘तारे जमीन पर’

काठमाडौं । जब अभिभावकहरुबीचमा आफ्ना बालबालिकाहरुको पढाइको बारेमा उत्प्रेरणामुखी चलचित्रको विषयमा कुराकानी हुन्छ तब अवश्य पनि हिन्दी चलचित्र ‘तारे जमीन पर’को अवश्य पनि नाम आउँछ । सन् २००७ मा प्रदर्शनमा आएको सो चलचित्र बलिवुडका नायक अमिर खानको उत्कृष्ट चलचित्र मध्येमा पर्छ । चलचित्र तारे जमीन पर करोडौं दर्शकहरुले हेरे तर सिमित व्यक्तिहरुले मात्रै सो चलचित्रको शन्देशलाई ग्रहण गरेको अनुमान गरिएको छ । सो चलचित्रमा संघर्ष, सफलता, जीवन र शिक्षकको जीवनको विषयमा निकै सन्देशमूलक विषय रहेका छन् । आफ्ना बालबालिका विद्यालयमा पढाउन शुरु गरेका वा पढाइरहेका अभिभावकहरुका लागि यो चलचित्र निकै उपयोगी एवं सन्देशमूलक रहेको छ । एक सही शिक्षकले विद्यार्थीको जीवन नै बदल्न सक्छ तारे जमीन पर चलचित्रले पहिलो सन्देश शिक्षकको महत्वको बारेमा दिएको छ । हामी धेरैले विद्यालय तथा कलेज जीवनमा शिक्षकको महत्वको विषयमा अवश्य पनि निवन्ध लेखेका छौं । सायद त्यो निवन्ध केवल परीक्षाको लागि मात्रै बनेको छ । विद्यार्थीसँग भएका हिनतावोधका भावनाको जिम्मेवार वास्तवमा शिक्षक नै हुन् । कतिपय विद्यार्थी शिक्षकको डरका कारणले विद्यालय जान नचाहने र शिक्षकबाट नै मुक्त हुन चाहेका हुन्छन् । सही शिक्षकको अर्थ निश्चित रुपमा फरक हुन्छ, शिक्षकहरुले यो मान्न अनिवार्य हुन्छ की उनीहरु विद्यार्थीको दोस्रो आमाबुवा हुन् । एक विद्यार्थीको समस्यालाई बुझेर समाधान गर्नुको सट्टा उसमा हिन भावना भर्ने व्यक्ति अवश्य पनि शिक्षक हुन सक्दैनन् । एक वास्तविक शिक्षक त्यो हो जसले विद्यार्थीको अद्वीतीय क्षमतालाई कमजोर नठानेर सम्मान गर्न सक्छ । चलचित्र तारे जमीन परले एक शिक्षकले विद्यार्थीलाई अँध्यारोबाट उज्यालोमा लैजान सक्षम हुन्छ, तर शिक्षकमा त्यो विषयमा सोच्ने इच्छा र क्षमता हुनुपर्छ भन्ने सन्देश दिएको छ । साथै चलचित्रले एक सही शिक्षकले आफ्ना सम्पूर्ण विद्यार्थीका फरक क्षमताहरुलाई सम्मानपूर्वक हेर्ने गर्छ भनेर सन्देश दिएको छ । हरेक बालबालिका खास हुन्छन् यो उपशिर्षक आफैँमा असाधारण रहेको छ ‘हरेक बालबालिका खास हुन्छन्’ । तर, यसको वास्तविकता हर कोही व्यक्तिले बुझ्न र ग्रहण गर्न सक्दैन । कोही बालबालिकाले विद्यालयको सिमित कक्षामा कति अंक प्राप्त गरेको छ भनेर उसलाई मूल्यांकन गर्नु अवश्य पनि न्यायसंगत हुँदैन । जस्तो ३० जना विद्यार्थी भएको एउटा कक्षाकोठाको एकजना विद्यार्थी भौतिक विज्ञानको शिक्षक हुनसक्छ, अर्को विद्यार्थी विश्वस्तरीय कलाकार हुनसक्छ भने अर्को विद्यार्थी उत्कृष्ट लेखक बन्न सक्छ । एकपटक विद्यार्थीमा भएको अन्तरनिहित रुचीको क्षेत्रमा अगाडि बढ्न अभिभावक, शिक्षक र समाजले साथ दिने हो भने सोचौं की विद्यार्थीले कति प्रगति गर्न सक्छ होला ? यस्तो वास्तविकता हाम्रो शैक्षिक क्षेत्रमा कार्यान्वयन