शिक्षाविद् शर्माको निधन, छोरा क्यानडा भएकोले शनिबार मात्रै अन्त्यष्टि गरिने
काठमाडौं । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा. देवराज अर्यालले जानकारी दिए । उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठा छोरा क्यानडामा भएकोले र उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो । हाल उनको शव अस्पतालमै राखिएको छ । प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरेका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए । उनको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए । उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए । यसैगरी प्रा. शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए । उनी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत थिए । उनले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरे भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार भएका थिए । शर्माले केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत भएका थिए । रासस
अनिवार्य बन्दै भाइमसला, बारीको फलप्रति वेवास्ता
काठमाडौं । गाउँघर र सहरमा तिहारकाे रमझम सुरु भइसकेकाे छ । दाजुभाइ र दिदीबहिनीको सम्बन्ध थप प्रगाढ बनाउने चाडकाे रूपमा तिहारलाई मानिन्छ । कोहीले त देउसीभैलो खेल्न सुरु गरिसकेका छन् भने कोही आफन्तजनसँग रमाउँदैछन् । वर्षदिनसम्म टाढा रहेका दाजुभाइ दिदीबहिनी अहिले भेट्ने तरखर गरिरहेका छन् । दोलाखाकी कमला खड्कालाई सबैभन्दा मन पर्ने चाड तिहार हो । तिहार आउनु अगावै सेलरोटी पकाउन चामलको जोहो गर्नुपर्थ्याे, दिनभरि ढिकीमा कुटेर चामल बनाउनुपर्थ्याे । पुरीको लागि पीठो तयार पार्न गहुँ पिसाउन घट्ट जानुपर्थ्याे । ‘आहा तिहार त कति रमाइलो गरी मनाइन्थ्यो,’ कमलाले पहिलेका दिनहरू सम्झँदै भन्छिन्, ‘काम पनि हुन्थ्यो, तिहारको खुसीले सहजै गरिन्थ्यो ।’ मखमली र सयपत्री फूलले आँगन रंगीन हुँदा उनको मन पनि उस्तै रंगीन हुन्थ्यो । त्यसैमाथि गाउँमा काठमाडौंमा बस्ने दाइ भाइहरू घर आउँदा कति खुसी लाग्थ्यो भन्ने कुरा उनी व्यक्ति नै गर्न सक्दिनन् । कमला खड्का । एकातिर देउसीभैलाेकाे रन्को, अर्कोपट्टि सबै परिवार एकैठाउँमा जम्मा हुँदा कमलाकाे मन खुसीले उत्तिकै उड्थ्याे । उमेरले ४९ लागेकी उनलाई अहिलेभन्दा उतिबेलै मनाएकाे रमाइलो लाग्छ । भन्छिन्, ‘पहिले दाइभाइसँगै हुन्थ्यौं, आमाबुवा साथमा पनि हुनुहुनथ्यो,आजभोलि त दाइभाइ पनि टाढा छन्, आफू पनि एक्लो छु, पहिले जस्तै रमाइलो छैन ।’ ललितपुरको पाटनकी पुष्पा बज्राचार्यलाई पनि तिहार मन पर्ने चाड हो । उनका ५ जना दिदीबहिनी र दुई जना दाजुभाइ छन् । थरिथरिका पकवान पकाउँदा, दाजुभाइसँग रमाइलो गर्न पाउँदा तिहार निकै रमाइलो लाग्छ । उनी अहिले तिहारको तयारीमा छन् । पहिले सेल रोटी र फलफुलमात्र दिने गरेकोमा अहिले भाइमसला अनिवार्य दिने गरेको बताउँछिन् । कमला र पुष्पालाई तिहार अहिले भन्दा पहिलेकै रमाइलो लाग्छ । पहिलेभन्दा अहिलेका हरेक चाडपर्व खर्चिला र भड्किला हुने गरेको उनीहरू बताउँछन् । पुष्पा बज्राचार्य । अनिवार्य भाइमसला पहिले तिहारमा दाजुभाइलाई घरमै पाकेको पकवान र बारीमै फलेको फुलफुल तिहारमा दिइन्थ्यो । दाजुभाइले पनि आशीषस्वरूप सकेको दक्षिणा दिन्थे । तर, अहिले पकवानभन्दा भाइमसला पहिलो रोजाइमा पर्ने गरेको छ । पहिले खासै प्रचलनमा