सिर्जना फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाडौं । सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (असार ३ गते) बिहीबार मात्रै ११ लाख ५१ हजार ९५० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै, फाइनान्सको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

सेयर बजारमा साना तथा नयाँ लगानीकर्ताले गर्ने केही गल्तीहरु

मानिसको जीवन जन्मेदेखि नमरुञ्जेलसम्म सिकाई प्रक्रियामै रहेको हुन्छ । र, सय प्रतिसत परिपक्कता भन्ने कुरा कुनै व्यक्तिमा पनि हुदैन । सेयर बजारमा पनि अनुभवी र जानकार लगानीकर्ताहरुले पनि गल्ती गरिरहेका हुन्छन् । तथापि उनीहरुले गर्ने गल्ती धेरै कम हुन्छ । र, ती गल्तीहरुबाट पाठ सिकिरहेका हुन्छन् । तर, साना तथा नयाँ लगानीकर्ताले गर्ने गल्ती धेरै हुन्छन् । सो गल्ती गरेबापत ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । तसर्थ, साना तथा नयाँ लगानीकर्ताहरुले लगानी गर्दा विशेष ध्यान दिनु आवश्यक हुन्छ । तसर्थ, म यहाँ सामान्य रुपमा साना तथा नयाँ लागानीकर्ताहरुले गर्ने केही गल्तीहरुको बारेमा केही कुरा राख्न चाहन्छु । १. सामान्य जानकारी बिना बजार प्रवेश गर्नु धेरै नयाँ लागानीकर्ता सेयर बजार सम्बन्धी सामान्य जानकारी बिना नै बजार प्रवेश गरेको पाइन्छ । तपाईंले सेयर बजार प्रबेश गर्दा ठेलीका ठेली पुस्तक पढ्नु पर्छ भन्ने होइन । तर, यदि तपाई सफल हुन चाहनु हुन्छ भने सामान्य जानकारी हुनुपर्छ । जस्तो, सेयर बजार कसरी चल्दछ ? सेयर मूल्यमा के के कुराले असर पुर्याउँछ ? कम्पनीको आधारभूत विश्लेषण कसरी गर्ने ? इत्यादि । तसर्थ, सेयर बजारमा छिर्नु अगाडी बजार सम्बन्धी जानकारी मात्र लिएर छिर्नु पर्दछ । २. सेयर बजारबाट चाहिनेभन्दा बढी र छिटो प्रतिफलको आशा गर्नु हामीलाई थाहा छ, सेयर बजारमा जोखिम र प्रतिफल बढी हुन्छ । तर, चाहिनेभन्दा बढी र छिटो प्रतिफलको आशा गरेर सेयर बजारमा छिर्दै हुनुहुन्छ भने त्यो तपाईंको लागि घातक हुन सक्छ । त्यसैले एउटा तथ्यपरक प्रतिफल र सो प्रतिफल प्राप्त गर्न लाग्ने समयको विचार पुर्याउनु होस् । यसै सन्दर्भमा एउटा रोचक प्रसंग उल्लेख गर्न चाहन्छु । एकचोटी वारेन बफेटलाई कसैले सोध्यो– तपाईले यति सरल उपाय (राम्रो कम्पनीको सेयर लामो समयको लागि होल्ड गर्ने) भन्दिनु भएको छ कि सेयर बजारमा राम्रो प्रतिफल प्राप्त गरि कसरी धनी हुने । तर, पनि मानिसहरु सो सरल उपाय अबलम्बन गर्दैनन् । त्यसको उत्तरमा बफेट भन्छन्– किनकि मानिसहरुलाई जे कुरा पनि छिटो चाहिएको छ । भनाईको तात्पर्य के हो भने सेयर बजारमा आजको भोलि केही हुदैन । त्यसको लागि तपाईंले केही समय दिनुपर्छ र उचित प्रतिफलको मात्र आशा गर्नु पर्दछ । ३. आफ्नो जोखिम क्षमतालाई बेवास्ता गर्नु हामीलाई थाहा छ, जोखिम र प्रतिफल एउटा सिक्काका दुई पाटा हुन् । त्यसकारण कुनै पनि