हुन सकिरहेको छैन । तारे जमीन पर चलचित्रको मुख्य पात्र इशानलाई परम्परागत रुपमा पढ्न लेख्नमा कत्तिपनि रुची हुँदैन, तर उनी वास्तवमा निकै सिर्जनशील विद्यार्थी हुन् । रुचीलाई पेशा बनाउँदा नै सफल हुन सकिन्छ चलचित्र तारे जमीन परले हामीलाई आफ्नो रुचीलाई पछ्र्याउन सिकाएको छ । यदि हामीले हाम्रो रुची अनुसारको क्षेत्रलाई पेशा बनाउन खोज्यौं भने हामी निकै उत्कृष्ट हुन सक्छौं भन्ने विचार यो चलचित्रले दिएको छ । चलचित्रमा अभिनेता आमिर खानले पनि आफ्नो पढाउने रुची अनुसार शिक्षक पेशालाई रोजेर आफूलाई उत्कृष्ट शिक्षकको रुपमा प्रस्तुत गरेका छन् । रुचीलाई पेशा बनाउन खोज्दा कठिनाई पनि आइपर्छन्, कैयौंपटक आफैप्रति अविश्वास समेत पैदा हुन्छ । तर, यदि तपाईंले आइपर्ने समस्याहरुलाई हल गर्न सक्नुभयो भने तपाईंले ती सबै गर्न सक्नुहुन्छ, जो तपाईंले आफ्नो जीवनमा गर्न चाहनुभएको थियो । अभिभावकहरुले ‘ख्याल’को परिभाषा बुझ्न जरुरी चलचित्र तारे जमिन परले दिएको एउटा महत्पूर्ण सन्देश भनेको अभिभावकले बालबालिकालाई प्रदान गर्ने अभिभावकत्वको विषयमा हो । अभिभावकहरुले आफ्ना बालबालिकालाई दुई छाक खान दिएर कैयँन गाली दिइरहेका हुन्छन् । फेरि उनीहरुले भनिरहेका हुन्छन् की उनीहरु आफ्ना बालबालिकाहरुको ख्याल गरिरहेका छन् । दुई छाक खाना बालबालिकालाई दिनुभन्दा धेरै ठूलो विषय वास्तविक अभिभावकत्वको बारेमा बुझ्नु हो । जुन सन्देश चलचित्रले दर्शकलाई प्रदान गर्ने कोसिस गरेको छ । चलचित्रका मुख्य पात्र इशानका बुवाले उनको विषयमा वास्तविक ख्याल गर्दैनन् । बच्चाहरुबीचमा तुलना गर्नु निकै खराब काम हो कतिपयले आफ्ना बालबालिकालाई सचेत गराउन वा उत्प्रेरणा प्रदान गर्ने नाममा अरुसँग तुलना गरेर भन्ने गर्छन्, वास्तवमा यस्तो तुलनाले कुनै सकारात्मक काम गर्दैन । बरु बालबालिकामा हिनताबोध सिर्जना गर्ने काम गर्छ । साथै उनीहरुमा रिस र ईष्र्या पैदा गर्ने काम गर्छ । चलचित्रमा इशानका बुवाले उनलाई सँधै उनको दाजुसँग तुलना गरेको देखाएको छ । बुवालाई त्यो भनाइले इशानमा प्रोत्साहन हुनसक्ने सोचे तापनि उनीमा पहिलेदेखि नै अलग प्रकारको क्षमता भएकाले उनलाई बुवाको भनाइले हिनताबोध गराउने मात्रै काम गर्छ । बुवाको निरन्तर भनाइले इशानलाई उ दाजु भन्दा कम क्षमता भएको र केही गर्न नसक्ने भावना भर्न मात्रै सघाउने काम गर्छ । आवश्यक भन्दा बढी अपेक्षा राख्नु हानिकारक हाम्रो जीवनको धेरै समस्या भनेको आवश्यकता भन्दा बढी अपेक्षा राख्नु हो । अपेक्षा अनुसार नतिजा प्राप्त नभएपछि मन भावना एकदिन टुट्न पुग्छ । चलचित्रमा मुख्य पात्र इशानका बुवाले आफ्नो अपेक्षा पुरा गर्नको लागि उनीमाथि क्रुर व्यवहार समेत प्रदर्शन गर्छन् । कतिपय सम्बन्धहरु आवश्यक भन्दा अधिक अपेक्षा राखेका कारणले नै बिग्रेका हुन्छन् । चलचित्र तारे जमीन परले दोस्रो व्यक्तिबाट अधिक अपेक्षा कम गर्न प्रेरित गरेको छ ।

