के प्रधानमन्त्री ओलीले आजै राजीनामा दिँदैछन् ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ । देशभर जेनजीको आन्दोलन चर्किएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेको चर्चा बढेको हो । प्रधानमन्त्री ओलीको निवास बालकोटमा पनि आगलागी भएको छ । उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
काठमाडौं । झापाको बिर्तामोडमा भएको ‘जेनजी’ युवाहरूको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर रूपमा घाइते भएका छन् । दुवैजनाको पेटमा गोली लागेको र उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन देशभर चर्किँदै गएको छ । प्रदर्शन नियन्त्रणमा लिन काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीले बल प्रयोग गर्दै आएको छ ।
खानेपानीमन्त्री यादवले गरे राजीनामा दिने घोषणा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सोमबार ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जना युवाको मृत्यु भएको घटनापछि मन्त्री यादवले सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । ‘प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईंहरू नै मेरो पहिलो प्रेरणा र ऊर्जा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो भएको आन्दोलनप्रति समर्थन र सरकारले गरेको दमनप्रति विरोध जनाउँदै म खानेपानी मन्त्री पदबाट राजीनामा दिन्छु ।’