शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले आज पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रहरी र स्थानीय समुदाय, सङ्घसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राखे ।  विभिन्न सचेतना मूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समेत सामुदायिक सेवा केन्द्रको योगदान भएको खण्डमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने उनले बताए ।  प्रहरी महानिरीक्षक थापाले भने, ‘समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराइ अपराधीलाई कानुनी दायरामा ल्याउन समुदाय र प्रहरीको साझेदारी आवश्यक छ । यसबाट छिटो अपराध अनुसन्धानमा सहयोग पुग्दछ ।’ थापाले देशभर रहेका १८१ सामुदायिक सेवा केन्द्रले प्रहरी र नागरिकका बीचमा पुलको रूपमा काम गरेर सुमधुर सम्बन्ध कायम राखी शान्ति सुव्यवस्था, अमन चयन कायम राख्ने तथा अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गरेको बताए । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भीम पराजुलीले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा घट्ने आपराधिक घटनामा कमी आएको बताए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गङ्गा थापा लगायतले सामुदायिक सेवा केन्द्रको भूमिकालाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 

नदी सफा गर्न ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् । काठमाडौंको वडा नं १० बुद्ध नगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।  उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति लगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरूप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए । उपप्रधानमन्त्री सिंहले बुद्ध नगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए । उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे ।  उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए ।  कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए । थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौँ भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए । यसअघि बुद्धनगरस्थित सेतो गणेश स्थानबाट सुरु भएको सरसफाइ कार्यक्रमका सभापति समाजसेवी सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिइ १० वर्ष पूरा गरेकोमा धन्यवाद दिए । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, कांग्रेस नेतृ सृजना सिंह र नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति रविन्द्र विक्रम राणालगायत सहभागी थिए । 

यी तीन प्रदेशमा भारी वर्षा हुने, सडक र हवाई यातायातमा प्रभाव पर्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।