ज्ञानेन्द्र मल्ल : गल्ली क्रिकेटदेखि विश्वस्तरीय खेलसम्मको सहयात्री

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै मल्लले क्रिकेट करियरबाटै संन्यास लिएको घोषणा गरेका हुन् । मल्ल नेपाली राष्ट्रिय क्रिकेटका टोलीका भरपर्दा ब्याट्सम्यान थिए । एशिया कपको तयारीका लागि श्रीलंकामा हाइ पर्फमेन्स प्रशिक्षण गरेर नेपाली टोली फर्किएको भोलिपल्ट नै ज्ञानेन्द्रले क्रिकेट करियरबाट सन्यास घोषणा गरेका हुन् । क्रिकेट करियरबाटै सन्यासको घोषणा गर्दा उनी केहीबेर भावुक भएका थिए । कप्तान र उपकप्तानको भूमिकाबाट देशको झण्डा बोक्नु जीवनकै खुशीको क्षणको रूपमा लिएको मल्लले बताए । डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए । घरेलु क्लव यङ्गालबाट क्रिकेट खेल्न शुरु गरेका मल्ले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । सन् २००६ को यु–१९ विश्वकप खेलेका उनले सिनियर टोलीबाट ट्वान्टी–२० विश्वकपसम्म यात्रा तय गरे । सन् २००८ को यु–१९ विश्वकपमा नेपाली युवा टोलीको उपकप्तान रहेका मल्ल सिनियर टोलीबाट पनि लामो समय सोही जिम्मेवारीमा रहे । तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएसँगै मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हालेका थिए । खेलाडीहरूको पारिश्रमिक विषयलाई लिएर नेपाल क्रिकेट संघ(क्यान)सँग विवाद भएपछि क्यानले मल्ललाई कारबाही गर्दै सो जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि मल्ल सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीबाट खेल्दै आएका थिए ।

‘मन नेपालमा, रोजीरोटी प्रवासमा’

भारत । ‘हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।’ पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन (ट्रान्सपोर्ट) सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसंग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ। सानो छँदा तनहुँको मिर्लुङस्थित चन्द्रावती खोलामा साथीसङ्गीसँग खेलेको र नुहाएकोदेखि अनेक स्मरणहरु उनका मानसपलटमा ताजा भएर आउने गर्छ । उनी प्रवासमा रहँदा वा जुनसुकै मुलुकमा पुग्दा नेपालको परिचय नलुकाई व्यक्त गर्ने गर्दछन् । अहिले उक्त खोलामा पक्की पुल बनेर सतिश्वरा र मिर्लुङ जोडिएका जस्ता प्रगतिका कुराले प्रवासमा रहँदा पनि क्षेत्रीको छाती गर्वले फुल्ने गर्छ । यहाँका राइपाली भञ्याङ, बयापानी भञ्याङ, मिर्लुङकोट, छहरे, ठुलढुङ्गा आदि स्थलहरूलाई थप पर्यटकीय बनाउन के गर्न सकिन्छ भन्ने चासो उनलाई बरोबर भइरहन्छ । ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि’ नाट्यसम्राट बालकृष्ण समले भनेझैँ विकसित मुलुक भारतमा रहे पनि प्रवासी नेपालीलाई नेपालप्रतिको माया र सम्मानमा कुनै कमी आएको देखिँदैन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घासमेत रहेको भानु नगरपालिका–१३ मा जन्मिएका क्षेत्री चार दशकदेखि प्रवासमा रहे पनि हरेक कूलदेवता पूजा र बडादसैँमा सकेसम्म परिवारसहित लामो यात्रा तय गरेर गृहजिल्ला तनहुँमा आउने गर्छन् । ‘के लजिष्टिक्स्’ र ‘क्षेत्री इन्टरप्राइजेज’ का सञ्चालक क्षेत्रीले गत साता बेहलास्थित कम्पनीको कार्यालयको भेटमा आफ्ना नेपालप्रेमी भावना यसरी पोखे, ‘नेपालीबीच जहाँ रहे पनि आपसमा प्रेम र सामूहिक भाव छ । प्रवासमा हुने सामाजिक क्रियाकलापले यहाँका नेपालीबीच अझ बढी भाइचारा हुने गरेको छ। नेपालबाट कोही पाहुना आउँदा हामीलाई भगवान् आएजस्तो लाग्छ । यता बसेर पनि देशको विकासको चासो गरिहरहन्छौँ । राजनीतिक अस्थिरता र भ्रष्टाचारका कुराले मनै अमिलो बनाउने गर्छ । नेताहरुले यो दर्द बुझेर देश विकासको काम गरिदिए हुन्थ्यो ।’ नेपाली कांग्रेसको राजनीतिमा पनि संलग्न क्षेत्री यहाँस्थित विभिन्न सामाजिक गतिविधिमा अगुवाइ गर्न पछि पर्दैनन्। हरेक बडादसैँका अवसरमा नवरात्र सुरु भएदेखि नै गोरखनाथ सेवा समितिको आयोजनामा पूजाआजा गरिने कार्यक्रम हुँदै आएको छ। सांस्कृतिक परम्पराको निरन्तरताका साथै उनीहरुको देशभक्ति हरेक क्षणमा प्रकट भइरहेको हुन्छ । गत वर्ष सेवा समिति स्थापनाको ५० औँ वर्ष भएकाले एसएन बेनर्जी रोड, न्यू मार्केट नजिक पशुपतिनाथको अस्थायी मन्दिर बनाएर नेपालीशैलीमा दुर्गा भगवतीको मूर्ति स्थापना गरेर समाजका सबै समुदायलाई पूजा गर्ने र हेर्ने प्रबन्ध गरिनु त्यसैको एक ज्वलन्त उदाहरण हो । यहाँ नेपाली जनकल्याण समिति, कोलकोताले मनाउने भानु जयन्तीका कार्यक्रम, साहित्यिक पत्रिका प्रकाशनदेखि नेपालीभाषी र प्रवासी नेपालाई आपत्विपत् पर्दा क्षेत्रीसहितको व्यावसायिक समूहले आर्थिकलगायत सहयोग गर्दै आएको छ । गोर्खा भूकम्पका समयमा प्रवासी नेपालीको समन्वयमा नेपालमा ५२ लाख रुपैयाँ बराबरको सहयोग पठाइएको थियो भने मेलम्ची बाढीपीडितका लागि छ लाख प्रदान गरिएको थियो। अहिले पनि उपचार नपाएर प्रवासमा भौँतारिएका र बेरोजगार भएर गुजारा चलाउन मुस्किल पर्ने नेपालीका लागि प्रवासी नेपाली संस्था र व्यावसायिक व्यक्तिहरूको समूहले सामाजिक सञ्जालकै सूचनाका भरमा आवश्यक प्रबन्ध र सहयोग जुटाउँदै आएको छ। कोलकोतामा नेपालीभाषीहरू चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इन्जिनियरिङ पेसामा समेत संलग्न छन् । व्यवसायी क्षेत्रीकै संयोजकत्वमा ‘संयुक्त नेपाली वेलफेयर ट्रष्ट’ले न्यू विवेकानन्द पार्क रोडको महेशतलास्थित बेहालामा करिब भारु ३० लाखको लागतमा पशुपतिनाथको स्थायी मन्दिर बनाउन जग्गा किनेर निर्माणकार्य सुरु गरिएको छ भने यहाँ भारत–नेपाल सांस्कृतिक भवन बनाउन पहल गर्ने लक्ष्य लिएको छ। भारत–नेपाल सांस्कृतिक भवन बनाउन अत्यन्त आवश्यक भएको यो भवन बनेमा दुवै देशलाई लाभ हुने भएकाले यसको निर्माणमा दुवै देशका सरकारले सहयोग गर्नुपर्ने नेपालीभाषीहरूको आग्रह रहेको छ । भारत सरकारले नेशनल रजिष्ट्रर सिटिजन्स (एनआरसी) लागू गरेपछि विगतमा जस्तो प्रवासी नेपालीले सहजरूपमा पेसा– व्यवसाय गर्न नपाउने हो कि भन्ने चिन्ता पैदा भएको छ। दोहोरो नागरिकता लिएर दुवै मुलुकमा पेसा–व्यवसाय गर्ने सवालमा यदाकदा कानुनी समस्या र झन्झट आइलाग्ने गरेका छन् । