नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न आवेदन खुल्ला, स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि आवेदन खुलाएको छ । सेबानले आइतबार एक सूचना प्रकाशन गरी योग्य संस्थाहरुबाट नयाँ स्टक स्थापना गरी सञ्चालन गर्नका लागि निवेदन पेश गर्न भनेको हो । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित वास्तविक क्षेत्रका सङ्गठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिइने बोर्डले जनाएको छ । धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ सो अन्तर्गत बनेका नियम र निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम सीमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न चाहनेले बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहेको बोर्डले जारी सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । बोर्डले धितोपत्र बजार सञ्चालन गर्न सङ्गठित संस्था स्थापना गर्न चाहनेलाई सिफारिस गर्न लागेको हुँदा सो प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिमका सर्तहरूको अधीनमा रही निवेदन पेश गर्न बोर्डले अनुरोध गरेको छ । सूचना प्रकाशित भएको मितिले ४५ दिन भित्र सबोन समक्षा निवेदन पेश गर्नुपर्ने छ । निवेदन पेश गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलीपल्ट कार्यालय समय भित्र निवेदन बुझाउन सकिनेछ । रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही नहुने बोर्डले जनाएको छ । यस्तै, सूचना बमोजिम पेस हुन आएका निवेदन स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा सुरक्षित रहने छ ।

नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि निवेदन खुला गरेको छ । आइतबार एक सूचना प्रकाशन गरी सेबानले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन खुला गरेको हो । धितोपत्र बजारलाई थप प्रतिस्पर्धा, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाउनका लागि नयाँ ब्रोकरको लाइसेन्स प्रदान गर्न लागेको बोर्डले जनाएको छ । नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने छ । यदि आवेदन दिने समयमा अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दोस्रो दिन पनि निवेदन दिन सकिने छ । धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्था वा कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाइएको बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

शुक्रबारको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो बजार

काठमाडौं । शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १४.१० अंकले घटेर १९१०.३८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये रिडी पावर कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । टप गेनरको शीर्ष स्थानमा नबिल ब्यालेन्स्ड फण्ड २ रहेको छ । फण्डको इकाई मूल्य ७.८७ प्रतिशतले बढेर प्रतिइकाई ९.६० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ९८० रुपैयाँमा झरेको छ । बजारमा म्युचुअल फण्ड समूह उकालो लागेको छ । बाँकी समूह ओरालो लागेको छ । यससँगै अब असोजदेखिको सेयर कारोबार ५ दिनमात्रै खुल्ने छ । हाल आइतबारदेखि शुक्रबारसम्म कारोबार हुँदै आएको बजारमा अब भने आइतबारदेखि बिहीबारसम्म मात्रै हुने छ ।