‘इन्साइडर ट्रेडिंगको सूचना दिनेलाई कारोबारको ३० प्रतिशतसम्मको रकम दिऊँ, परिचय गुप्त राखौं’

इन्साइडर ट्रेडिंग नेपालकाे मात्र न भएर विश्वभरीको समस्या हो । यसलाई पूर्ण रूपमा रोक्न सक्ने तरिका आजसम्म कुनै पनि नियमनकारी निकायले इजाद गरेको छैन । तर यसलाई अनुसन्धान नै गर्न नसक्ने भने पक्कै होइन । विश्वभरी कैयौं नियमनकारी निकायहरुले धेरै कम्पनीका प्रमुख कार्यकारी, अधिकृत वा सञ्चालक समितिका पदाधिकारीलाई आर्थिक, जेल तथा निश्चित समयका लागी सेयर बजारमा कारोबार गर्न नपाउने खालको कारबाही गरेको प्रशस्त उदाहरणहरु देख्न सकिन्छ । तर नेपालमा भने अहिलेसम्म त्यस्तो कुनै पनि कारबाही गरेको उदाहरण पाइएको छैन । यस्तो नहुनुमा सायद प्रष्ट कानूनी व्यवस्था न भएर हुन सक्छ वा त्यस्तो किसिमको कारोबारलाई अनुसन्धान गर्ने खालको प्रविधि न भएर पनि हुन सक्छ । के हो त इन्साइडर ट्रेडिंग ? इन्साइडर ट्रेडिंग तब गैरकानुनी मानिन्छ जब कम्पनीका कर्मचारी वा प्रतिनिधिहरूले आफ्ना साथीहरू, परिवार, वा कोष प्रबन्धकहरूलाई कम्पनीको सेयर मूल्यमा प्रभाव पार्न सक्ने सूचना दिने गर्दछन् । सेबोनले इन्साइडर ट्रेडिंग केही हदसम्म रोक्नका लागि के-के सतर्कता अपनाउन सक्छ ? ट्रेडिंग गतिविधि निगरानी गर्ने नियमनकारी निकायले मार्केटमा ट्रेडिंग गतिविधि अनुगमन गरेर इन्साइडर ट्रेडिंगलाई रोक्न र पत्ता लगाउन कोशिस गर्न सक्छ । धिताेपत्र बाेर्डले ट्रेडिंग गतिविधिलाई मोनिटर गर्ने, विशेष गरी महत्त्वपूर्ण घटनाहरू जस्ता आय घोषणाहरू, हकप्रद निष्काशनको घोषणा, अधिग्रहणहरू, र अन्य सूचना जसले कम्पनीको मूल्यमा प्रभाव पार्न सक्छ । यदि कम्पनीका कर्मचारी वा प्रतिनिधिहरूले आफ्ना साथीहरू, परिवार, वा कोष प्रबन्धकहरूलाई यस्तो सूचना प्रदान गर्दछ र यस्तो खालको सूचनाले त्यो कम्पनीकाे सेयर मूल्यमा सकारात्मक वा नकारात्मक प्रभाव परेको देखिएको हकमा त्यस्तो प्रकृतिको ट्रेडिङलाई पत्ता लगाई सम्बन्धित व्यक्ति वा संस्थालाई कारवाही गर्न सक्छ । यस्तो प्रकृतिको ट्रेडिङ पत्ता लगाउनको लागी धिताेपत्र बाेर्डले आर्टिफिसियल इन्टेलिजेन्ट सहितको ट्रेड सेरबिलियेन्स सिस्टमको विकास गर्न सक्छ । इन्साइडर ट्रेडिंगलाई कम गर्नको लागी एउटा छुट्टै इन्साइडर ट्रेडिंग अनुगमन विभागको निर्माण गर्नु अति आवश्यक देखिन्छ । यदि इन्साइडर ट्रेडिंग अपराध सम्बन्धी कानुन बनेको छैन भने सो सम्बन्धी कानुन बनाउन सरकारलाई सहयोग गर्न पनि अति आवश्यक देखिन्छ । इन्साइडर ट्रेडिंगकाे सूचना दिने व्यक्तिलाई प्रोत्साहन दिने व्यवस्था गरि इन्साइडर ट्रेडिंग गरे बापत आएको निश्चित रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको रकम सो व्यक्तिलाई प्रोत्साहन राशी दिने व्यवस्था गर्ने तथा सो व्यक्तिको परिचय गुप्त राख्ने ग्यारेन्टी गर्ने । कम्पनीहरूले कसरी रोक्न सक्छन् इन्साइडर ट्रेडिंग ? ब्ल्याक आउट अवधि कम्पनीहरूले इन्साइडर ट्रेडिंग रोक्नकाे लागी उनीहरूको धितोमा खासगरी कम्पनीकाे बजार मूल्यमा प्रभाव पार्न सक्ने महत्वपूर्ण घटना तथा निर्णयको आसपास ब्ल्याक आउट अवधिकाे घोषणा गरेर सो अवधिमा कम्पनीका अधिकारीहरू, निर्देशकहरू, र अन्य नियुक्त व्यक्तिहरू कम्पनीको धितोहरू खरीद वा बिक्री गर्नबाट प्रतिबन्धित गर्ने । साथै, कुनै कम्पनीका अधिकारीहरू, निर्देशकहरू र अन्यलाई त्यस कम्पनीकाे सेयर खरीद वा बिक्री गर्नुअघि सो कम्पनीको मुख्य कानुनी सलाहकारसंग सल्लाह लिएर मात्र ट्रेडिङ गर्न पाउने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । यी सुझावलाई पालना गर्न सकियो भने इन्साइडर ट्रेडिंगलाई केही हदसम्म रोक्न त सकिन्छ तर यस्तो प्रकृतिको कारोबारलाई पूर्ण रुपमा बिराम लगाउन भने सम्भव छैन । इन्साइडर ट्रेडिंगलाई कम गर्नको लागी नियामक निकायले कडा कानूनी प्रावधान गर्ने तथा कम्पनीहरु आफैले इन्साइडर ट्रेडिंग हुनबाट रोक्नकाे स्वयम् नीति निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ । साथै, लगानीकर्ताहरु आफै पनि सचेत हुनु जरुरी देखिन्छ । नेपालका लगानीकर्ताहरु पनि कुनै पनि कम्पनीले हकप्रद र बोनस सेयरकाे घोषणा गर्यो भने त्यो घोषणाले के साँच्चिकै त्यो कम्पनीको कमाईमा सकारात्मक असर गर्न सक्छ वा सक्दैन भन्ने नबुझि त्यो कम्पनीको सेयर किन्न जसरी लालायित हुने गर्दछन् । त्यो आफैंमा एउटा भेडचाल हो भनेर बुझ्नु पनि जरुरी छ । नेपालको बजारमा कुनै पनि सेयरको मूल्य जथाभावी बढोत्तरी भएकाे खण्डमा त्यो सेयरको मूल्यलाई उचित तहसम्म ल्याउनकाे लागी सर्ट सेलिङ्ग जस्तो वित्तीय उपकरण नहुनुले पनि इन्साइडर ट्रेडिंगलाई प्रोत्साहन गरेको प्रष्ट देख्न सकिन्छ । तसर्थ यस्तो किसिमको कारोबारलाई दुरुत्साहित गर्नको लागी पनि सर्ट सेलिङ्ग जस्तो वित्तीय औजारकाे आवश्यकता अपरिहार्य छ । (पुँजीबजार विश्लेषक बस्यालको सामाजिक सञ्जालबाट)