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष खिमराज बराल सन् १८१६ मा नेपाल र तत्कालीन ‘इष्ट इन्डिया कम्पनी’बीच भएको सुगौली सन्धिका प्रावधानबमोजिम नेपालीले सहजताका साथ भारतमा पेसा व्यवसाय गर्न पाउने बताउँदै यसबारे सार्वजनिकरूपमा दुवै देशका सरकारी र जनस्तरका तहमा र अहिलेका पुस्तालाई पनि जानकारी नभएमा कसैले अनावश्यक दुःख खेप्नु नपर्ने धारणा राख्छन् । उनले उक्त सन्धिको मर्मअनुसार प्रवासी नेपालीले सहजताका साथ यहाँ पेसा व्यवसाय गर्न पाउनुपर्ने सवालमा आफूहरुले सहजीकरण गर्दै आएको र कोलकातामा एक ‘भारत–नेपाल सांस्कृतिक भवन’ निर्माणको लक्ष्यलाई सार्थक बनाउन लागिपरेको सुनाए । प्रवासी नेपालीले कोलकोताको कुनै सडकलाई आदिकवि भानुभक्त आचार्यको नामाकरण गराउन यहाँको प्रदेश सरकारलाई सहमत पनि गराइसकेका छन् । यहाँ नेपालीभाषी र बङ्गाली भाषी समुदायबीच आत्मियता र प्रेमभावका साथ जनस्तरमा सम्बन्ध पनि जोडिएको छ । उनीहरु आपसमा एकाकार भएर सामाजिक गतिविधिमा जोडिने गर्ने गरेका छन् । प्रवासी नेपाली संघ, भारतका केन्द्रीय अध्यक्ष एवं भारत–नेपाल जनमैत्री मञ्च, कोलकाताका संस्थापक अध्यक्ष साहित्यकार नारायणप्रसाद होमगाईँ नेपालबाट यहाँ आएर काम गर्ने र बसोबास गर्नेहरु अधिकांश प्रवासी नेपाली रहेको र उनीहरुको मूलथलो नेपाल नै भएको स्पष्ट पारे। एक निजी कम्पनीको वरिष्ठ लेखा अधिकृतबाट अवकाशप्राप्त उाले दार्जिलिङ र सिक्किमतिर बढी मात्रामा नेपालीभाषी भारतीय भए पनि कोलकातामा प्रवासी नेपाली धेरै रहेको जनाउँदै प्रवासी सङ्गठनहरुबीच कुनै प्रकारको राजनीतिक खिचातानी नभई आपसी सद्भाव र एकता होस् भन्नेमा सचेत रहेको जनाए। उनले आफूहरुले विगतमा जस्तो दुई देशबीचका राजनीतिक मुद्धामा माग उठाउने र विवाद गर्नेजस्ता काम पनि अब नगर्ने स्पष्ट पार्दै भाषा र संस्कृतिलाई राजनीतिक सीमाले नबाँध्ने बताए। अध्यक्ष होमगाईँले नेपाल जाँदा भारु २५ हजार मात्र लान पाइने, भारतको एटिएम कार्ड नेपालका बैंकमा नचल्नेजस्ता व्यवहारिक समस्या औँल्याउँदै हालै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच नयाँदिल्लीमा सझदारीपत्रमा हस्ताक्षर भएबमोजिम सीमापार विद्युतीय कारोबार (क्रस बोर्डर डिजिटल ट्रान्जेक्सन)को छिटो कार्यान्वयनमा जोड दिए। बडाबजारस्थित ‘मेटल फिनिसिङ’ व्यवसाय गर्दै आएका प्रवासी नेपाली चन्द्रबहादुर श्रेष्ठ आफूले हालसम्म ६०–७० जना नेपालीलाई यता ल्याएर रोजगारी र