सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखा उद्घाटन

काठमाडौं । सैनामैना नगरपालिकाको नगर प्रमुख फणेन्द्र प्रसाद शर्माद्वारा मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन गरेका छन् । सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो । नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ । ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् । यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ । डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, यस्तो छ तालिका ?

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । यस्तो छ लिग चरणको खेल तालिका ? मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ । यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौं  गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ । मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ । त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौं गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौं गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ । जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।

नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित

काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवाली यही असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले ज्ञवालीलाई आगामी तीन वर्षको लागि निर्वाचित गरेको हो । त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्ष मा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रूपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन् त्यस्तै, कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोषाध्यक्षमा मञ्जु गौतम विजयी भएकी छन् । त्यस्तै, सदस्यहरूमा सृष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन् । त्यस्तै, सदस्यहरूमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोष खतिवडा, पूर्णबहादुर कार्की, महिला सदस्य कुसुम राना (निर्विरोध), आदिवासी जनजातिमा गोपालकृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपांगमा रोहित ओली निर्वाचित भएका छन्। तीन चलेको अधिवेशनले लामो समयदेखि अड्किएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै मङ्सिर १ गतेको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो । युनियनमा करिब पाँच सय कर्मचारी आबद्ध छन् ।