कर्णालीका दुर्गम बस्तीमा टेलिकमको टुजी तथा फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा टुजी तथा फोरजी सेवा विस्तार गरेको छ । देशभरका दुर्गम स्थानमा सञ्चार पहुँच विस्तार गर्ने अभियानअन्तर्गत टेलिकमले हुम्ला, दैलेख, जाजरकोट र डोल्पाका विभिन्न बस्तीहरूमा नयाँ टावर स्थापना गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।  हुम्ला जिल्लाको सर्केगाड–३ र सर्केगाड–६ मा टुजी तथा फोरजी सेवा सुरु भएपछि सर्केगाड गाउँपालिकाका वडा नं. २, ३, ४ र ६ का बासिन्दा पहिलोपटक गुणस्तरीय मोबाइल सेवाबाट लाभान्वित भएका छन् । सेवाबाट उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका बस्तीहरू जोडिएका छन् । यस्तै, हुम्लाकै अदानचुली–६ मा पनि टुजीरफोरजी सेवा सञ्चालनमा आएसँगै अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ को पानचौर, कालिका लगायतका क्षेत्र सञ्चार सुविधामा पुगेका छन् । दैलेख जिल्लाको गुराँस गाउँपालिका क्षेत्रका गुराँस बजार, गोगनपानी, पातीकान्ला, बयलकाँडा तथा बराहताल–९ को लेकगाउँ पनि अब फोरजी सेवाको दायरामा आएका छन् । पर्यटकीय क्षेत्र गुराँसमा सेवा विस्तार भएपछि स्थानीय बासिन्दासँगै पर्यटकले पनि गुणस्तरीय नेटवर्क सेवा पाउने भएका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा सेवा सञ्चालनमा आएपछि वडा नं. ७, ८, ९, १० र ११ का गाउँबस्तीहरू पहिलोपटक आधुनिक टुजी र फोरजी सुविधासँग जोडिएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकामा सञ्चार पहुँच अझै विस्तार भएको टेलिकमले जनाएको छ । वडा नं. १० को मिदग्ती लेकमा नयाँ फोरजी टावर सञ्चालनमा आएपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी लगायतका बस्तीहरू सञ्चार सुविधामा जोडिएका छन् । यसले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय तथा सैनिक ब्यारेक क्षेत्रलाई पनि आधुनिक मोबाइल सेवासँग जोडेको छ । टेलिकमका अनुसार नवीनतम सेवा विस्तारसँगै देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा फोरजी सेवा पुर्‍याइएको छ । दुर्गम तथा अति विकट क्षेत्रमा पनि समान रूपमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले उच्च लागत, प्रतिफल कम हुने क्षेत्रसमेत प्राथमिकतामा राखेर टावर स्थापना तथा सेवा सञ्चालन गर्दै आएको छ ।

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

दमौली । हालैको वर्षाले तनहुँमा एक करोड रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा  एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ रुपैयाँ बराबरको क्षति भएको छ ।  जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक टन धानमा क्षति पुगेको छ । घिरिङमा चार लाख ८६ हजार रुपैयाँ, म्याग्देमा १४ लाख ६० हजार रुपैयाँ, आँबुखैरेनीमा २६ लाख ८२ हजार ९४३ रुपैयाँ र व्यास नगरपालिकामा ५७ लाख ४४ हजार ५९७ रुपैयाँ बराबरको क्षति भएको हो ।  घिरिङमा ९.८ हेक्टरमा १८.२ मेट्रिक टन, म्याग्देमा १०.६२ हेक्टरमा ४२.१६ मेट्रिक टन, आँबुखैरेनीमा १९.५१ हेक्टरमा ७७.४७ मेट्रिक टन र व्यास नगरपालिकामा ९५.८ हेक्टरमा १६५.८८ मेट्रिक टन धानमा क्षति भएको छ ।  तनहुँका विभिन्न भागका आठ हजार ७२० हेक्टरमा धानखेती हुने गरेको छ । केन्द्रका अनुसार आव २०८०÷८१ मा सात हजार ६४२ हेक्टरमा खेती गरिएकामा आठ हजार ७२० मेट्रिक टन धान उत्पादन भएको थियो ।  तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर,लगायतका धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात छ । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । एकाउन्न हजार ५१० हेक्टरमा मात्र  खेती भइरहेको छ । 

बालाचतुर्दशी : डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा  शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर  जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ ।  केही वर्ष अगाडिसम्म शतबीज छर्न पाशुपत क्षेत्र जाने गरेका यहाँका स्थानीय डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको निर्माण भएसँगै डोलेश्वर महादेवको मूल दीपबाट बत्ती सल्काएर यहीँ महादीप बालेर शतबीज र्छन थालेका हुन् ।  त्यसैगरी, चाँगुनारायण नगरपालिका–५गोकुलधाम एवं मच्छेनारायण मन्दिर, सूर्यविनायकको सिपाडोलस्थित आशापुरी महादेव गुण्डुको अनन्तलिङ्श्वर मन्दिर परिसरमा स्थानीयले शतबीज छरेका छन् ।