व्यवसायमा लगाएको, सीपमूलक तालिम दिलाएको र आनन्दमय जीवनयापनका उपायबारे उत्प्रेरणा पनि दिने गरेको बताउँछन् । ‘नेपालमा काम नपाएर वा अभिभावकलाई दुःख दिएर बसेका कोही युवाहरू छन् यहाँ आउन चाहेमा हामी सीप विकाससहित आदत सुधार गराइदिन सक्छौँ । हामीले हाम्रो पालामा निकै ससंघर्ष गरेका छौँ। अबको बाँकी जीवन नेपाल र नेपाली तथा मानव कल्याणका लागि दिन तयार छौैँ’, पुख्र्यौली घर रामेछाप भएका श्रेष्ठले भने। नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार एवं साहित्यकार धर्मराज बराल प्रवासी नेपाली र नेपालीभाषी भारतीय दुवै देशका सांस्कृतिक सहचरी भएकाले उनीहरूको भावनाको सम्मान गर्दै सामाजिक कार्यमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन् । नेपालमा पर्यटक र लगानी भित्र्याउन सम्बन्धित सरकारी संयन्त्रले उपयुक्त योजना बनाई प्रवासी नेपालीको पनि साथ लिई कार्यान्वयन गर्न सकेमा नेपालको आर्थिक समृद्धिमा बल पुग्ने उनको भनाइ छ । कोलकोतास्थित नेपाली महावाणिज्य दूतावास र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको शाखाले दुई देशबीचको व्यापार, पारवहन र द्विपक्षीय सम्बन्धका क्षेत्रमा कार्य गर्दै आएको छ । उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिनाले नेपालमा उत्पादन र भारतमा खपत हुनसक्ने चियालगायतका वस्तुको व्यापार प्रवर्द्धनका लागि दुई देशबीच भएका समझदारी र विद्यमान करका दायरालाई सहजीकरण गरिएको जानकारी दिए । प्रवासी नेपाली र नेपालीभाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन् । उनीहरुले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् । यहाँस्थित प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरूको सहभागिता हुने गरेको छ। गंगा आरती, बुद्ध जयन्ती, नयाँ वर्ष, हरितालिका (तीज), होली, महाशिवरात्रि, दीपावलीजस्ता पर्वमा यहाँ नेपाली र बङ्गाली समुदायबीच संयुक्त उत्सव पनि हुने गरेको छ । त्यसो त कोलकातामा नृत्य निर्देशनका क्षेत्रमा चम्किरहेका दिलीप थापाले समय–समयमा नेपालका कलाकार र नृत्य निर्देशकबीच भाइचारा बढाउँदै आएका छन् । नेपाली जनकल्याण समितिले हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मयन्ती कार्यक्रम गर्दै आएको छ भने ‘श्रीश्री जानकी माता नेपाली धार्मिक संघ’ले मानवीय कार्य गर्दै आएको छ । समितिले यही साउन ६ गते हावडा मैदानस्थित शरत सदनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा दुई सय १०औँ भानुजयन्ती मनाएको थियो । कार्यक्रममा भारतको पश्चिम बङ्गालका सहकारीमन्त्री अरुप रायको पनि उपस्थिति थियो । समितिले ‘बिहानी’ नामक वार्षिक पत्रिका प्रकाशन गर्दै आएको छ भने भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरी दुई देशको सांस्कृतिक र साहित्यिक सम्बन्धलाई जोड्दै आएको छ । रासस