एकैदिन नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (असार ८ गते) नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था दुबैको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता ३७४३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४०८० रुपैयाँमा भएको थियो । त्यस्तै, नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । सोमबार प्रतिकित्ता ६२६ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५४९ रुपैयाँ कायम भएको छ । यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।
आईपीओ निष्काशन गर्न आइएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ्ग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले हालै कम्पनीलाई उक्त रेटिङ्ग प्रदान गरेकाे हाे । केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एप्समा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ । आइएमई लाइफ इन्स्योरेन्सले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, आईपीओ पश्चात संस्थापक सेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।
नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुुने गरी काठमाडौंको टेकुमा रहेको आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धी असार ६ गते दुई संस्थाबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्तको तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । यससँगै संस्थाको सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरबिबि मर्चेन्ट मार्फत हुने भएको छ । आरबिबि मर्चेन्ट बैकिङ्ग लि. राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।