सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै

काठमाडौं । सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने भनेर माथिल्लो निकायको स्पष्ट निर्देशन आइनसकेको अवस्थामा अन्यौलता देखिएको हो । प्रष्ट कार्ययोजना र तत्कालीन प्राथमिकता तय नहुँदा केही कर्मचारीहरू हाजिर गरेर घर फर्किएका छन् भने केही मन्त्रालय परिसरबाहिर समूह बनाएर गफ गरिरहेका भेटिन्छन् । कम क्षति भएका मन्त्रालय तथा निकायका कर्मचारी तत्काल सेवामा खटिनसक्ने अवस्था भए पनि नेतृत्व र निर्देशन अभावमा काम रोकिएको हो । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयका कर्मचारीहरूले आज अस्थायी रूपमा रजिस्टर वा हाजिरी कापीमार्फत उपस्थिति जनाएका छन् । आज मध्याह्न करिब १२ः०० बजेतिर ऊर्जा सचिव सरिता दवाडीको कार्यकक्षमा अब कसरी अघि बढ्ने भनेर माथिल्लो तहका कर्मचारीको अनौपचारिक बैठक बसिरहेको थियो । आगजनी र तोडफोडबाट क्षतिग्रस्त अन्य केही कोठामा पनि कर्मचारीको उपस्थिति देखिन्थ्यो तर कागजात र महत्त्वपूर्ण सामग्रीको सुरक्षामा भने मन्त्रालयको चासो देखिएन । ऊर्जा मन्त्रालयमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन् । मन्त्रालयका सूचना अधिकारी राजु महर्जनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन, मुचुल्का तयार पार्ने र अभिलेख राख्ने प्रारम्भिक तयारी भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति देखिए पनि अहिलेको अवस्थामा के काम गर्ने र कसरी अघि बढ्ने भन्नेबारे कर्मचारीलाई स्पष्ट निर्देशन छैन । 'हाल क्षतिको विवरण सङ्कलन र त्यसको अभिलेख बनाउने काम भइरहेको छ । त्यसबाहेक अन्य काम मन्त्री वा सरकारको प्रष्ट निर्देशनपछि मात्र अघि बढ्छ', मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले भने । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर सार्वजनिक यातायात सञ्चालनबारे छलफल भए पनि अन्य नियमित सेवा प्रवाहमा गतिशीलता देखिएन । अब कसरी अघि बढ्नेबारे अर्थ मन्त्रालयको भने तुलनात्मक रूपमा सक्रियता देखिएको छ । बजेट महाशाखाभित्रको एउटा शाखा प्रभावित भए पनि मन्त्रालयको काम सञ्चालनमा आइसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार अहिले अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठक बस्ने तयारी भइरहेको छ । 'अब पुनर्निर्माण र आगामी निर्वाचनका लागि आवश्यक खर्च व्यवस्थापनमा बढी जोड गर्नुपर्छ भनेर आन्तरिक छलफल तथा तयारी सुरु भइसकेका छन् । यसका लागि अहिलेको बजेटमा के व्यवस्था गर्न सकिन्छ, सोको छलफल र विश्लेषण भइरहेको छ । राजस्व स्रोत व्यवस्थापन गर्ने र खर्च कटौतीबारे छलफल भइरहेको छ', पाण्डेयले भने । जेनजी प्रदर्शनका क्रममा देशभर भएको क्षतिको विवरण यकीन गर्ने र त्यसको लागत तयार पार्ने विषयमा राष्ट्रिय योजना आयोगले पनि आन्तरिक तयारी थालेको छ । आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आयोगले ‘पोस्ट डिजास्टर निड एसिसमेन्ट’ का लागि आन्तरिक छलफल थालेको हो । जलेर नष्ट भएका भग्नावशेषको अगाडि उभिएर हेरिरहेका भेटिए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी । भवन जलेपछि कामको अन्यौलतामा रहेका कर्मचारीहरू अहिले हातले हाजिरी गरिरहेका छन् । केही कर्मचारी क्षतिको विवरण सङ्कलनमा खटिएका थिए । पूर्ण रूपमा क्षति भएको स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट काम थाल्ने तयारी गरिरहेको स्वास्थ्य सचिव डा विकास देवकोटाले जानकारी दिए । यसरी मन्त्रालयका संरचना क्षतिग्रस्त, विद्युत् तथा इन्टरनेट जस्ता आधारभूत सुविधा विच्छेद र प्रष्ट निर्देशन नहुँदा नियमित काम अघि बढ्न सकेका छैनन् । उच्च तहबाट अबको नीति र त्यसको कार्यान्वयनका लागि स्पष्ट निर्देशन आउन ढिलाइ हुँदा कर्मचारीमा के काम गर्ने भन्ने अन्यौलता बढेको हो । सिंहदरबारभित्रको यो अवस्था केबल आगजनी र तोडफोडको क्षति मात्र होइन, समग्र प्रशासनिक संयन्त्रको कमजोर तयारी र सङ्कट व्यवस्थापन क्षमताको पनि सूचक हो । स्थायी सरकार मानिने प्रशासनिक संरचनामा देखिएको यस्तो अन्यौलतले सङ्कट व्यवस्थापन क्षमतामाथिसमेत प्रश्न उठाउँछ । क्षतिको पूर्ण मूल्याङ्कन र पुनर्निर्माण कति छिटो सम्भव हुन्छ ?, सामान्य नागरिकलाई प्रभाव पार्ने प्रशासनिक सेवा कति दिन ठप्प रहन्छ ?, आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार र बजेट समयमै जुट्छ ? लगायत प्रश्नको जवाफ अझै स्पष्ट छैन । राज्य सञ्चालनलाई पुनःगतिमा ल्याउन तत्काल उच्च तहको निर्णय, स्पष्ट प्राथमिकता र प्रभावकारी सङ्कट व्यवस्थापन रणनीति अपरिहार्य देखिन्छ । तर क्षतिग्रस्त कोठाहरूमा कुनै सुरक्षा व्यवस्था नहुँदा बाह्य व्यक्तिलेसमेत सजिलै प्रवेश गर्नसक्ने अवस्था देखिनु प्रशासनिक संवेदनशीलता र सुरक्षात्मक कमजोरीको सङ्केत हो । रासस

