एकैदिन १२ सय रुपैयाँले बढ्यो युनिलिभरको सेयर मूल्य
काठमाडौं । बिहिबार यूनिलिभर नेपालले सेयर मूल्य एकैदिन ६.५६ प्रतिशतले बढेको छ । बिहीबार बिहान लाभांश घोषणा गरेको युनिलिभरको एकैदिन १२ सय रुपैयाँले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार युनिलिभरको कारोबार भएको अन्तिम मूल्य १९ हजार ५०० रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने घाेषणा गरेकाे छ । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १ हजार २७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो ।
अरुण काबेलीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । अरुण काबेलीको १० प्रतिशत बोनश सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२.७३ रूपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको बिहिबार(कात्तिक १७ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
वैदेशिक रोजगारीमा गएकालाई आजबाट जारी सेयरमा १० प्रतिशत आरक्षण
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ । याेसँगै अब कुनै पनि कम्पनीले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्छ । लगानीकर्ताले सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नुपर्ने छ। विदेशमा रहेर आइपीओ भर्नकाे लागि रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ ।