बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ मार्केट शुरु गर्छौं : सीईओ कार्की

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बम्बे स्टक एक्सचेञ्जको सहयोगमा वित्तीय डेरिभेटिभ मार्केट शुरु गरिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘नेपाली बजारमा नयाँ प्रोडक्ट सञ्चालन गर्न डेरिभेटिभ आवश्यक छ, बम्बे स्टकको प्राविधिक सहयोगमा डेरिभेटिभ संचालन गर्छौं,’ उनले भने । साथै, उनले वित्तीय डेरिभेटिभ मार्केटको संभाव्यता रहेको समेत बताए । उनले पछिल्लो २ वर्षको अवधिमा बजारमा धेरै प्रगति भएको बताए । दैनिक १४ लाख लगानीकर्ताको संलग्नता पुगेकोले बजार ठूलो फड्को मारेको उनको भनाई छ । उनले नेपाल धितोपत्र बोर्डको सहयोगमा सहयोगमा बूक बिल्डिङ, मार्जिन लेण्डिङ, लगायतका काम गर्न सफल भएको बताए । प्रबिधि प्रयोग गरे पनि समस्या आउने बताउँदै उनले क्लोज आउट हुने समस्यालाई मध्यनजर गरेर अक्सनको शुरु गरेको जानकारी गराए । साथै, बजारको विकास तथा विस्तारको लागि पछिल्लो समय नेप्सेले गीत संगीतका माध्यमबाट सेयर सम्बन्धी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

२० औं अर्बको कम्पनीलाई पछाडि पार्याे नेष्डोले, पुरानाले ३ गुणा कमाउँदा नयाँ जोखिममा

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त ७ करोड ५१ लाख ३१ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भयो । र, धेरै कारोबार हुने ‘टप थ्री’ मा यो कम्पनी उक्लियो । २० अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका र एक खर्ब रुपैयाँ भन्दा बढी पुँजीकरण भएको नेपाल टेलिकम, ग्लाेवल आईएमई बैंक, नविल बैंक लगायत धेरै कम्पनीहरुलाई २५ करोड ५० लाख रुपैयाँ पुँजी भएको नेष्डोले कारोबारमा जित्यो । साढे २५ करोड रुपैयाँको कम्पनीको बजार पूँजीकरण ८ अर्ब २६ करोड रुपैयाँ छ । कारोबार मात्र बढेको छैन, मूल्यले पनि सगरमाथा चढ्दैछ । आईतबार अन्त्यमा यो कम्पनीको सेयर प्रतिकित्ता ३ हजार २४० रुपैयाँमा किनबेच भयो । यति धेरै मूल्य भएको कम्पनीको न इतिहास गज्जब छ र न भविष्य भव्य छ । गत असार ३१ गते कम्पनीको तेस्रो साधारणसभा भयो तर कम्पनीले सेयरधनीलाई नगद वा बोनस सेयर केही पनि दिएन । त्यस्तै यो लघुवित्त निकट भविष्यमा अर्को कुनै संस्थासँग मर्ज वा प्राप्तिमा जाने निर्णय गरेको छ । नेप्सेका अनुसार यस लघुवित्तको पहिलो सेयर कारोबार गत गत चैत १४ गते भएको हो । पहिलो दिनको अन्तिम सेयर कारोबार ७४७ रुपैयाँमा भएको थियो । भदौ ५ गते ३ हजार २४० रुपैयाँमा कारोबार बन्दा भयो । यस अवधिमा कम्पनीको सेयर मूल्य ३३४ प्रतिशतले वृद्धि भएको छ । पुराना लगानीकर्ताले छोटो अवधिमा ३ गुणा भन्दा बढी कमाउँदा नयाँ लगानीकर्ता भने जोखिममा पर्ने जानकारहरु बताउँछन् । यस लघुवित्तमा सर्वसाधारणको सेयर ८ लाख २८ हजार कित्ता मात्र भएकोले कर्नरिङमा परेको लगानीकर्ताको भनाई छ । लघुवित्तमा  संस्थागत संस्थापक शेयरधनीको २ वटा र व्यक्तिगत संस्थापक शेयरधनी ८१ जना छन् । कुश्मा नगरपालिका ६ पर्वतमा ठेगाना रहेको यस लघुवित्तले वि.सं. २०७५ फागुन २१ गतेदेखि कारोवार शुरुवात हो । लघुवित्तसँग राष्ट्रिय स्तरमा कारोबार गर्न अनुमति पत्र छ । आईपीओ बाडँफाँट गर्दा नेष्डो लघुवित्तका म्यानेजिङ डाइरेक्टर विश्व प्रकाश प्रसाईं ठकुरीले शतप्रतिशत लाभांश वितरण गर्ने दाबी गरेका थिए । तर असारमा साधारणसभा गर्दा कम्पनीले सेयरधनीलाई खाली हात घर फर्कायो । गत आर्थिक वर्षमा २२ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा जनाएएको छ । जहाँ कम्पनीको जगेडा कोषमा ६१ करोड रुपैयाँ भएको उल्लेख छ । नाफा र जगेडा कोष हेर्दा कम्पनीले आगामी वर्ष राम्रो प्रतिफल दिने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर राष्ट्र बैंकले लघुवित्तमाथि बढाउँदै गरेकाे कसिलाे नीति र लघुवित्त प्रति सर्वसाधारणको बढ्दो असन्तुष्टिले लघुवित्तको सेयरमा उच्च मूल्य तिर्ने लगानीकर्ताहरु पनि उच्च जोखिममा रहेको बताइन्छ ।

