विदेशमा रहेका नेपालीले आजसम्म सुपर खुदी हाइड्रोको आईपीओमा आवेदन दिन पाउने

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पुस २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज पुस २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकको ३०औँ वार्षिक साधारण सभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभा सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा सहभागी सेयरधनीहरूले बैंकको समग्र गतिविधि, वित्तीय अवस्था तथा भावी रणनीतिबारे आ–आफ्ना धारणा राख्दै छलफल गरेका थिए । साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै, बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४३ अर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आईएमई लाइफको १०.५२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिसहितको वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट गरिएको खर्चसमेत अनुमोदन गरेको छ । सभामा अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सुझाव र सहयोग गर्ने सेयरधनी, सञ्चालक, बीमित, नियमनकारी निकाय, पुनर्बीमा कम्पनी, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था तथा अन्य सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे ।