अब शनिबारबाहेक सबै दिन सेयर बजार खुल्ने

काठमाडौं । अब शनिबारबाहेक सबैदिन सेयर बजार खुल्ने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको सेयर कारोबार अब ६ दिन खुलाउने तयारी गरेको हो । सो विषयमा छलफल भइरहेको नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयाँलले बताए । ‘कारोबार दिन अब शुक्रबार पनि थप्न सकिन्छ की भनेर सोधखोज गरिरहेका छौं, भयो भने थपिन्छ,’ फुयाँलले भने । हाल सो विषयमा छलफल गरिरहेको नेप्सेले निर्णय गर्न भने बाँकी छ । सो निर्णय गर्नलाई धितोपत्र बोर्डको स्वीकृति नचाहिँने बताउँदै फुयाँलले सम्भवतः असारदेखि साताको ६ दिननै कारोबार हुन सक्ने बताए । ‘अब निर्णय गर्दा हप्ताको ६ दिन नै सेयर कारोबार खुलाउने गरी अघि बढ्ने छलफल भएको छ, तर निर्णय भने हुन बाँकी छ,’ उपमहानिर्देशक फुयाँलले विकासन्युजसँग भने । यसअघि नेप्सेले आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुलाएको थियो । बीचमा सरकारले शनिबार र आइतबार दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको सट्टा शुक्रबार सेयर कारोबार खुलाउँदै आएको छ । तर, सरकारले अब असारदेखि आइतबार बिदा नदिने भएपछि नेप्सेले आइतबारसँगै अब शुक्रबार पनि खुला गर्ने तयारी गरिरहेको छ । कारोबार दिन थप्ने तयारी गरेको नेप्से कारोबार समय भने एउटै कायम गर्ने मनसायमा छ । ‘कारोबार समय सबैदिन एउटै अर्थात बिहान ११ बजेदेखि ३ बजेसम्म नै हुन्छ,’ फुयाँलले भने । हालसम्म सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) खुल्दै आएको छ । नेप्सेको तयारी अनुसार नै निर्णय भएमा अब असारदेखि आइतबारदेखि शुक्रबारसम्म दैनिक चार घण्टा सेयर कारोबार खुल्ने छ ।

सिवाईसी नेपालको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ २७ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (जेठ ३० गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘सिवाईसीएल’ दिइएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ तोकेको छ । यससँगै भोलि अर्थात सोमबारको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

३२ सय नजिक पुगेको सेयर बजार साढे ११ सय अंकले घट्यो, १५ खर्ब बढी नोक्सान

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले घटेको छ । अघिल्लो साता १४५.०८ अंकले घटेको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो । गत साताको अन्तिम कारोबारका दिन अर्थात शुक्रवार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रवारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको सेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो । पछिल्लो समय सेयर बजार लामो समयदेखि निरन्तर रुपमा घटिरहेको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११५०.६७ अंकले घटेर २०४८.१६ अंकको बिन्दुमा झरेको हो । यो अवधिमा सेयर बजारमा १५ खर्ब बढी नोक्सान भएको लगानीकर्ताहरु बताउँछन् । चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको ४/१२ करोडको नीतिका कारण सेयर बजार घट्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमवार नेप्से सूचकमा १२.८९ अंकले घटेर २०६५.८२ बिन्दुमा झरेको थियो । सोमवार कारोबार भएको २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयरमार्फत् १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन अर्थात मंगलवार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ बिन्दुमा झरेको थियो । मंगलवार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर, बुधवार भन सेयर बजार बढेको थियो । बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो । बुधवार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको थियो । बिहीवारदेखि बजार बढ्ने आंकलन गरिएपनि एकदिन पनि टिक्न नपाई बिहीवार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झ¥यो । बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ । शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि घटेको हो । त्यस्तै, नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