साढे ४८ करोडमा खुम्चियो बुधबारको सेयर कारोबार
काठमाडौं । बुधबारको सेयर कारोबार साढे ४८ करोड रुपैयाँमा खुम्चिएको छ । मंगलबार ६६ करोड बढीको कारोबार भएको बजारमा बुधबार भने ४८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । कारोबार घटेपनि नेप्से परिसूचकमा भने सुधार देखिएको छ । बजारमा परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ । बुधबार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएका छन् । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन २ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । हाइड्रोको सेयर ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ । टप लुजरको अग्रस्थानमा ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ रहेको छ । जसको इकाई मूल्य १० प्रतिशतले घटेर प्रतिइकाई ९ रुपैयाँमा झरेको छ । बजारमा चार समूह बाहेक सबै समूह हरिया देखिएका छन् । फाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । माइक्रोफाइनान्स समूह भने सबैभन्दा बढी अंकले बढेको छ ।
दुई अर्ब बढीको आईपीओ ल्याउँदै तीन कम्पनी, कुनले कति ?
काठमाडौं । बजारमा दुई अर्ब रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आउने भएको छ । विभिन्न तीन कम्पनीले दुई अर्ब ११ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् । आईपीओ निष्काशनको प्रकृया अघि बढाउनेमा मोदी इनर्जी, सोनापुर मिनरल्स एण्ड आयल र मेन्छियम हाइड्रोपावर रहेका छन् । यी तीनले अंकित मूल्य एक सय रुपैयाँ दरका २ करोड ११ लाख ७७ हजार ७५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । यी कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर सेयर निष्काशनको प्रकृया अघि बढाएका हुन् । जसमध्ये सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयलले ल्याउँदै छ । उत्पादनमूलक समूह अन्तर्गतको कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । त्यस्तै, मोदी इनर्जी पावरले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर जारी गर्दै छ । हाइड्रोपावर समूह अन्तर्गतको यो कम्पनीले सनराइज क्यापिटलमार्फत सो मात्राको सेयर निष्काशन तथा बिक्री गर्ने छ । यससँगै मेन्छियम हाइड्रोले पनि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्दै छ । बोर्डको स्वीकृति पाएपछि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।
नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभुति गर्ने
काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हाे । सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका छन् । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।