गरिबलाई सेयर किन्न अनुदान दिने व्यवस्था गर्लान् त अर्थमन्त्री पौडेलले ?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यमा व्यस्त छन् । आगामी आर्थिक वर्षको लागि जेठ १५ मै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री सोको तयारीमा लागेका हुन् । बजेट निर्माणका लागि मन्त्री पौडेलले विभिन्न आधारलाई केन्द्रमा राखेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले अन्य आधारसँगै गत निर्वाचनमा बाम घोषणापत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयनलाई पनि जोडेका छन् । ‘अर्थमन्त्रीज्यूले अन्य आधारसँगै बाम घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्ने भन्नुभएको छ, सोही अनुसार घोषणापत्रमा उल्लेख भएका विषयका बारेमा उहाँले छलफल गरेर कार्यान्वयनको खाका बनाइरहनु भएको छ,’ मन्त्रालय स्रोतले भन्यो । गत संसदीय निर्वाचनको लागि सत्तारुढ एमाले पनि सहभागी भएको बाम गठबन्धनमा निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई जलविद्युत परियोजनाको सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिने उल्लेख छ । ‘घरघरमा बिजुलीः जनजनमा सेयर नीति लागू गर्दै आकर्षक जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गरिनेछ । निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिनेछ,’ बाम घोषणापत्रको विद्युत् तथा ऊर्जा वृद्धिः राष्ट्रको आर्थिक समृद्धि खण्डमा उल्लेख गरिएको छ । यस्तै, सो घोषणापत्रमा स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई ४९ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने व्यवस्था गरिने भनिएको छ । गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत लाइन जोड्न र विजुली उपभोगमा सहुलियत दिइने पनि भनिएको छ । सो घोषणापत्र अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकलाई आकर्षक जलविद्युत परियोजनाको सेयर उपलब्ध गराउन अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बर्षको बजेटमा के कस्तो व्यवस्था गर्छन् भन्ने चासो बढेको छ ।

सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आज (चैत १९ गते) बिहीबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सारथी नेपाल लघुवित्तको ८.१३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १५९६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १७२६ रुपैयाँमा भएको थियो । त्यसैगरी, सूर्योदय लघुवित्तको १५.३५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता २२६१ रुपैयाँमा भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १९६० रुपैयाँ कायम भएको छ । यससँगै बिहीबारको बजारमा दुबै कम्पनीको कारोबार समायोजन पछिको सेयर मूल्यबाट शुरु भएको छ ।