शिवम् सिमेन्टले जिल्ला प्रशासन कार्यालयमा गर्यो सरसफाई
काठमाडौं । हालैको जेनजी आन्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण उत्पन्न अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ । कम्पनीले सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसरमा सरसफाई गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत हस्तान्तरण गरेको जनाएको छ । शिवम् सिमेन्टका अनुसार वर्तमान विषम परिस्थितिमा सहयोग र श्रमदानमार्फत समुदायलाई साथ दिइरहेको छ र आगामी दिनमा समेत निरन्तर सरसफाई तथा श्रमदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । 'समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर योगदान गर्नेछौं,' कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयले गुमायो ‘प्रिफ्याब’ भवनसहित दर्जनौँ सवारी साधन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयले ठूलो क्षति व्यहोर्नुपरेको छ । मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार अर्थ मन्त्रालयको बजेट महाशाखा रहेको ‘प्रिफ्याब’ भवन पूर्णरूपमा क्षति भएको छ । अर्थ मन्त्रालयका १६ वटा चारपाङ्ग्रे सवारी साधन, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रूपमा क्षति भएका छन् । आन्तरिक राजस्व विभाग मातहतका दमक, इटहरी, विराटनगर, लाहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखरास्थित आन्तरिक राजस्व कार्यालयहरू पूर्णरूपमा क्षति भएका छन् । त्यसैगरी कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालयहरू तथा इलाम र सिन्धुलीस्थित करदाता सेवा कार्यालयहरू आंशिक रूपमा क्षति भएका छन् । भन्सार विभाग मातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरू पूर्ण रूपमा क्षति भएका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयहरू आंशिक रूपमा क्षति पुगेका छन्, अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार महालेखा नियन्त्रक कार्यालय मातहतका काठमाडौं उपत्यकाका ३ र उपत्यकाबाहिरका ४ गरी जम्मा ७ वटा कोष तथा नियन्त्रक कार्यालयहरूको भौतिक संरचना क्षतिग्रस्त भएको छ । आन्दोलनका क्रममा ठूलो क्षति भए पनि अर्थ मन्त्रालय र मातहतका निकायहरूले आफ्नो सेवा भौतिक रूपमा दिन थालिसकेका छन् । प्रवक्ता पाण्डेयले भने, 'मिति २०८२ भाद्र २३ र २४ मा भएको प्रदर्शनबाट मन्त्रालय र अन्तर्गतका निकायहरूमा पुगेको भौतिक क्षतिबाट प्रभावित सेवा तथा राजस्व संकलनलाई सुचारु गर्ने सन्दर्भमा उच्च व्यवस्थापक समूहको बैठक बसेको छ । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका केन्द्रीय निकायहरूको प्रमुख भौतिक संरचना, बजेट, भुक्तानी र राजस्व व्यवस्थापनसँग सम्बन्धित सूचना प्रविधि प्रणाली सुरक्षित रहेका छन् र २०८२ भाद्र २३ देखि रोक्का रहेको भुक्तानी प्रणाली सुचारु गरिएको छ ।' उनका अनुसार भन्सार कार्यालयहरूबाट भदौ २६ गतेदेखि नै सेवा प्रवाह सुरु भइसकेको छ भने आन्तरिक राजस्व विभाग मातहतको अनलाइन सेवा निरन्तर सञ्चालनमा छ । अर्थ मन्त्रालय तथा मातहतका अधिकांश कार्यालयहरूले आइतबारदेखि भौतिक सेवा पनि सुचारु गरेका छन् । अर्थ मन्त्रालयका अनुसार मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र मातहतका विभाग तथा कार्यालयहरूमा पुगेको क्षतिको थप विवरण संकलन गर्ने कार्य भइरहेको छ । पूर्ण तथा आंशिक क्षति भएका कार्यालयहरूको सरसफाइ कार्य कार्यालय प्रमुखको नेतृत्वमा कर्मचारीहरूले सुरु गरिसकेका छन्, जसले सेवा प्रवाह गर्न सहज वातावरण बनाउन सहयोग पुर्याइरहेको छ । सवारी साधन क्षति भएका कार्यालयहरूका लागि अत्यावश्यक सवारी साधन अन्तर–कार्यालयीय समन्वयमार्फत आन्तरिक रूपमा व्यवस्थापन गर्ने व्यवस्था सम्बन्धित विभागका महानिर्देशकले मिलाउने अर्थ मन्त्रालयले जनाएको छ । त्यसैगरी मातहतका विभाग तथा कार्यालयहरूबाट हुने सेवा प्रवाह सहज बनाउन आवश्यक निर्णय लिन विभागहरूलाई निर्देशन दिइएको छ । साथै सेवा सहज बनाउन अन्य प्रक्रियागत विषय तथा सञ्चालनमा रहेका सूचना प्रविधि प्रणाली सुरक्षित गर्ने जिम्मेवारी पनि सम्बन्धित विभागलाई दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मेरो घर जलाइयो, सम्पत्ति खरानी बनाइयो तर हाम्रो यात्रा रोकिने छैन : गोकर्ण विष्ट
काठमाडौं । नेकपा (एमाले) सचिव गोकर्ण विष्टले हालै भएको घटनापछि आफ्नो भावनात्मक विचार सार्वजनिक गरेका छन् । निजी निवासमा आगजनी र सार्वजनिक सम्पत्ति ध्वस्त भएपछि उनले एक विज्ञप्ति जारी गर्दै प्रतिक्रिया दिएका हुन् । विष्टले भनेका छन्, 'यतिबेला हामी विगतको समीक्षा गर्दै आगामी यात्रा तय गर्ने र घटनाका पीडितलाई सहयोग तथा ध्वस्त संरचनाको पुनर्निर्माणमा जोड दिने घडीमा छौं । यतिबेला मैले शोषण, दमन, अन्याय, अत्याचार र विभेदको अन्त्य गर्दै गरिबीबाट जनतालाई मुक्त गर्ने र सशक्त राष्ट्रको रूपमा नेपाललाई माथि उठाउने उद्देश्यका साथ निर्माण भएको हाम्रो पार्टीको यात्रासँगै आफ्नै राजनीतिक यात्रा पनि सम्झिरहेको छु ।' जीवनभर सामाजिक काममै समर्पित रहेको उल्लेख गर्दै उनले भनेका छन्, 'जे सकेँ, देश र जनताकै लागि सोचेँ र हरसम्भव प्रयास गरेँ । तर यतिबेला मेरो घर पनि जलाइएको छ। सयौं व्यक्तिको निजी सम्पत्ति र सार्वजनिक सम्पत्ति नष्ट गरिएको छ । देशका ऐतिहासिक र महत्वपूर्ण दस्तावेज खरानी बनाइएको छ । यो कसले र किन गर्यो ? छिट्टै समयले बाहिर ल्याउने नै छ ।' विष्टले आफू इमानदार र मेहनती रहेको दाबी गर्दै थपेका छन्, 'म मेहनत र इमानदारीतामा विश्वास गर्दछु । मेरो राजनीतिक र सामाजिक यात्राको सन्दर्भमा समाजमा उठ्ने जुनसुकै प्रश्नको कसिमासमेत उभिन तयार छु ।' अचानकका घटनाले निराशा ल्याउन खोजे पनि विष्टले पार्टी र कार्यकर्तालाई दृढ सन्देश दिएका छन् । उनले भने, 'कमरेडहरू, अचानकका घटनाले सबैकुरा सकिए जस्तो र आगामी यात्रा पनि रोकिए जस्तो लाग्न सक्छ। तर हाम्रो यात्रा रोकिने छैन । इतिहासका अनेक प्रतिकूलतामा हाम्रो पार्टी नेकपा (एमाले) अझ बलियो भएर उठ्ने छ । यस पटक पनि हामी पार्टीलाई नयाँ जीवन दिनेछौं र अझ बलियो भएर उठ्नेछौं ।' उनको भनाइमा अहिलेको चुनौतीबाट पार्टीलाई पुनः एकजुट बनाउन, जनभावना अनुसार सच्चिन र नयाँ ऊर्जा सिर्जना गर्न जोड दिइएको छ । विष्टले भने, 'एकता, सामूहिकता, आत्मविश्वास र नयाँ ऊर्जा नै हाम्रो शक्ति हो। समयको माग र जनभावना अनुसार सच्चिनेछौं । थप बलियो भएर उठ्नेछौं ।'