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौं । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।  उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उनले सबैमा अनुरोध गरे ।   १३९ थुनुवा फर्किए, दुई हजार १०० फरार  सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् ।  फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।  

फ्रेन्चाइज लिगदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित, खेलाडी त्रसित

काठमाडौं । जेनजीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्न सक्ने स्पष्ट छ । यो आन्दोलन र घटनाक्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । यो चुनावी सरकार हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षति व्यहोर्नेछन् । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अलि बढी प्रताडित हुनेछन् । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अघि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजनाको तयारी अवस्थामा थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बीचमै बन्द गर्नुपर्यो । आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिएको थियो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा व्यस्त देखिन्थे । केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पुर्याउने आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो । अब कहिले हुन्छ भन्ने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुगे । ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पुर्याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ । ‘हामीले पटकपटक आग्रह गर्दा पनि खेलाडीको सामान निकाल्न दिइएन । त्यसबेला विदेशी खेलाडीहरू धेरै आतिनुभयो । 'यो देशमा कहिल्यै आउँदैनौँ' भने,’ आयोजक टिमका एक सदस्यले भने, ‘त्यो सुन्दा धेरै दुःख लाग्यो । साँच्चै अब उहाँहरू आउनुहुन्छ जस्तो लाग्दैन । अरुलाई पनि 'नेपाल सुरक्षित छैन' भने भने अर्को क्षति व्यहोर्नुपर्छ ।’ आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमै नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै 'यति क्षति भयो' भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना गर्यौँ । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर गर्नेछ,’ उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर पारेको छ । एउटा व्यवसायिक खुशी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडी त्रसित भएपनि आफूहरूले सम्झाएको बताए । ‘११ राष्ट्रका १८ जना विदेशी महिला खेलाडी हुनुहुन्थ्यो । त्यो घटना हुँदा आतिनुभयो । महिलाहरू त्यसै पनि सेन्सिटिभ हुनुहुन्छ । होटलमा जसरी आक्रमण भयो, त्यो सहन नसक्ने अवस्था नै थियो । २/४ जना खेलाडीको डकुमेन्ट र सरसामान त्यहीँ जले । जसोतसो पासपोर्ट जोगायौँ,’ उनले भने, ‘हामीले ती खेलाडीहरूसँग बसेर एउटा सेसन राखेका थियौँ । नेपाल शान्त देश हो र यस्तो पहिलोपटक भयो । यस्तो हुन्छ भन्ने आँकलन पनि थिएन भन्यौँ । बाहिर नराम्रो सन्देश नलगिदिनुस् भन्यौँ । कोही खेलाडी अब आउन चाहन्नन्, केही आउन पनि सक्छन् । हिजो मात्र खेलाडी जानुभयो र अब यो आयोजना कहिले हुन्छ भन्न सक्दैनौँ ।’ उनले भारतका एमपी विक्रम साहनी र भारतीय दूतावासको सहयोगमा ब्रोडकास्टिङ टिमलाई आफ्नै देश पठाउन सफल भएको बताए । ‘कठिन समयमा एकताबद्ध भएर अगाडि बढ्न सक्छौँ भन्ने सन्देश दियौँ । आयोजक, फ्रेन्चाइज टोली, ब्रोडकास्टिङ क्रु र भेन्डर मिलेर खेलाडीमाथि कुनै घटना हुन दिएनौँ र एक भएर लड्यौँ । तर त्यो घटनालाई रोक्न सक्दैनथ्यौँ,’ उनले भने । व्यावसायिक खेल आयोजनाले नेपाली खेलकुदलाई माथि उकास्दैछ । विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीहरूको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपीएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधार हुन् । तर देशको राजनीतिक अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन । आयोजकहरूले पनि यस्ता प्रतियोगिता गर्न धेरैपटक सोच्नेछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपीएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः त्यसलाई पनि असर पर्न सक्छ । यसबीच एनपीएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपीएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपीएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घराना रहेका र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपीएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने, समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने बताए । ‘एनपीएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी–२० विश्वकप छनोटका लागि वेस्ट इन्डिज टुरको तयारीमा छौँ र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौँ,’ लामाले भने । आन्दोलन चर्किँदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसिएशन ९काभा० महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ । काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको हो । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औँ एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थियो । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्था सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए । ‘हामी प्रशिक्षण सुचारु गर्ने तयारीमा छौँ । तर अधिकांश विभागका खेलाडीहरू हुनुहुन्छ । उहाँहरू अहिले विभागको जिम्मेवारीमा हुनुहुन्छ । अवस्था सामान्य भएपछि खेलाडी फर्काइ दिने सूचना आएको छ,’ बिष्टले भने, ‘छिट्टै मिशन–२६ को तयारी सुरु गर्छौँ ।’ भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाइएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति बेहोर्नु परेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साहन गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, पछिल्लो घटनाले ठूलो क्षति पुर्याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।