हिम पर्वत हाईड्रोपावरले सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल नियुक्त

काठमाडौं । हिम पर्वत हाईड्रोपावरले ४२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावितको लागि १४ लाख र सर्वसाधरणको लागि २८ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हाईड्रोपावरले यसको लागि सिबिआईएल क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हाइड्रोको तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटलका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् । हिम पर्वत हाईड्रोपावरले दोलखा जिल्लामा २० मेगावटकाे सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेगावाटको सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सेयर बजारमा कारोबार रकममा पहिरो, झिनो अंक घट्यो

काठमाडौं । पूँजी बजारमा लगानीकर्तामा अन्यौलता देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३६ प्रतिशत घटेर २०४०.७० अंकमा बन्द भएको छ । लगानीकर्तामा अन्यौलता देखिएपछि बजार सामान्य घटेको हो । यसअघि हिजो दोहोरो अंकले घटेको थियो । बजार घट्ने वा बढ्ने भन्ने स्पष्ट रुपमा लगानीकर्ताले छुट्याउन नसक्दा बजारमा यस्तो अवस्था आएको लगानीकर्ता बताउँछन् । पछिल्लो समय सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा असन्तुष्ट बनेका लगानीकर्ता मंगलबार राष्ट्र बैंकले आर्थिक गतिविधि सार्वजनिक गरेपछि अन्यौलता कायम भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको अर्थतन्त्र सुधार हुँदै गएपछि पनि लगानीकर्तामा प्रभाव परेको हुन सक्ने सेयर विज्ञ बताउँछन् । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । बुधबार दिनभरिमा २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर २६ हजार १९९ पटक किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि मंगलबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार बैंकिङ्ग समूह ०.२८ प्रतिशत, ट्रेडिङ्ग समूह ०.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.०१ प्रतिशत, अन्य समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.४८ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.२ प्रतिशत घटेको छ । यस्तै, विकास बैंक समूह ०.६१ प्रतिशत, हाइड्रोपावर समूह ०.६८ प्रतिशत, फाइनान्स समूह ०.४४ प्रतिशत, निर्जीवन बीमा समूह ०.४१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२ प्रतिशत बढेको छ । बुधबार दिनभरिमा स्वेतगंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, मन्दाकिनी हाइड्रो, अपर हेवीखोलाको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, बुधबारका दिन सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य ५.१४ प्रतिशत घटेको छ । आज पनि रिडी पावरको २ लाख ८६ हजार ८६० कित्ता सेयर १ हजार १४८ पटक किनबेच हुँदा १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

एनएमबि क्यापिटलले सार्वजनिक गर्यो तीन म्युचुअल फण्डको न्याभ, कुनको कति ?

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका विभिन्न म्युचुअल फण्डको वित्तीय विवरण सार्वजनिक भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल-१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड-इ को गत आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको हो । जसमध्ये एनएमबि हाइब्रिड फण्ड एल-१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि गत साउन ३१ गते बुक क्लोज गरिसकेको छ । एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य (न्याभ) १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरि गत साउन ३१ गते बुक क्लोज गरिसकेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना ‘एनएमबि सरल बचत फण्ड-इ’ रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको गत आषाढमा खूद सम्पत्ति मूल्य (न्याभ) ९ रुपैयाँ ११ पैसा कायम रहेको छ । साथै, एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ गत श्रावण २६ गतेदेखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।