टीएमएसको समस्या समाधान, सेयर कारोबार पुनः शुरु, अब कति बजेसम्म हुन्छ ?
काठमाडौं । आइतबार टीएमएसमा देखिएको समस्या समाधान भएको छ । उक्त समस्या समाधान भएसँगै दिउँसो ३ बजेर १५ मिनेटपछि आइतबारको सेयर कारोबार पुनः शुरु भएको छ । यससँगै आइतबार ५ बजेर १५ मिनेटसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । टीएमएसमा प्राविधिक समस्या देखिएपछि नेप्सेले केही समयको लागि सेयर कारोबार बन्द गरेको थियो । समस्या समाधान भएसँगै नेप्सेले कारोबार अवधि थपेर सवा ५ बजेसम्म कारोबार सुचारु गर्ने निर्णय गरेको हो । सम्बन्धित समाचारः टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी
उपकार लघुवित्तले एक करोड २६ लाखको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले एक करोड २६ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरका एक लाख २६ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । जसको लागि लघुवित्तले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । साथै, उक्त संस्थाको सेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
टीएमएसमा समस्या आएपछि लगानीकर्ता तनावमा, भन्छन्- खातामा नभएको सेयर पनि बेचियो, कतै जरिवाना लाग्ने त हैन ?
काठमाडौं । आइतबार ब्रोकरको टीएमएस प्रणालीमा समस्या आएको छ । कारोबार खुलेदेखि नै सिष्टममा समस्या आएपछि लगानीकर्ता तनावमा परेका छन् । उक्त प्रणालीमा समस्या आएपछि कसैले अडर राख्न नै नमिलेकाे त कसैले अडर राख्दा मल्टिपल इन्ट्री भएको लगानीकर्ता बताउँछन् । ‘एक पटक सेयर बेच्न खोज्दा दुई भन्दा धेरै पटक इन्ट्री भएको देखाएको छ । सेल अडर राख्ने समयमा लग इन भएर सेल रोखेको । पछि लाइन गएर आउँदा अडर प्लेस दुई वटा देखाउँछ । क्यान्सिल गर्न खोज्दा पनि लग अफ भएको छ ।’, उनले विकासन्युजसँग भने । सिस्टमका अनुसार सर्ट सेल नहुने व्यवस्था रहेकाेमा साे अनुसार मल्टीसेल पनि नहुनु पर्ने उनकाे भनाइ छ । ‘अब कारोबार बन्द हुने अवधिसम्म दुई वटा सेल नै पुरा भयो भने क्लोज आउटमा राखेर फाइन(जरिवाना) तिर्नु पर्ने त होइन ?’- उनले भने । यस विषयमा नेपाल धितोपत्र बोर्डले समस्या हेरेर समाधान गरिने बताएको छ । ‘समस्या के हो भनेर नेप्सेलाई सोधिएको छ । नेप्सेले खबर गरेपछि समस्या अनुसारको समाधान गर्छाैं ।’, बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले विकासन्युजसँग भने । उता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले टीएमएसमा देखिएकाे समस्या के हाे भन्ने पुष्टी नभइसकेकाे बताए । ‘समस्या टीएमएसमा देखिएकाे हाे । काेही ब्राेकरले अडर हाल्न नसकेकाे र काेहि लगानीकर्ताकाे मल्टीपल अडर गएकाे भन्ने सुनिएकाे छ । तर, के हाे पुष्टी हुन बाँकी रहेकाे छ । केस हेरेर सम्बन्धित शाखाले नियम कानुन अनुसार निर्णय गर्छ ।’, उनले भने । सम्बन्धित समाचारः टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द, नेप्सेले भन्यो- सरी