जलविद्युतका संस्थापक सेयरधनीले १० वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था हट्ने

काठमाडौं । जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीलाई १० वर्षसम्म सेयर बिक्री गर्न नपाइने प्रस्ताव लागू नहुने भएको छ । उर्जा जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसालले सो प्रस्ताव लागू नगर्ने बताएकी हुन् । आइतबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का पदाधिकारीहरुसँगको भेटघाटमा उनले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले गठन गरेको जलविद्युत् आयोजनाको निमार्ण तथा मोडालिटी परिवर्तन गर्नेबारे अध्ययन गर्न बनाएको कार्यदलले गरेको प्रस्ताव हटाउने प्रतिवद्धता गरेकी हुन् । कार्यदलले विद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी ऋण सम्झौता भएको मितिमा कायम रहेका संस्थापक सेयरधनीहरुलाई सेयर कारोबारमा कडाइ गर्नुपर्ने प्रस्ताव गरेको थियो । जलविद्युतका संस्थापक सेयरधनीले बैंकको कर्जा चुक्ता वा विद्युत् उत्पादन सुरु गरेको १० वर्षसमम सेयर बेच्न नपाइने व्यवस्था गर्न सिफारिस गरेको थियो । साथै त्यस अवधिसम्म संस्थापक सेयरधनीलाई धितो बन्धक राख्न समेत रोक लगाउनु पर्ने सिफारिस कार्यदलले गरेको थियो । ‘विद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी ऋण सम्झौता भएको मितिमा कायम रहेका संस्थापक सेयरधनीहरु ‘पे ब्याक पिरियड’ (बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरेसम्मको अवधि) वा विद्युत् उत्पादन सुरु गरेको दश वर्ष पूरा नभएसम्म संस्थापक सेयरधनीहरुले आफ्नो सेयर बिक्री गर्न वा धितोबन्धकी राख्न पाउने छैन,’ कार्यदलको सिफारिसमा भनिएको छ । यस्तै, विद्युत आयोजना सन्चालन/निर्माणमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थिति सिर्जना हुन गएमा वा संस्थापकहरु एक–आपसमा कारोबार खरिद बिक्री गर्न सहमत भएमा वा संस्थापक शेयरानी कालो सूचीमा समावेश हुन पुगेमा वा १ प्रतिशतभन्दा कम मेयर भएको संस्थापक शेयरधनीको हकमा कर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको स्वीकृति लिई संस्थापक सेयर खरिद विक्री गर्न सकिने व्यवस्था पनि गरेको छ । आयोजनाको अनुमतिपत्रको अवधि समाप्त भई नेपाल सरकारमा स्वामित्व हस्तान्तरण हुँदाका दिनसम्म वित्तीय व्यवस्थापनसम्बन्धी ऋण सम्झौता हुँदा कापम रहेको शेयरको कम्तिमा २० प्रतिशत संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व रहेको हुनुपर्ने व्यवस्था पनि सो प्रतिवदेनमा छ ।