नागरिक स्टक लाभांश घोषणा, मंसिर १८ गते बोलायो साधारणसभा

काठमाडौं । नागरिक स्टक डिलरले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अर्थात् २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । साथै कम्पनीको सोही बैठकले आफ्नो वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले तेस्रो वार्षिक साधारण सभा मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजे बोलाएको हो । सभामा लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्निे र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । यस्तै, सभाले बोनस सेयरपश्चात् हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र रिक्त रहेको सञ्चालक पदमा सञ्चालक नियुक्त गर्नेछ ।

पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रन्छौं : लगानीकर्ता

काठमाडौं । सेयर लगानीकर्ताको साझा ९ संस्थाले पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रिने जनाएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै ९ संस्थाले यस्तो बताएका हो । उनीहरुले माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारबाट अन्य निकायहरुद्धारा चालिएका कदमहरु रोक्ने काम भए ५८ लाख लगानीकर्ताको तर्फबाट सबै संघ संस्थाहरु सडकमा उत्रने विज्ञप्तिमार्फत जनाएका छन् । नेपालको पूँजी बजारलाई सिमित व्यक्ति र संस्थाले पकडमा मात्र राखिरहन खोज्दा ४० खर्बभन्दा बढीको पूँजीकरण अहिले २८ खर्बमा झरेको र लाखौ लगानीकर्ता पलायन हुन बाध्य भएको जारी उनीहरुको भनाइ छ । अहिले हुन लागेका सुधार र विस्तारको काम रोकिए नेपालको पूँजी बजारले झन ठुलो क्षति  भोग्नुपर्ने र वर्षै पछाडि धकेलिने बताउँदै उनीहरुले विरोध सिर्जना नगरी लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्न माग गरेका छन् ।      

सेयर बजारमा दुई अर्बको कारोबार, सबैभन्दा धेरै कमाउने र गुमाउने दुवै लघुवित्त

काठमाडौं । सोमबार सेयर बजार ६.४३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घट्दा सेयर विन्दु १९५२.९४ मा पुगेको छ । नेप्सेको अनुसार केही अंकले घटेको सेयर बजारमा कारोबार रकम भने उच्च देखिएको छ । आज ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, सबैभन्दा कमाउन र गुमाउनेमा दुवै लघुवित्त रहेका छन् । सबैभन्दा बढी कमाउनेमा धौलागिरी लघुवित्त रहेको छ भने गुमाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।