पुँजी बजारका ‘हट केक’ कम्पनी : प्रतिफल दिँदैनन्, सेयर मूल्य उच्च
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुको सेयरमा लगानी गरेर राम्रो प्रतिफल पाउने आशा जुनसुकै सेयरधनीको पनि हुन्छ । कम्पनी वर्तमानमा राम्रो लाभांश दिन नसके पनि भविश्यमा राम्रो प्रतिफल दिन सक्ने आँकलन गरेर धेरैले सो कम्पनीको सेयरमा लगानी गरेका हुन्छन् भने कतिपयले सर्टटर्मको लागि भनेर सेयर खरिद बिक्री गर्दै नाफा असुल्छन् । सामान्यतः नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले आफ्ना सेयरधनीलाई वार्षिक रुपमा लाभांश खुवाउँदै आएका छन् । लगानीकर्ताले पनि प्रतिफल पाउने आशमा कम्पनीमा लगानी गरिरहेका हुन्छन् । जुन कम्पनीले बढी लाभांश अर्थात् प्रतिफल दिन्छ सो कम्पनीको सेयरमा आकर्षण हुनु पनि स्वभाविक नै हो । जसले सेयरधनीले बढी लाभांश दिन्छ उक्त कम्पनीको सयर मूल्य पनि अन्य कम्पनीको सेयर मूल्यको तुलनामा बढी नै हुन्छ । तर, केही कम्पनी यस्ता पनि छन् जुन कम्पनीले सेयरधनीलाई प्रतिफल दिएका छैनन् तर ती कम्पनीको सेयर खरिद गर्ने सेयरधनीको आकर्षण छ भने सेयर मूल्य पनि राम्रो प्रतिफल दिने कम्पनीहरुको तुलनामा उच्च छ । बीमा क्षेत्रको राष्ट्रिय बीमा कम्पनी र ट्रेडिङ समूहको बिशाल बजार कम्पनीले हालसम्म लाभांश वितरण गरेका छैनन् । तर पनि यी दुई कम्पनीको सेयर मूल्य अधिकांश कम्पनीको तुलनामा कयौं गुणा बढीमा दोस्रो बजारमा खरिद बिक्री भइरहेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी २०७१ पुस २४ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएपश्चात् कम्पनीले कुनै पनि आर्थिक वर्ष सेयरधनीलाई लाभांश वितरण गरेको छैन । दोश्रो बजारमा सूचीकृत हुनुभन्दा अघि भने कम्पनीले आर्थिक वर्ष २०६२/६३ को नाफाबाट ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । लामो समयसम्म लाभांश वितरण नगरेको कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता १४ हजार २५१ रुपैयाँमा कारोबार भइरहेको छ । विगत एक वर्षमा कम्पनीको सेयर प्रतिकित्ता १८ हजार ५८८ रुपैयाँसम्म कारोबार भएको थियो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बजार पुँजीकरण ३७ अर्ब ९९ करोड ८३ लाख रुपैयाँ छ । दोश्रो बजारमा कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत छ । धितोपत्रको व्यवस्थाअनुसार लाभांश वितरण गर्न कम्पनीले साधारण सभा गर्नुपर्ने हुन्छ । साधारणसभा गर्नको लागि प्रत्येक वर्षको वार्षिक प्रतिवेदन महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षक अनुमोदन गराई सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्छ । नियामकले स्वीकृत गरेपछि कम्पनीलाई उक्त वर्षको साधारण सभा बोलाउनको लागि बाटो खुल्छ । तर, राष्ट्रिय बीमा कम्पनीले भने वर्षौंदेखि वार्षिक साधारण सभा गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०६७/६८ पछिका कुनै पनि साधारण सभा बोलाएको छैन । नियामक बीमा समितिबाट वार्षिक प्रतिवेदनको स्वीकृति बिना कम्पनीले सभा गर्न पाएको छैन । पछिल्लो समय भने कम्पनी धमाधम विगतका वर्षहरुका वार्षिक रिर्पोट स्वीकृत गराउनतर्फ लागिरहेको छ । नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले कम्पनीको सीईओको जिम्मेवारी पाएपछि पेन्डिङ्ग रहेका कामहरु धमाधम हुन थालेको छ । आर्थिक वर्ष २०७१/७२ देखिका परीक्षण हुन बाँकी रहेका प्रतिवेदनहरु हाल आर्थिक वर्ष २०७२/७३ सम्मको प्रतिवेदन स्वीकृत भइसकेको कम्पनीले जानकारी गराएको छ । कम्पनीमा सरकारको ४७.५ प्रतिशत, नेपाल बैंकको १०.