आयोजना प्रभावितका लागि जेठ २४ गतेदेखि राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौं ।  राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित दरमा छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले रुकुम पूर्वी जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रभु बैंकको सेयर १४५ रुपैयाँमा किनबेच

काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा बैंकको कूल ८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सो रुपैयाँमा खरिद बिक्री भएको हो । २२३ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ । रकमको आधारमा मात्र नभई कित्ताको आधारमा पनि बैंकको सबैभन्दा बढी खरिदबिक्री भएका छन् । बैंकको एकैदिन कूल १९ करोड १८ लाख ९७ हजार ९५६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये १ करोड ५८ लाख २२ हजार ९५६ रुपैयाँ बराबरको साधारण सेयर र बाँकी रहेको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, बैंकको कूल ९ लाख ४२ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये ८ लाख ८० हजार ३७५ कित्ता संस्थापक सेयर रहेको छ भने ६१ हजार ७०२ कित्ता साधारण सेयर रहेको छ । नेप्सेको फ्लोरसिटअनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं. ४ (ओपल सेक्युरिटज) मार्फत बैंकको संस्थापक सेयर खरिद बिक्री भएको देखिन्छ । संस्थापक सेयरको मूल्य १४५ रुपैयाँ रहेको बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता २१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन बिहीबारको तुलनामा प्रतिकित्ता २ रुपैयाँले घटी हो । यसकारण कारोबार हुन्छ संस्थापक सेयर ? सामान्यतः सेयर बजारमा निरन्तर गिरावट आएको बेलामा संस्थापक सेयर बढी कारोबार हुने गरेको पाइन्छ । त्यस्तै, कुनै कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार पनि सो कम्पनीको संस्थापक सेयर किनबेच हुने ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् । ‘प्रमोटर सेयर सँधै कारोबार हुँदैन,आकलझुकल हुन्छ, र संस्थापक सेयर किनबेच गर्ने प्रकृया लामो हुन्छ,’ पूर्वअध्यक्ष रानाभाटले विकासन्युजसँग भने । त्यस्तै, प्रभुको केशमा पनि सञ्चालक समितिको निर्णय अनुसार नै एउटाले ग्रुपले बेचेर अर्को ग्रुपले संस्थापक सेयर किनेको हुन सक्ने उनी बताउँछन् । समग्रमा शुक्रबारको सेयर बजार दोहोरो अंकले घटेको छ । पछिल्लो तीन दिन लगातार बढेको नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले घटेको छ । बजारमा कूल १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२३ कम्पनीको ४१ लाख ४० हजार कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबारमा आएकामध्ये होटल्स एण्ड टुरिजम बाहेक सबै समूह राताम्मे देखिएका छन् ।

लगानीकर्ता पौडेलको प्रश्न : पुँजी बजार विरोधी नीतिले क-कसलाई फाईदा पुर्यायो ?

काठमाडौं । सेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सरकारलाई पुँजी बजार विरोधी नीतिले क-कसलाई फाईदा पुर्यायो भनि प्रश्न गरेका छन् । लगानीकर्ताले गत भदौमा सरकारलाई तिरेको करभन्दा हालको कारोबार रकम कम भएको उदृत गर्दै उनले सो प्रश्न गरेका हुन् । ‘सरकार, गत भदौ महिनाको एक दिनमा लगानीकर्ताले राज्यलाई तिरेको कर रकम, ब्रोकर कमिसन जति आजको कुल कारोबार होला जस्तो छ, अब भन्नुहोस् पुँजी बजार विरोधी नीतिले क कसलाई फाईदा पुर्यायो ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । २०७८ भदौ र २०७९ बैशाखको करको रकमलाई तुलना गर्दै पौडेलले सरकारको सबै नीतिले जनतालाई मात्र होइन सरकारलाई पनि नोक्सानी हुने प्रष्ट भएको बताएका छन् । ‘सबै नीतिले जनतालाई मात्र नोक्सानी हुँदैन सरकारललाई पनि हुँदो रहेछ भन्ने कुरा गत वर्ष भाद्र महिनामा उठेको कर रकम र यही बैशाख महिनामा पुँजी बजारबाट संकलन भएको राजस्व हेरे हुन्छ,’ उनले भने । साथै, पुँजी बजारले दिने राजस्वले न विदेशी मुद्रा खर्च हुन्छ न कुनै जनताको स्वास्थ्यलाई नै बिगार्छ भन्दै उनले आगामी बजेटमा महासंघले दिएका सुझावलाई सम्बोधन गर्न समेत माग गरेका छन् । त्यस्तै, लगानीकर्ताहरुको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने उनले बताएका छन् । साथै, ‘५२ लाखको मनोबल राष्ट्रकै मनोबल’ भन्दै उनले सरकारलाई ५२ लाख डिम्याट होल्डरको बारेमा सोच्न समेत आग्रह गरेका छन् ।