२ जनाले पाए हिमालयन हाइड्रोको ११ कित्ता सेयर

काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको हो । क्यापिटलका अनुसार उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट विधिद्धारा बाँडफाँड भएको छ । सो अनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिनेमध्ये १ लाख ८३ हजार ४७ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको छ । उनीहरुलाई कूल १८ लाख ३० हजार ४७० सेयर बाँडफाँड गरिएको हो । त्यसपछि दोश्रो चरणमा बाँकी रहेको २ कित्ता सेयर २ जनाले एक एक कित्ताको दरले पाएका छन् । यससँगै उनीहरुले पहिलो चरणको १० कित्ता र दोश्रो चरणको एक कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् । उक्त आईपीओमा सर्वसाधारणको तर्फबाट मागभन्दा ९.६९ गुणा बढी आवेदन पारेको थियो । बिक्री गरिएको १८ लाख ३० हजार ४७२ कित्ता सेयरको लागि जम्मा १५ लाख ९५ हजार ५५४ जना आवेदकहरुबाट आवेदन दिएका थिए । उनीहरुले कूल १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता सेयर माग गरेका थिए । आवेदन दिएकामध्ये १५ लाख ९६ हजार ७९६ जना आवेदकहरुबाट प्राप्त भएको १ करोड ७७ लाख ३४ हजार ३७० कित्ता सेयर बाँडफाँडका लागि योग्य रहेको देखिएको क्यापिटलले जनाएको छ । त्यस्तै, १ हजार ७५८ जनाले १९ हजार ९३० कित्ता सेयरको लागि दिएको आवेदन रद्द गरिएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ३२० रुपैयाँलाई आधार मानेर हुने छ ।

१३ करोडको आईपीओ ल्याउँदै दुई लघुवित्त, पाए बोर्डको अनुमति

काठमाडौं । धितोपत्र बजारको प्राथमिक बजारमा १३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै दुई लुघवित्तले सो मात्राको आईपीओ निष्काशन गर्ने भएका हुन् । बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्तलाई उक्त अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै यी दुई लघुवित्तले एक सय रुपैयाँ अंकित दरका १३ लाख ६ हजार कित्ता सेयर निष्काशन गर्ने छन् । दुईमध्ये सबैभन्दा बढी अभियान लघुवित्तले निष्काशन गर्ने छ । संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । यससँगै संस्थाले मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको सेयर बजारमा बिक्री गर्ने छ । त्यस्तै, धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्री तथा निष्काशन खुला गर्ने छ । संस्थाले मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ । धौलागिरीले जारी पूँजी १० करोड ३१ लाखको ३२.१०५ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ । यससँगै इच्छुक लगानीकर्ताले अब छिट्टै यी दुई लघुवित्तको आईपीओमा आवेदन दिन पाउने छन् ।