कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

काठमाडौं । कैलाली कारागार कब्जा भएपछि त्यहाँ रहेका सबै कैदीबन्दी बाहिरिएका छन् । ‘जेनजी’ आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले मंगलबार कारागार परिसरमै कब्जा जमाएपछि कैदीबन्दीहरू निस्किएका हुन् । प्रदर्शन उग्र बन्दै गएपछि देशभर विभिन्न सरकारी निकाय र संरचनाहरू प्रदर्शनकारीको निशानामा परिरहेका छन् ।

प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो । प्रदर्शनका क्रममा भएको मानव अधिकारको उल्लङ्घनको अनुसन्धानका लागि आयोगले आज आयोगका सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको जनाएको छ ।  

जेनजीद्वारा देउवा चोकलाई ‘जेनजी चोक’ नामाकरण

काठमाडौं । आन्दोलनका प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा चोकलाई सांकेतिक रूपमा ‘जेनजी चोक’ नामाकरण गरेका छन् । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सडक छेउको भित्तामा लेखेर देउवा चोकलाई नयाँ नाम दिएका हुन् । यसअघि प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका थिए। आक्रमणमा परेर देउवा दम्पती घाइते भएको बताइएको छ । ‘जेनजी’ आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीहरूले विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास र सरकारी निकायहरूमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।