हिमालयन बैंकको ऋणपत्र बिक्री खुला, कति ब्याज दिन्छ ?

काठमाडौं । हिमालयन बैंकले आज (भदौ १५ गते) देखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक बण्ड २०८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण र बाँकी ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको हो । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको सो ऋणपत्रमा छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सक्नेछन् ।

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ आज (भदौ १५ गते, मंगलबार) देखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत आर्थत् ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सकिनेछ ।

राप्ती हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ६ लाख १२ हजार ७९३ कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख २८ हजार ६१७ कित्ता र संस्थापकहरुको लगानी रहेको ३१ लाख ८६ हजार ५२८ कित्ता सेयर गरी ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई न्युनतम १०६ रुपैयाँ ३५ पैसादेखि ३१९ रुपैयाँ ६ पैसासम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । कम्पनीको सेयर कारोबार बुधबारदेखि दोस्रो बजारमा आउनेछ । नेप्सेले कम्पनीको सेयरलाई आरएचजीसिएल कारोबार संकेत प्रदान गरेको छ ।