लगानीकर्ताको उदेश्य भनेको जोखिमलाई कम गरेर प्रतिफललाई बढाउनु हो । नेपालीमा एउटा उखान छ– घाटी हेरेर हाड निल्नु । त्यसैले सेयर बजारमा लगानी गर्दा प्रतिफल र सो बापत ब्योहर्नु पर्ने जोखिमको सधै हेक्का गर्नु पर्दछ । र, आफूले बहन गर्न सक्ने जोखिम मात्र लिनु पर्छ, जुन प्रायः साना तथा नयाँ लगानीकर्ताले ध्यान दिएको पाइदैन । तसर्थ, अरुको लहलहैमा लागेर लगानी गर्नु हुदैन । बरु आफ्नो क्षमता अनुसार गर्नु पर्दछ । ४. निर्णय प्रक्रियामा आफ्नो भावनालाई नियन्त्रण गर्न नसक्नु भनिन्छ, सेयर बजारमा सबैभन्दा घातक कुरा भनेको व्यक्तिको भावना हो । त्यसमा पनि डर र लोभ हो । त्यसकारण जहिले पनि लगानीकर्ताले आफ्नो भावना नियन्त्रण गर्न सक्नु पर्छ, जुन नयाँ लगानीकर्ताले आफ्नो निर्णय प्रक्रियामा प्रायः नियन्त्रण गरेको पाइदैन । किनभने सेयर बजार कहिले बढ्छ र कहिले घट्छ । त्यसैले बजार बढ्दा आफूले चाहेको प्रतिफलमा बिक्री गर्न सक्नु पर्यो भने बजार घट्दा धेरै दुःखी भएर धेरै घाटा खाएर बिक्री गर्नु भएन । भनिन्छ, कुनै पनि व्यक्तिले घाटाले पुर्याउने चोट सधै बढी महसुस गर्दछ, नाफाले दिने खुशी भन्दा । मान्नुस्, तपाईंलाई सय रुपैयाँको घाटा भयो र अर्काे कुनै व्यक्तिलाई सय रुपैयाँको चिठ्ठा पर्यो भने तपाईंको घाटाको पिडा बढी हुन्छ, त्यो अर्काे चिठ्ठा पर्ने व्यक्तिको खुसीभन्दा । भनिन्छ, घाटाको पिडा दुईगुणा बढी हुन्छ लाभको तुलनामा । त्यसकारण प्रत्येक व्यक्तिले घाटाबाट सधै टाढा रहन चाहन्छ । त्यो विशेषतालाई ‘बिहेभियरल इकोनोमिक्स’मा ‘लस एभरर्सन’ भनिन्छ । तसर्थ, जोखिमबाट टाढा हुनु राम्रो कुरा हो । तर, चाहिनेभन्दा बढी डर पस्यो भने त्यसले राम्रो अबसर लिनबाट पनि बन्चित गर्न सक्छ । तसर्थ, सेयर बजारमा लगानी गरिसकेपछि धेरै लोभ पनि गर्न भएन र धेरै डर पनि पाल्न भएन । ४. सेयर खरिद गर्दा बढी ऋणको प्रयोग गर्नु लगानीकर्ताले नेपाली सेयर बजारमा सेयर खरिद गर्दा ऋणको बढी प्रयोग गरेको पाइन्छ । धेरै ऋण लिएर सेयर खरिद गर्दा यदि बजार प्रतिकुल अवस्थामा आयो भने धेरै घाटा पर्न जान्छ । तसर्थ, आफ्नो क्षमता अनुसार मात्र ऋण लिनु पर्छ । ५. समाचारप्रति बढी नै प्रतिक्रिया जनाउनु नयाँ लगानीकर्ताले समाचार (मिडिया) प्रति बढी नै प्रतिक्रिया जनाइएको पाइन्छ । हामीलाई थाहा छ, मिडियाको मुख्य उदेश्य भनेको पाठकलाई आफूतिर आकर्षित गर्नु हो । त्यसरी पाठकलाई आकर्षित गर्नको लागि डर र उत्तेजना जस्ता समाचार प्रेषित गर्नु पर्छ । तसर्थ, यस्ता मिडियाका समाचारको आधारप्रति नै विश्वस्त भएर सेयरमा लगानी गर्न हुदैन । लगानी गर्दा मिडियाबाट टाढा बसी आफ्नो स्वविवेकमा लगानी गर्नु पर्दछ । ६. नराम्रो सेयरलाई बेच्न नसक्नु हामीले सेयर बजारमा लगानी गर्दा कहिले काँही, नराम्रा सेयर खरिद गर्न पुग्छौं । तसर्थ, नयाँ तथा साना लगानीकर्ताको मानसिकता के हुन्छ भने