सार्वजनिक स्थलमा फैलिएको फोहर उठाउँदै ‘जेनजी’

काठमाडौं । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् । उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारको चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् । माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका जेनजी दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ । यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् । सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् । साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् । सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए । जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् । रासस

उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

काठमाडौं । पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् ।  मङ्गलबार राति १० बजेदेखि आज बिहान १० बजसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिबाट रु ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ ।  काठमाडौंका विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमाथि प्रदर्शनकारीले लगाएको आगो तीनवटा बारुणयन्त्रको प्रयोग गरी नियन्त्रण गर्ने कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै छन् । वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।