‘सेयर कारोबार उत्पादनमूलक भएन, परीक्षाविना ब्रोकरहरु थप्ने काम नगरौं’
काठमाडौं । सेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका हुन् । उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित परीक्षाविना नै सेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गरे ।
४९.३१ अङ्कले नेप्से घट्दा प्रभु बैंकको सर्वाधिक कारोबार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर एक हजार ८८४.८१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अङ्कले ओरालो लागेर ३६६.१९ मा ओर्लिएको छ । नेप्सेकाअनुसार कूल २३० कम्पनीका ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर एक अर्ब ७५ करोड छ लाख १७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै आज सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१.५६, व्यापार २२.८७, होटल तथा पर्यटन ५२.०३, विकास बैंक १३५.०८, जलविद्युत् ९३.६४, वित्त ४८.१५, निर्जीवन बीमा २३९.२२, उत्पादन ९१.४१, अन्य ४९.९४, लघुवित्त ११०.५३, जीवन बीमा २३४.६२, सामूहिक लगानी कोष ०.२९ र लगानी १.६९ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ८७ अर्ब २६ करोड २५ लाख ८२ हजार ४९३ बराबर रहेको छ । कारोबारका आधारमा प्रभु बैंकको संस्थापक सेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको ११ करोड ८३ लाख २० हजार बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी १० करोड ९२ लाख २६ हजार ७२२, हिमालयन डिस्टिलरी पाँच करोड ७३ लाख ५५ हजार ३९९, एनआइसी एशिया बैंक चार करोड ३५ लाख ७३ हजार ८४४ र नबिल बैंक चार करोड सात लाख ४४ हजार २५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार आँधीखोला लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ९.९८, ओरियन्टल होटल १.४१, सिद्धार्थ इक्विटी फण्ड ०.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ०.१५ प्रतिशतले कमाए । त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । कालिका पावर कम्पनी ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट ८.७९ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.७० प्रतिशतले गुमाए ।
थामिएन सेयर बजारको पहिरो, १९ सय बिन्दुबाट तल झर्यो नेप्से परिसूचक
काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक १९ सय बिन्दुबाट पनि तल झरेको छ । सोमबार कारोबार शुरु भएको ३० मिनेटको अवधिमै परिसूचक ३९.०१ अंकले घटेर १८९५.१० बिन्दुमा झरेको छ । परिसूचक गत साता २ हजारको बिन्दुमा थियो । तर, एक सातामै परिसूचक एकसयभन्दा बढी बिन्दुले घटी सकेको छ । यो अवधिमा १७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कारोबार खुलेको ३० मिनेटमै रिभर फल्स पावर र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।