५ प्रतिशत र कर्मचारी सञ्चय कोषको २२, सर्वसाधारणको १२ र संस्थापकको ८ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, २०६४ साउनमा नेप्सेमा सूचीकृत भएको बिशाल बजार कम्पनीको अवस्था पनि त्यस्तै छ । बिशाल बजार दोश्रो बजारमा सूचीकृत भएको १५ वर्ष नाघ्यो । तर, कम्पनीले हालसम्म लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश खुवाउन सकेको छैन । हाल यस कम्पनीको सेयर मूल्य हाल ३ हजार ६८० रुपैयाँ छ । बिहीबार कम्पनीको बजार पुँजीकरण १ अर्ब ८० करोड रुपैयाँ थियो । यस कम्पनीको सेयर अधिकतम् ६ हजार ८९० रुपैयाँसम्म पुगेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँ छ । बजारमा कम्पनीको ४ लाख ९१ हजार ४०० कित्ता सेयर सूचीकृत छन् । जसमध्ये ८५.२६ प्रतिशत अर्थात ४ लाख १८ हजार ९६७ कित्ता साधारण र १४.७४ प्रतिशत अर्थात ७२ हजार ४३३ कित्ता संस्थापक सेयर रहेका छन् । विशाल बजार कम्पनी २०२६ सालदेखि सञ्चालनमा आएको हो । जसको रजिष्टर्ड कार्यालय काठमाडौंको शुक्रपथमा छ । जसको उद्देश्य नेपाल कानुनको अधिनमा रही घर, पसल/कवल, जमिन आदि भाडामा लिने, दिने लगायत फ्याक्ट्री, भवन, बंगला, गोदाम, टहरा, कार्यालय, पसल, ग्यारेज, वर्कशप आदीको कारोवार गर्ने र ग्राहकलाई विभिन्न सुविधा दिई आधुनिक कम्प्लेक्सको रुपमा विकास गर्ने रहेको छ । किन छ आकर्षण ? लाभांश अर्थात प्रतिफल नै नदिने कम्पनीमा लगानीकर्ताको आकर्षण किन हुन्छ भन्ने विषय पनि धेरैले चासाका रुपमा हेरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले लामो समयसम्म वितरण नगरेका कम्पनीले लाभांश दिइहाल्छन् की भन्ने आशमा लगानीकर्ताहरुले यी कम्पनीको सेयर किन्ने गरेको बताउँछन् । ‘यी कम्पनीले चाहे भने २/३ सय प्रतिशत लाभांश दिन सक्छन्, त्यहि आशमा पनि लगानीकर्ताले धेरै नभएपनि थोरै मात्रामा भएपनि सेयर किनेर राखेका छन्, बोनस तथा हकप्रद आयो भने मालामाल भइनेमा लगानीकर्ताहरु आशाबादी छन्,’ रौनियारले भने । त्यस्तै, विशाल बजारको हकमा कम्पनीको अट्याच सेयर हुनेले त्यहाँको पसल पाउने व्यवस्था रहेको छ । र, उक्त अट्याच भएको सेयर भनेको समयमा किनबेच गर्न नमिल्ने जानकारहरु बताउँछन् । बिशाल बजार कम्पनीले लाभांश वितरण गरेको या नगरेको कुनै पनि तथ्यांक आफ्नो वेवसाइटमा राखेको छैन । यता लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियार भने कम्पनीले विगतमा लाभांश वितरण गरेको बताउँछन् । ‘कम्पनीले विगत १० वर्ष अगाडि लाभांश वितरण गरेको याद छ, बीचमा सरकारसँगको मुद्दा परेको थियो, त्यसपछि भने कुनै पनि लाभांश वितरण गरेको छैन,’ उनले भने । यी कम्पनीहरुले हालसम्म लाभांश नदिएपनि राम्रो सम्पत्ति भएकै कारणले पनि लगानीकर्ताको आकर्षण हुने धेरैको बुझाइ छ । कम्पनीले अहिले प्रतिफल नदिएपनि भोलिको दिनमा राम्रो नाफा हुन सक्ने विश्वास लगानीकर्तामा भएकै कारण लगानी गरिरहेकाे र सेयर मूल्य पनि अन्यकाे तुलनामा राम्राे भएकाे बुझ्न सकिन्छ ।
लगानीकर्तालाई कुमारी बैंकको छुट, आश्वा शुल्क नलिने
काठमाडौं । कुमारी बैंकबाट प्राथमिक सेयरमा आवेदन दिँदा आश्वा शुल्क नलाग्ने भएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको हो । यससँगै लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका विभिन्न धितोपत्रमा आवदेन दिँदा कुनै पनि शुल्क तिर्नुपर्दैन । ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ । बैंकले हाल १९७ शाखा, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । साथै, आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकको प्रतिवद्धता छ ।
हकप्रदको लागि राधी विद्युतले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी भदौ १२ गते बुक क्लोज गर्न लागेको हो । यससँगै भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी साढे ६५ करोड रुपैयाँ नाघ्ने छ । साथै, कम्पनीले सेयर किनेका ब्रोकरलाई सेयरधनीको सेयर सीएम पुल एकाउन्टमा नराखि सिधै डिम्याट खातामा ट्रान्स्फर गरिदिन समेत आग्रह गरेको छ ।