जब लगानी उठ्छ, तब बिक्री गरुलाँ । त्यस्तो मानसिकतालाई ‘कग्निटिभ डिस्टर्सनस्’ भनिन्छ । अर्थात, व्यक्तिको मानसिकताले भन्छ, यो कुरा ठिक हो तर, वास्तविकमा त्यो कुरा साचो हुदैन । भनाइको मतलब, त्यस्तो नराम्रो सेयरको मूल्य बढ्ला र बिक्री गरुलाँ भन्ने हुन्छ । तर, त्यस्ता नराम्रा सेयरको मूल्य बढ्ने त कुरै आउदैन । पछि धेरै ठूलो घाटा बेहोर्न पर्छ । तसर्थ, त्यस्ता सेयरलाई बिक्री गरेर त्यो पैसा कुनै राम्रो सेयरमा लगानी गर्नु भयो भने केही समयपछि त्यो घाटा पूर्ति गरेर पनि राम्रो नाफा कमाउन सक्नुहुन्छ । ७. औसत विधि सेयर बजारमा एउटा निकै प्रचलित र प्रभावकारी रणनीति छ, जसलाई औसत विधि भनिन्छ । साना तथा नयाँ लगानीकर्ताले सो रणनीति प्रयोग गरेको पाइन्छ । भनाइको मतलब तपाईले आज कुनै कम्पनी को १०० कित्ता सेयर रु ५०० मा खरिद गर्नु भयो र केही समयपछि त्यो सेयर को मूल्य घटेर रु ४८० मा आइपुग्यो भने तपाईंले फेरि केही सेयर त्यो मूल्यमा खरिद गर्नुहुन्छ । र, यसरी मूल्य घट्दै जादा तपाई किन्दै जानुहुन्छ । त्यसो गर्दा घट्दो बजारमा तपाईंको औसत खरिद मूल्य प्रतिसेयर घट्दै जान्छ । तसर्थ, यो औसत विधि रणनीति राम्रा कम्पनीको लागि राम्रो हुन्छ । तर, नराम्रा कम्पनीमा गर्नुभयो भने ठूलो क्षति हुनसक्छ । साना तथा नयाँ लगानीकर्ताले नराम्रा कम्पनीमा पनि यो विधिको प्रयोग गरेको पाइन्छ । तसर्थ, साना तथा नयाँ लगानीकर्ता यो विधि प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । ८. सेयर खरिद गर्दा अनुसन्धान नगर्नु कुनै पनि सेयर खरिद गर्दा सो कम्पनीको बारेमा अनुसन्धान नगरिक नै लगानी गर्नु अर्काे नयाँ तथा साना लगानीकर्ताको गल्ती हो । किनभने कुनै कम्पनीको सेयर खरिद गर्दै हुनुहुन्छ भने त्यो कम्पनीको वित्तीय अवस्था कस्तो छ, व्यवस्थापन कस्तो छ, बजारमा कम्पनीको साख कस्तो छ, कम्पनीको उदेश्य के हो, विगतमा कम्पनीको लाभांश कस्तो छ, आदिको अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ । यी माथि उल्लेखित बाहेक पनि अरु केहि गल्ती गर्न सक्छन् । जस्तै, साथीभाइको सरसल्लाहमा खरिद बिक्री गर्नु, बजारलाई भविष्यवाणी गर्न खोज्नु, विज्ञको सल्लाहलाई पूर्ण रुपमा मान्नु आदि । र अन्त्यमा, सेयर बजारमा लगानी गर्दा आफ्नो स्वविकेकको प्रयोग गर्नुहोला ।

जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेदेखि भर्न पाइने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्न लागेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी असार ११ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सेयर निष्कान गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८ फागुन १६ गतेसम्म हुने छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा संस्थाको प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ रहेको छ ।