९ महिनामा जनरल इन्स्योरेन्सको नाफा १०७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १०७.४८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा कम्पनीले १६ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.१० प्रतिशतले घटेको छ । कम्पनीले गत आवको चैत मसान्तसम्म १९ करोड ५० लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ८ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ८.४९ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि बढेर ११७.०७ रुपैयाँ पुगेको छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १९ करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । जुन गत वर्षको तुलनामा ८२ प्रतिशतले बढी हो । साथै, कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ दावी रकम भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
निरन्तर बढेको महिला लघुवित्तको उकालो यात्रामा ब्रेक, पहिलो पटक नेगेटिभ सर्किट
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर उकालो लागेको महिला लघुवित्त वित्तीय संस्था सेयर मूल्यमा गिरावट देखिएको छ । दैनिक पोजेटिभ सर्किट लागेको बढेको संस्थाको सेयर मूल्य आज (बैशाख २६ गते) घटेर नेगेटिभ सर्किट लागेको छ । संस्थाले हालै सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) जारी गरी गत चैत ३ मात्र दोश्रो बजारमा प्रवेश गरेको थियो । चैत ३ गतेदेखि बैशाख २६ गतेसम्ममा कूल ३६ दिन सेयर कारोबार खुल्यो । यो अवधिमा नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य कहिले घट्ने त कहिले बढ्ने भइरह्यो । तर, बैशाख २५ गतेसम्म महिला लघुवित्तको सेयर मूल्यमा भने निरन्तर सर्किट लागेको थियो । गत बिहीबारको कारोबारसम्म बजारमा देखिएको तीव्र उतारचढावले संस्थाको सेयर मूल्यमा कुनै असर गरेको थिएन । तर आज बैशाख २६ गते कम्पनीको इतिहासमै पहिलो पटक सेयर मूल्य घटेको छ । पछिल्लो कारोबारको तुलनामा संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५०३ रुपैयाँले घटेको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता ५ हजार ३० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य आइतबार घटेर प्रतिकित्ता ४५२७ रुपैयाँमा झरेको छ । आइतबार कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको ४ हजार ५२७ पटकको कारोबारमा ५१ हजार ८८ कित्ता सेयर किनबेच भएको हो । यससँगै आइतबार संस्थाको बजार पुँजीकरण ४ अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको छ ।
९ महिनामा हिमालयन डिष्टिलरीले गर्यो पौने ४ अर्ब माथिको कारोबार, खुद नाफामा पनि सुधार
काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा पौने ४ अर्ब माथिको कारोबार गरेको छ । जुन गत आवको तुलनामा ९ प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीले खुद नाफा ५३.८९ प्रतिशतले बढाएको छ । गत आवमा ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ६७ करोड २७ लाख नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवसम्मको नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १००.७६ रुपैयाँबाट बढेर १०३.३८ रुपैयाँ र तरलता अनुपात १.९६ बाट बढेर २.७४ पुगेको छ । यसकारण बढ्यो सेयर कारोबार गत वर्ष प्राप्त कारोबार भन्दा यस वर्षको चैत मसान्तसम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता नै रहेको कम्पनीले जानकारी गराएको छ ।