नरहेको भाइमसला अहिले अनिवार्यजस्तै भएको छ । बजारमा १ सय देखि १ हजार दुई हजारसम्म पर्ने भाइमसाला जताततै छ्यापछ्याप्ती छ । पुष्पा बज्राचार्य आजभोलि घरमा पकाएका सेलरोटी फलफुलभन्दा बढी किसमिस, काजु, बदाम मिश्रित भाइमसला दिने प्रचलन बढेको बताउँछिन् । आजभन्दा २५ वर्ष पहिले यस्तो अनिवार्य नभएपनि आजभोलि भने अनिवार्यजस्तै रहेको उनको भनाइ छ । भाइलाई दिने मसलामा समेत विदेशकै भर तिहारको लागि दाजुभाइलाई दिने भाइमसलामा विभिन्न प्रकारका खानेकुरा मिसाइएको हुन्छ । काजु, किसमिस, सुकमेल, सुपारी ल्वाङ, सुकमेल, ओखर, नरिवल, खुर्पानी, मिस्री, दालचिनी मखना लगायतका खानेकुरा मसलाको रूपमा राखिएको हुन्छ । यी सबैको उत्पादन नेपालमा हुँदैन । यसमा पनि कतिपय खानेकुरा पश्चिम अफ्रिकी देशबाट आयात गरिन्छ । नेपालमा उत्पादन नै नहुने यस्ता मसला नेपाली चाडको हिस्सा बन्न पुगेकाे छ । भन्सार विभागको तथ्यांकानुसार पछिल्लो तीन महिनामा साढे एक अर्ब रुपैयाँको भाइमसला आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा उक्त रकमबराबरको भाइमसाल नेपाल भित्रिएकाे हाे । संस्कृतिविद् प्रा. कल्पना श्रेष्ठ भाइसला दिने चलन मल्ल कालभन्दा अघिदेखि नै चलेको बताउँछिन् । पहिले शासक वर्ग र उच्च पदस्थ अधिकारीले मात्र यसको बढी प्रयोग गर्ने गर्थे भने आजभोलि सबैले भाइमसला अनिवार्य गरेको उनको भनाइ छ । ‘पहिले हुने खानेहरूसँग पैसा हुन्थ्यो, काजु, किसमिस विदेशबाट ल्याएका महँगा फलफूल किनेर दिन्थे, आजभोलि सबैसँग पैसा छ, महँगा सामान किन्न सक्ने हैसियत बढेकाले सबैले यसको प्रयोग गर्न थाले,’ उनी भन्छिन्, ‘पहिले धनीवर्गले भाइमसला, गरिबहरूले घरमै पकाएका पकवान र बारीमा फेलका सामानहरू मसलाको रूपमा दिन्थे फरक त्यति हो । अरू यसमा छुट्टै धार्मिक मान्यता केही छैन।’ संस्कृतिविद श्रेष्ठले आर्थिक दृष्टिकोण, सांस्कृतिक दृष्टिकोणले पनि मसलाको प्रयोग बिस्तारै बढ्दै गएको बताइन् । सुरुमा राजदरबारमा ठूलठूला व्यक्तिको घरमा प्रयोग हुनथ्यो । जनमानसमा यो कुराको ज्ञान पनि थिएन अनि किन्नसक्ने हैसियत पनि थिएन। संस्कृतिविद् डा. कान्ता भट्टराई अहिले बजारमा आएका मसला र सेलरोटी, स्याउ, सुन्तला एउटै मसला भएको बताउँछिन् । ‘पहिले आफ्नै बारीमा भएका फलफुल जस्तै भोगटे, बिमुरो, सुन्तला, नरिवल दिइन्थ्यो । यो मौसममा जे फलफल उपलब्ध छ, त्यही हुन्थ्यो,’ उनी भन्छिन्, ‘त्यो बेला आफ्नै देशमा प्रशस्त फलफुल पनि फल्थे, नेपाली पनि स्वावलम्बी थिए तर, आजभोलि विदेशबाट विभिन्न किसिमका फुलफुल भित्र्याउने थाले, अहिले मान्छे बढी अल्छी भए ।’ भड्किलाे बन्दै तिहार पहिलेभन्दा अहिले तिहार भड्किलो बनेको छ । दिदीबहिनीले सकेजति खानेकुरा दाजुभाइलाई दिन्थे भने दाजुभाइ पनि सकेको दक्षिणा दिन्थे । तर आजभोलि निकै भड्किलो भएको विज्ञहरू बताउँछन् । दोलखाकी कमला पनि अहिलेको जस्तो खर्चिलो तिहार त्यो बेलाको नभएको बताउँछिन् । तिहारमा भाइलाई एक एक जोर लुगा र सेलरोटी दिइन्थ्यो । अहिलेको जस्तो भाइमसला त्यो बेला थिएन । ‘भाइमसला पनि हुँदैन्थ्यो, फेरि सहर जस्तो फलफुल पनि पाइँदैनथियाे,’ त्यो बेलाको तिहार सम्झँदै उनी भन्छिन्, ‘अहिले त, भाइमसला भन्यो, के के मसला भन्यो, जति पैसा भएपनि किननै पुग्दैन, समयअनुसार चल्नै पर्यो, अहिले तडकभडक निकै छ ।’ उसो त काठमाडौं उपत्यकामै पनि पहिलेभन्दा अहिले तिहारमा भाइमसलाको प्रयोग बढ्दै गएको छ । केही वर्षदेखि तिहारमा भाइमसला अनिवार्यजस्तै हुने गरेको छ । ललितपुरको पाटनकी पुष्पा बज्राचार्य पहिले सेलरोटी र फलफुलमात्र दिने गरेकोमा अहिले भाइमसला अनिवार्य दिने गरेको बताउँछिन् । पुष्पाका ५ जना दिदीबहिनी दिदीबहिनी र २ जना दाजुभाइ छन् । उनी तिहारमा भाइहरूलाई सेलरोटी फलफुल, अण्डा, किमाको डल्लो बनाएर दिन्छन् । तर आजभोलि भने भाइमसला पनि किनेर दिने गरेको बताइन् । ‘पहिले त यस्तो थिएन दिन्नथ्यौं पनि तर आजभोलि अरू नभएपनि भाइ मसला अनिवार्य गरिन्छ,’ पुष्पा भन्छिन्, ‘समयको परिर्वतनसँग चाडबाडमा पनि परिवर्तन आए ।’ तिहारमा सबै सामान अखाद्य अझै पनि कतिपय ठाउँमा स्थानीय पकवान नै दिने चलन छ । बजारमा विभिन्न रङ मिसिएका खानकुराको प्रयोग चाडबाडमा बढी आउँछन् । अहिले बजारमा पाइने तेल घ्यूसमेत शुद्ध पाइँदैन । संस्कृतिविद् कान्ता भट्टराई आजभोलि सबै भाइमसलादेखि फूलसम्म बाहिरी देशमा निर्भर हुँदा अखाद्य र खर्चिलो चाडबाड हुने गरेको बताउँछिन् । उनी बाहिरबाट आएका बेमौसमी फलफुल स्वास्थ्यका लागि समेत राम्रो नहुने भन्दै स्वदेशमै फलेका फलफुल र खानेकुरा प्रयोग गर्न सकिने बताउँछिन् । नेपालका धर्म संस्कृति देशका गहना र पहिचान भएकाे उनकाे बुझाइ छ । उनका अनुसार यमपञ्चक जस्तो ठूलो चाड अरू छैन । यो नेपालीहरूकै आफ्नै माैलिक संस्कृति हो । संस्कृतिविद् भट्टराईका अनुसार दाजुभाइ भनेका वायु देवता हुन् भने दिदीबहिनी स्नेह र दयाका प्रतिमूर्ति हुन् भन्ने शास्त्रमा वर्णन गरिएको छ । दाजुभाइ र दिदीबहिनीको बीचमा श्रद्धा खुसी साट्ने पर्व हो । यो एकले अर्कोलाई सम्मान गर्ने पर्व हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीको घरमा गएर दिदी बहिनीले पकाएको खाुपर्ने मान्यता पनि छ । उनी आजभोलि यो चाड निकै भड्किलो भएको बताउँछिन् । भन्छिन्, ‘यो निकै दुःखद कुरा हो, पर्वले हामीलाई उत्साह र उमंग दिने हो तर आजभोलि भड्किँलो हुँदा बोझिलो बन्ने गरेको छ ।’
धनियाँ १०० रुपैयाँले घट्दा डल्लेच्याउ १३८ रुपैयाँले बढ्यो
काठमाडाैं । हरियो धनियाँको भाउ शुक्रबार ह्वात्तै घटेको छ । आज हरियो धनियाँ प्रति केजी १०० रुपैयाँले घटेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । हिजो हरियो धनियाँ प्रतिकेजी १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो । आज ५६.६० प्रतिशतले घटेर ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । यसैगरी, हरियो लसुन प्रतिकेजी २२.०६ प्रतिशतले घटर १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ । हिजो हरियो लसुनको मूल्य २२६.६७ रुपैयाँ थियो । यसैगरी, सानो गोलभेडा (लोकल) प्रतिकेजी १८.३३ रुपैयाँले घटेर आज ८१.६७ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेडा (टनेल) ४ रुपैयाँले घटेर ९६ रुप्रैयाँमा कारोबार भइरहेको छ । भारतीय गोलभेडाको मूल्य भने आज ६५ रुपैयाँ रहेको छ । सेतो मुला १० रुपैयाँले घटेर २५ रुपैयाँमा झरेको छ भने लाम्चे भान्टा ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको छ । टाटे सिमी ३० रुपैयाँले घटेर ५५ रुपैयाँमा कारोबार हुँदा हरियो फर्सी २० रुपैयाँले घटेर ४५ रुपैयाँ, रायो साग १० रुपैयाँले बढेर ५५ रुपैयाँ, चमसुरको साग ४५ रुपैयाँले घटेर १३० रुपैयाँ, मेथीको साग ४६ रुपैयाँले घटेर १३० रुपैयाँ डल्लेच्याउ १३८ रुपैयाँले बढेर ४२६.६७ रुपैयाँमा कारोबार भइरहेको छ ।