नेपाल ल्युव आयलले १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने

काठमाडौं । नेपाल ल्युव आयलले चुक्ता पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीको अधिकृत एवंम जारी पूँजी ५ करोड रुपैयाँ थप गरी १० करोड रुपैयाँ पुर्याउने भएको हो । कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न र लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज २८ गते बिहान ११ः३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा ३१ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारण सभा तथा लाभांश प्रयोजनार्थ असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

अभियान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग ?

काठमाडौं । अभियान लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको आईपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । लघुवित्त र नेप्सेबीच शुक्रबार २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । लघुवित्तको संस्थापक सेयरधनीहरुको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) को गरी कूल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । साथै, नेप्सेले लघुवित्तलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतम प्रतिकित्ता ३१६.०८ रुपैयाँ तोकेको छ । लघुवित्तको सेयर आइतबारदेखि कारोबारमा आउने छ ।

कम्तिमा ८ जना कर्मचारी र चुक्ता पूँजी १ करोड रुपैयाँ भएको कम्पनीलाई नेप्सेले तथ्याङ्क बिक्री गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथ्याङ्कलाई बिक्री गर्न पाउने कार्यविधि सार्वजनिक भएको छ । कार्यविधि तयार भएसँगै नेप्सेलाई तथ्याङ्क बिक्री गरेर आम्दानी गर्ने बाटो पनि खुलेको छ । यसअघि लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ (एपीआई पोलिसी)लाई स्वीकृत गरेको थिएन । सेबोनले स्वीकृत गरेसँगै नेप्सेलाई आफ्नो तथ्यांक बिक्री गर्न बाटो खुला भएको हो । साथै, नेप्सले आफूसँग भएको तथ्याङ्कको शुल्क समेत निर्धारण गरेको छ । नेप्सले बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा विश्लेषक कम्पनीको प्रयोगका निम्ति न्यूनतम चुक्ता पूँजी ५ करोड रुपैयाँ भएको, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा १५ जना कर्मचारी भएको कम्पनीलाई मात्रै तथ्याङ्क बिक्री गर्ने भएको छ । यस्तै, तथ्याङ्क वितरक कम्पनी, वित्तीय औजार विकासकर्ता कम्पनी आदिको व्यापारिक तथा पुनवितरण प्रयोजनका लागि न्यूनतम चुक्ता पूँजी १ करोड रुपैयाँ, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा ८ जना कर्मचारी भएको कम्पनीलाई मात्रै बिक्री गर्ने जनाएको छ । यस्तै, सञ्चार माध्यमहरुको समाचार प्रयोजनका लागि न्यूनतम चुक्ता पूँजी ५० लाख रुपैयाँ, विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको र हाल कम्तिमा १० जना कर्मचारी भएको सञ्चार माध्यमलाई मात्रै तथ्याङ्क बिक्री गर्ने भएको छ । यस्तै, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैर नाफामुलक अनुसन्धानात्मक संस्थाहरु आदिको लागि), तथ्यांक प्रयोगकर्ता विदेशी कम्पनीलाई तथ्याङ्क बिक्री गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । नेप्सेले फरक फरक संस्थाहरुका लागि फरक फरक शुल्क निर्धारण गरेको छ ।