३ वटा बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई विभिन्न ३ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको भन्दा केही ढिला लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि हालसम्म ३ वटा बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यी ३ वटै बैंकले बोनस सेयर वितरण नगर्ने भएका छन् । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ता गरेको हो । बैंकले बोनस सेयर वितरण नगर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाल बिहान ११ बजे काठमाडौंमा हुनेछ । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले कर समेत गरी सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यी तीन वटै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
आधा दर्जन बढी ठूला बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरिसकेको छ । मर्जर प्रक्रियाका कारण अधिकांश बैंकहरुको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार रोक्का भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिशन सम्बन्धी सेयर कारोबार रोक्का निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरिसकेको छ । तर, कारोबार रोक्का सम्बन्धी निर्देशिकालाई अन्तिम रुप दिएको छैन । लगानीकर्ता तथा सर्वसाधारणको राय सुझाव लिनको लागि बोर्डले मस्यौदा सार्वजनिक गरेको थियो । मस्यौदाका अनुसार अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुनेछ । आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने मस्यौदामा उल्लेख छ । बोर्डले दशैं बिदापछि नै सो निर्देशिका लागू गर्ने गरी अन्तिम रुप दिइरहेको बताएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकको सेयर कारोबार जेष्ठ ३० गतेदेखि नै रोक्का भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने÷गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंक मर्जर प्रक्रियामा सामिल भएकाले नेप्सेले जेठ २ गतेदेखि दुबैं बैंकको सेयर कारोबार रोक्का गरेको थियो । मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ । यस्तै, गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएपछि दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरेको थियो । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने सीईओमा हिमालयन बैंकको अशोक राणा र बरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । यस्तै, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । मर्जर प्रक्रियामा सहभागी भएसँजै सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार साउन १६ गतेदेखि रोक्का भएको थियो । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । यस्तै, एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । मर्जरमा जाने सम्झौता भएसँगै असोज ११ गतेदेखि दुवै बैंंकको सेयर कारोबार रोक्का भएको हो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।
लाभांश प्रस्तावसहित १३ क्यापिटलले डाके एजीएम, एनआईसी एशियाले सर्वाधिक दिँदा ६ वटाले नदिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३० वटा मर्चेण्ट दर्ता छन् । जसमध्ये हालसम्म विभिन्न १३ कम्पनीले आफ्नो वार्षिक साधारण सभा (एजीएम) बोलाएका छन् । आफ्नो वार्षिक साधारण सभाका साथै विभिन्न मर्चेण्ट बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेका छन् । विभिन्न कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पुँजीको लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । केही कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् भने केही कम्पनीको साधारण सभा हुन बाँकी रहेको छ । हालसम्म विभिन्न १३ मर्चेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको भएपनि ८ वटा कम्पनीले मात्रै लाभांश वितरण गर्ने भएका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश एनआईसी एशिया क्यापिटलले वितरण गर्ने भएको छ । त्यस्तै, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत, सानिमा क्यापिटलले १५.७८९ प्रतिशत र प्रभु क्यापिटलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् । लाभांश वितरण गर्ने कम्पनी बिओके क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । क्यापिटलको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण कात्र्तिक ४ गते केन्द्रिय कार्यालय नारायनचौरमा दिउँसो १ बजे बोलाएको छ । क्यापिटलको सभाले प्रस्तावित लाभांश पारित गर्नेछ । यस्तै, कुमारी क्यापिटलको चौंथो वार्षिक साधारण सभा भदौ २२ गते सम्पन्न भइसकेको छ । क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत अर्थात २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले ९ प्रतिशत अर्थात १ करोड ८० लाख रुपैयाँको नगद लाभांश वितरण गरेको थियो । यस्तै, एनआईसी एशिया क्यापिटलको छैटौं वार्षिक साधारण सभा भदौ ८ गते सम्पन्न भइसकेको छ । क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा भदौ ३१ गते सम्पन्न भएको हो । क्यापिटलको सभाले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अघिल्लो आर्थिक वर्षमा क्यापिटलले १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस सेयर गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आरविवि मर्चेन्ट बैंकिङ्गले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै उक्त लाभांश पारित गर्नका लागि असोज ३१ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा अपरान्ह ४ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, सानिमा क्यापिटलले सातौं वार्षिक साधारण सभा असोज २६ गते अपरान्ह ४ बजे बोलाएको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट १५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्षमा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, सिद्धार्थ क्यापिटलको भदौ १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा असोज २८ गते दिउँसो ३ बजे बोलाएको छ । क्यापिटलको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लाभांश वितरण नगर्ने कम्पनी आर्कस क्यापिटलले आफ्नो वार्षिक साधारण असोज २५ गते बोलाएको छ । क्यापिटलको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गते रजिष्ट्रर कार्यायलयमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको हो । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सिबिआईएल क्यापिटलले आफ्नो वार्षिक साधारण सभा बोलाएपनि लाभांश वितरण नगर्ने भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ मा चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर, क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ मा भने लाभांश वितरण नगर्ने निर्णय गरेको हो । क्यापिटलको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा असोज २८ गते बिहान ११ बजे रजिष्ट्रर कार्यालय डिल्ली बजारमा बोलाएको हो । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्त प्रस्ताव पारित गर्नेछ । यस्तै, सेञ्चुरी क्यापिटलको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा कात्तिक ४ गते केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले चुक्ता पूँजीको ६.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्त प्रस्ताव पारित गर्नेछ । कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनीलाई प्राप्ति तथा समाहित गर्न वा अन्य कम्पनीमा गाभ्ने गाभिने कार्य गर्नुपर्ने भएमा सोसँग सम्बन्धित प्रबन्धपत्र, नियमावली संशोधन लगायत आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, हिमालयन क्यापिटलको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औं वार्षिक साधारण सभा कात्तिक १ गते हिमालयन क्यापिटल रजिष्र्टड कार्यालय काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलले साधारण सभा बोलाएपनि लाभांश भने वितरण नगर्ने भएको छ । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र स्वतन्त्र तथा महिला संचालक पुनः नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनीलाई प्राप्ति तथा समाहित गर्न वा अन्य कम्पनीमा गाभ्ने गाभिने कार्य गर्नुपर्ने भएमा सोसँग सम्बन्धित प्रबन्धपत्र, नियमावली संशोधन लगायत आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, मुक्तिनाथ क्यापिटलको १३ औं वार्षिक साधारण सभा भदौ २३ गते सम्पन्न भइसकेको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल लाइफ क्यापिटलको ९ औं वार्षिक साधारण सभा असोज ३ गते सम्पन्न भइसकेको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभा बोलाउन बाँकी कम्पनी आकाश क्यापिटल, सिटिजन्स इन्भेष्मेन्ट ट्रष्ट, सिभिल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, गरिमा क्यापिटल, लक्ष्मी क्यापिटल, माछापुच्छ्रे क्यापिटल, मेगा क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग, एनआईविल एस क्यापिटल, एनएमबि क्यापिटल, प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग, सम्पन्न क्यापिटल र सनराइज क्यापिटलले आफ्नो वार्षक साधारण सभा बोलाउन बाँकी रहेको छ ।