तथ्याङ्क बिक्री गरी नेप्सेलाई आम्दानी गर्न बाटो खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । लामो समयदेखि सेबोनमा रोकिएको सो कार्यविधि स्वीकृत भएसँगै नेप्सेलाई तथ्याङ्क बिक्री गर्ने बाटो खुलेको हो । कार्यविधि स्वीकृति नहुँदा नेप्सेसँग भएको तथ्याङ्क बिक्री गर्न पाएको थिएन् । कार्यविधि स्वीकृत भएसँगै नेप्सेले शुल्क लिएर जो कोहीलाई पनि बिक्री गर्न सक्ने भएको हो । पूँजी बजार सम्बन्धी तथ्याङ्क बेचेर नेप्सेलाई आम्दानी गर्न बाटो खुलेको हो । नेप्सेको नीतिप्रति सेबोनले असहमति जनाउँदै हस्तक्षेप गरेको थियो । यसअघि सेबोनका पूर्व अध्यक्षले पूँजीबजार सम्बन्धी महत्वपूर्ण सूचनामा आफूखुसी शुल्क तोकेको र बेच्ने नेप्सेको निर्णय गलत भएको भन्दै स्पष्टीकरण समेत सोधेको थियो । सेबोनबाट स्वीकृत भएको कार्यविधि नेप्से सञ्चालक समितिमा पेस हुन बाँकी रहेको छ । नेप्से सञ्चालक समितिले पास गरेलगत्तै नेप्सेले सूचना जारी गरी सर्वसाधारणदेखि व्यापारिक प्रयोजनका लागि बिक्री गर्न सक्नेछ । नेप्सेले आफूसँग भएको तथ्याङ्क उपलब्ध नगराएको भन्दै लगानीकर्ताले गुनासो गर्दै आएका छन् । व्यक्तिगत पहुँचका आधारमा मात्रै नेप्सेले सूचना उपलब्ध गराउने गरेको लगानीकर्ताको गुनासो छ । नेप्सेसँग भएको तथ्याङ्क आफ्नो सम्पत्ति भएकाले कुनै पार्टिकुलर कम्पनीलाई बिक्री गर्न पाउने अधिकार भएपनि सेबोनले रोकेका कारण लगानीकर्ता तथ्याङ्कबाट बञ्चित हुँदै आएका छन् । अब नेप्सले व्यवसायिक कम्पनी, वेवसाइट वा समाचार पोर्टललाई तथ्याङ्क बिक्री गर्न सक्नेछ । नेप्सेको पारदर्शितामाथि प्रश्न, लगानीकर्ता असन्तुष्ट सेयर बजार सम्बन्धी महत्वपूर्ण सूचना बेच्ने नेप्सेको कार्यमा धितोपत्र बोर्डको हस्तक्षेप

बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता सेयर सार्वजनिक गर्ने भएको छ । कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा कम्पनी र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । वि।सं। २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ । यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाईड्रो (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ । हालै पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिवद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा आइपीओ ल्याउने गरी तयारी थालेको छ । बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगाएतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् । घिमिरे एस.जि ग्रुपका अध्यक्ष समेत हुन । बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निमार्र्ण, बैकिङ्ग लगाएत विभिन्न क्षेत्रमा लगानि रहेको छ ।

आधा दर्जन बढी कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै छन् ?

काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये ७ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी बीमा कम्पनीहरु रहेका छन् । ७ वटा कम्पनीमा ४ वटा जीवन बीमा, २ हाइड्रो र १ उत्पादनमूलक क्षेत्रका कम्पनीहरु रहेका छन् । जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । त्यस्तै, हाइड्रोमा सानिमा माइ र अरुण काबेली पावरले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यता म्यान्युफ्याक्चरिङ समूह अन्तर्गतको नेपाल ल्युब आयलले लाभांश घोषणा गरि उक्त लाभांश पारित गर्नको लागि साधारण सभा समेत आव्हान गरिसकेको छ । यी कम्पनीले छुट्टा छुट्टै आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । कुनले कति ? नेपाल लाइफ नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुने समेत कम्पनीले खुलाएको छ । कूल लाभांशदर अघिल्लो वर्षको तुलनामा भने बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । विगतका वर्षमा नगदभन्दा बोनस सेयरमा फोकस भएको कम्पनी यो पटक भने नगदमा मात्रै केन्द्रित भएको देखिन्छ । नेशनल लाईफ  नेशनल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि कम्पनीका सेयरधनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ । योसँगै बीमा समितिले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न कम्पनीलाई ३७ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ । एशियन लाइफ एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई बीमा समितिले समेत पारित गरिसकेको छ । कम्पनीले चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ । गुराँस लाइफ गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस र कर वापत ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा कम्पनीहरुको लाभांश प्रस्तावलाई नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने छ । र, सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीमा वितरण हुने छ । सानिमा माई सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित सो मात्राको लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जान कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । यससँगै, असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको उक्त लाभांश पाउने छन् । अरुण काबेली पावर अरुण काबेली पावरले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर बाहेक सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । हाइड्रो समूहअन्तर्गतका यी कम्पनीको प्रस्तावित बोनसलाई विद्युत नियमन आयोगले स्वीकृत तथा सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । त्यसपछि मात्रै सम्बन्धित कम्पनीका सेयरधनीले उक्त लाभांश पाउने छन् । नेपाल ल्युब आयल नेपाल ल्युब आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज २८ गते वार्षिक साधारण सभा समेत बोलाइसकेको छ । कम्पनीले सो दिन बिहान साढे ११ बजे ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आफ्नो ३१औं सभा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउने छन् ।