चाडपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको संख्या बढ्दै

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा छ लाख ९१ हजार रुपैयाँ र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ रुपैयाँ भेटी संकलन भएको हो । समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको छ । दशैँ र तिहारपर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गर्छ । पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । समुद्री सतहदेखि करिब तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित छ । यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने भएकाले नेपालका विभिन्न स्थानबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गर्छन् । पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ । यस मन्दिरमा आउने भक्तजनले देवीलाई बलि दिनेसमेत प्रचलन छ । दशैँ र तिहार पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप बढ्न थालेको छ । दशैँमा विशेषगरी दुर्गा पूजा गर्ने र देवीको आशीर्वाद प्राप्त गर्ने विश्वास राखिन्छ । पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्य पनि यसको अर्को विशेषता हो । मन्दिर क्षेत्रबाट देखिने हिमशृङ्खला, वरपरका जंगल र हरियालीले धार्मिक यात्राका साथसाथै पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ । समितिका अनुसार यस वर्षको दशैँ र तिहारको समयमा अझ बढी भक्तजन आउने अपेक्षा गरिएको छ, यसका लागि आवश्यक तयारीसमेत भइरहेका छन् । तीर्थयात्रीहरूको सुविधाका लागि मन्दिर क्षेत्रमा खानेपानी, आवास र अन्य सेवा–सुविधाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । रासस

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

काठमाडौं । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छभने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताए । व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् । सयौँ व्रतालुहरुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ । व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो) भनिन्छ । त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झा बताउँछन् । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भने, ‘यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व उजागर गर्छ ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन । राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।

बच्चाहरूले छिट्टै सिक्छन् यी ५ खराब बानी, अभिभावकले कसरी राख्ने ख्याल ?

काठमाडौं । भनिन्छ- बच्चाहरू काँचो माटोजस्ता हुन्छन् । उनीहरूलाई जे सिकायो त्यहीं सिक्छन् । जुन परिस्थितिमा ढाल्यो, त्यसैअनुसार ढल्छन् भन्ने हामीले सुन्दै आएको कुरा हो । यो भनाइ सही पनि हो । बच्चाहरू आफ्नो वरपर जस्तो देख्यो, उस्तै गर्न खोज्छन् । उनीहरूलाई के राम्रो, नराम्रो थाहा हुँदैन । यस्तो अवस्थामा धेरै पटक बालबालिकाले देख्ने र सुन्ने कुरा उनीहरूको बानी बन्न पुग्छ । यस्तो अवस्थामा आमाबुवाले बच्चाको ख्याल गर्नुपर्छ । आफ्नो बच्चाको हरेक स-साना कुरामा अभिभावकले ध्यान दिने हो भने बच्चाले केही गलत गर्नबाट उसलाई जाेगाउन सकिन्छ । आउनूहोस् जानौं बच्चाले सजिलै सिक्ने यी ५ खराब बानी : आफ्नो गल्ती नस्वीकार्नु कुनै पनि बच्चाले के सही ? के गलत ? थाहै नपाइ काम बिगार्छन् । जानी-नजानी गल्ती स्वीकार गर्दैनन्। लाज वा सजायको डरले उनीहरू यस्तो गर्छन् । यदि तपाईंको बच्चाले आफूले गरेको गल्तीको जिम्मेवारी लिँदैन भने उसले झूट बोल्न सक्छ । जसले भोलिका दिनमा धेरै ठूला समस्याहरू निम्त्याउन सक्छ । महत्त्वपूर्ण कुरा याे हाे कि बच्चाले बिना डर आफ्नो गल्ती स्वीकार गर्न सक्ने  शान्त वातावरण बनाउनु पर्छ । अभिभावकले भनेको नमान्नु भनेको नमान्नु पनि एक बानी हो । जुन बच्चाहरूले छिट्टै सिक्छन्। विशेषगरी जब ऊ भित्रबाट उत्प्रेरित वा खुशी महसुस गर्दैन । चाहे त्यो गृहकार्य होस् वा घरको काम । यसैगरी, जिम्मेवारीबाट जोगिने बानी, जसबाट छुटकारा पाउन धेरै गाह्रो छ । अरूको विचारलाई महत्त्व नदिनु प्रायः तपाईंले आफूलाई मन पर्ने मान्छे देख्नु भएको होला । उनीहरू आफूबाहेक सबैमा कमीकमजोरी पाउँछन् र उनीहरूको आफ्नै दृष्टिकोण मात्र महत्त्वपूर्ण देखिन्छ । यो खराब बानी हो । कतिपय बच्चाहरू पनि यस्ता कुरा धेरै चाँडै सिक्छन् । तपाईं आफ्नो बच्चालाई बाल्यकालदेखि नै राम्राेसँग सुन्न सक्ने बनाउनूहोस् । बच्चालाई अरूको निर्णय र दृष्टिकोण पनि सुन्ने बनाउनुपर्छ । धेरै गफ गर्ने कतिपय बच्चाहरू धेरै गफ दिने हुन्छन् । उनीहरूलाई आफ्नै परिवारको बारेमा गफ गर्ने बानी बढी हुन्छ । तपाईंको घरमा यस्तो बच्चा छ भने तपाईंले कुरा गर्दा ध्यान दिनुपर्छ । बच्चासँगै भएकोबेला कोसँग कुरा गर्ने ? के कुरा गर्ने ? भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान नदिनु बच्चाहरू आफै सरसफाइ गर्न सक्दैनन् । उनीहरूलाई के फोहोर, के सफा पनि थाहा हुँदैन । अझ बढी फोहोरमै खेल्न उनीहरूलाई रमाइलो लाग्छ । अभिभावकले उनीहरूलाई यो फोहोर हो, यसमा खेल्न हुँदैन भनेर नसम्झाउने हो भने पछि उनीहरूलाई समस्या हुन्छ ।