दोहोरो अंकले घटेको बजारमा नबिल बैंकको सर्वाधिक कारोबार
काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको उक्त परिसूचक अन्त्यमा १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा सीमित भएको हो । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले घटी हो । आइतबारको तुलनामा सोमबारको कारोबार रकम भने बढेको छ । सोमबारको बजारमा ८३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी आइतबारको कारोबार ७४ करोड ७२ लाख रुपैयाँमा सीमित थियो । बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ४ रुपैयाँले घटेर प्रतिकित्ता ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्टको ऋणपत्रको भाउ घटेको छ । जसको भाउ ९.५८ प्रतिशतले घटेर प्रतिथान ९५९ रुपैयाँमा झरेको छ । त्यस्तै, यूनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ । जुन अन्य कम्पनीकीको तुलनामा सबैभन्दा बढी प्रतिशतले बढेको हो । यता म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड समूह ०.०२ अंकले घटेको छ । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५२.५५ अंकले घटेको छ ।
१८ लाखले आवेदन दिँदा ३६ हजारले पाए श्रृजनशील लघुवित्तको आइपीओ
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।सोमबार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले सर्वसाधरणको लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा तीन लाख ६८ हजार ५९० कित्तको लागि १८ लाख ३८ हजार ७५१ वटा आवेदन परेको थियो । आवेदन दिएका मध्ये रित नपुगेका १ हजार ३१५ जना आवेदकहरुलाई बाँडफाँडमा समावेश नगरी बांँकि १८ लाख ३७ हजार ४३६ जना आवेदकहरु मध्ये ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट १०-१० कित्ताको दरले बाँडफाँड गरिएको छ ।
बाबा रामदेबको पतञ्जली आयुर्वेदले पनि आईपीओ ल्याउने, अन्य चार कम्पनीले पनि तयारी गर्दै
नयाँदिल्ली । पतञ्जली आयुर्वेदले पनि छिट्टै आईपीओ सार्वजनिक गर्ने भएको छ । योग गुरु बाबा रामदेवले छिट्टै आईपीओर जारी गर्ने बताएका छन् । योगगुरु बाबा रामदेवद्वारा सञ्चालित पतञ्जली फुड्सकाे भारतमा सेयर मूल्य १३८० रुपैयाँमा छ । यसरी कम्पनीको मार्केट क्याप ५० हजार करोड नाघेको छ । रामदेवले पतञ्जली फुड्सलाई ऋणमुक्त बनाउनु पर्ने बताएका छन् । उनले यस कम्पनीको विस्तार योजनाका बारेमा पनि छलफल गरेका छन् । ‘बजारबाट पैसा कमाउनु फरक कुरा हो, तर हाम्रो ध्यान पतञ्जली फुड्सलाई ऋणमुक्त कम्पनी बनाउने हो, डिसेम्बर २०२२ सम्म ६ प्रतिशत लिक्विडेट गर्न कम्पनी जुटिसकेको पनि उनले बताएका छन् । कम्पनीले १५ लाख एकडभन्दा बढी जग्गामा पाम खेती गर्ने योजना बनाएको छ । यससँगै कम्पनीले ५ देखि ७ वर्षमा वार्षिक करिब २ हजार करोड रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको छ । पाम रूखले ४०वर्षसम्म नाफा दिनेछ । यससँगै देश पाम आयलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्ने जनाएको छ । देशको तीन लाख करोड रुपैयाँ बचत हुने विश्वास कम्पनीको छ । बाबा रामदेवले कम्तीमा ४ कम्पनीले आईपीओ ल्याउने योजना बनाएको बताएका छन् । यो आईपीओ योजनामा पतञ्जली आयुर्वेद, पतञ्जली वेलनेस, पतञ्जली मेडिसिनलगायत पतञ्जलीका अन्य कम्पनीहरू समावेश गर्न सकिनेछ । आगामी वर्षहरुमा आईपीओ ल्याउने कम्पनाीको तयारी छ । अहिले भारतीय सेयर बजारमा पतञ्जली फुड्सको स्टक किनबेच भइरहेको छ । सेयरको मूल्य ५२ हप्ताकै उच्च विन्दुमा पुगेको छ । शेयरको मूल्य १३८०.३५ रुपैयाँमा कारोबार भइरहेको छ । एजेन्सी