ब्याजदर बढ्ने भएपछि सेयर बजारमा पहिरो, ३ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले बिहीबार ब्याजदर खुला छाड्ने निर्णय गरेको हो । लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेपछि ब्याजदर बढ्न सक्ने भएको छ । बिहीबार दिउँसो १ः५५ बजेसम्ममा सेयर बजारमा भारि गिरावट आएको छ भने सबै समूहमा राताम्य छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४ मा झरेको छ । यस्तै, सोही समय अवधिसम्ममा २२८ कम्पनीको ४१ लाख २८ हजार ६८६ कित्ता सेयर खरिदबिक्र हुँदा १ अर्ब ३४ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा राताम्य छाएको छ भने विभिन्न ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

सिक्लेस हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै ३३ करोड रुपैयाँ संकलन

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै मागभन्दा ३.१४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा बुधबार साँझ ५ बजेसम्म २ लाख ९० हजार ८२७ जना आवेदकले ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको ३३ लाख २३ हजार २८० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरिएको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सेयर बजार उकालो यात्रामा, नबिल बैंकको सर्वाधिक सेयर कारोबार

काठमाडौं । दशैं तिहार चाडपर्व नजिकिएसँगै पूँजी बजारमा हरियाली छाएको छ । नेपालको अर्थतन्त्रक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेपछि पनि सेयर बजार बढेको लगानीकर्ताहरु बताउँछन् । यस्तै, केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सकारात्मक प्रभाव सेयर बजामा नै थालेको सेयर जानकारहरु बताउँछन् । सेयर बजार उकालो लाग्ने संकेत देखेपछि कारोबार रकम पनि बढिरहेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ अंकमा बन्द भएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा बन्द भएको थियो । आज दिनभरिमा २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ पटक खरिदबिक्री हुँदा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ समूह १.८६ प्रतिशत, विकास बैंक समूह ४.८२ प्रतिशत, फाइनान्स समूह ५.९३ प्रतिशत, होटल तथा पर्यटन समूह २.५६ प्रतिशत, जलविद्युत समूह ३.६२ प्रतिशत, लगानी समूह २.५५ प्रतिशत, जीवन बीमा समूह १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.२७ प्रतिशत, लघुवित्त समूह २.४३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२४ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, ब्यापार समूह ५.७५ प्रतिशत र अन्य समूह २.९ प्रतिशतले बढेको छ । आज ग्रीन डेभलपमेन्ट बैंक सेयर मूल्य १० प्रतिशत, लिवर्टी इनर्जीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोको सेयर मूल्य ७.८१ प्रतिशत बढेको छ । यस्तै, एनआईसी एशिया फ्लेक्स क्याप फण्डको सेयर मूल्य भने १० प्रतिशत घटेको छ । यस्तै, नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ७ हजार ७२२ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख ४७ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।