आज तिहारको चौँथो दिन गाईको पूजा
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
काठमाडौं । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२÷१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।
शिक्षाविद् शर्माको निधन, छोरा क्यानडा भएकोले शनिबार मात्रै अन्त्यष्टि गरिने
काठमाडौं । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा. देवराज अर्यालले जानकारी दिए । उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठा छोरा क्यानडामा भएकोले र उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो । हाल उनको शव अस्पतालमै राखिएको छ । प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरेका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए । उनको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए । उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए । यसैगरी प्रा. शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए । उनी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत थिए । उनले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरे भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार भएका थिए । शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत भएका थिए । रासस