नोट्सको लगइन र युजर आइडी लिन १० दिनभित्र इमेल आइडी पठाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से अनलाइन ट्रेडिङ प्रणाली (नोट्स) को लगइन र युजर आइडी लिन असम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आधिकारिक इमेल आइडी पठाउन आग्रह गरेको छ । नेप्सेले आइतबार एक सूचना जारी गर्दै पुरानो वेवसाइट मर्मत कार्य गर्नुपर्ने र नयाँ वेवसाइट संचालनमा आइसकेको हुँदा सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु लागि नेप्सेको नोट्स लगइन र युजर आइडी लिन १० दिनभित्र कम्पनीको पब्लिक आइपी एड्रेस र आधिकारिक इमेल आइडी नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न निर्देशन दिएको हो । साथै यसभन्दा अघि नोट्सको लगइन र युजर आइडी लिन नेप्सेमा पत्र पठाएका कम्पनीहरुलाई नोट्सको लगइन र युजर आइडी सूचीकरण शाखाले पठाउने नेप्सेले जनाएको छ ।

सेयर धितोमा ४ करोडको सीमा हटेपछि बजार हरियाली, ६१ अकंले बढ्यो

काठमाडौं । सेयर बजारले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको स्वागत गरेको छ । ओरालो लाग्दै आएको सेयर बजार आइतबार बढेपछि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेको जानकारहरु बताउँछन् । सेयर बजार अनुकुल मौद्रिक नीति आएपछि सेयर बजारमा पनि हरियाली छाएको छ । यसअघि घट्दै आएको सेयर बजार राष्ट्र बैंकको मौद्रिक नीतिका कारण बढ्ने अपेक्षा सेयर जानकार बताउँछन् । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने बताएको थियो । सोही कारण सेयर बजार बढेको जानकार बताउँछन् । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंकमा बन्द भएको छ । आइतबार नेप्से ३.०३ प्रतिशतले बढेको हो । आइतबार दिनभरिमा २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता सेयर ४२ हजार ९३० पटक किनबेच हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकिङ्ग समूह १.६७ प्रतिशत, ट्रेडिङ्ग समूह ४.४४ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७५ प्रतिशत, विकास बैंक समूह ५.१ प्रतिशत, हाइड्रोपावर समूह ३.६८ प्रतिशत, फाइनान्स समूह ७.२२ प्रतिशत, निर्जीवन बीमा समूह १.४५ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९४ प्रतिशत, अन्य समूह ६.९३ प्रतिशत, माइक्रोफाइनान्स समूह ३.९१ प्रतिशत, जीवन बीमा समूह २.१६ प्रतिशत, म्युचुअल फण्ड समूह १.१६ प्रतिशत र इन्भेष्टमेन्ट समूह ३.२१ प्रतिशत बढेको छ । आज विभिन्न ३ कम्पनीको सेयर १० प्रतिशतभन्दा बढी बढेको छ । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको हो । साथै विभिन्न सात वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यता विभिन्न १२ कम्पनीको सेयर मूल्य भने सामान्य घटेको छ ।

अब एक महिनाभन्दा बढी सेयर कारोबार रोक्का नहुने, कार्यविधि निर्माणमा जुट्यो बोर्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्ड कार्यविधि बनाउनतर्फ लागेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको हो । सोही व्यवस्था बमोजिम अब धितोपत्र बोर्डले कार्यविधि तथा निर्देशिका निर्माण गरेर काम अगाडि बढाउने भएको हो । मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय धितोपत्र बोर्डले पाएसँगै कार्यविधि तथा निर्देशिका तयार गर्न बोर्डले कमिटि बनाएर अध्ययन गरिरहेको बोर्डले बताएको छ । कमिटिले छिट्टै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको बताइएको छ । धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा कार्यविधि निर्माण समिति बनेको छ । मर्जर तथा प्राप्तिका कारण सेयर कारोबार रोक्का गर्न हालसम्म धितोपत्र बोर्डले कुनै पनि व्यवस्था गरेको छैन । तर, राष्ट्र बैंकले गरेको उक्त व्यवस्थालाई कम्पनीहरूले अनुसरण गर्दै आएका थिए । तर, पछिल्लो समय कारोबार रोक्का हुँदा लगानीकर्तालाई ठूलो असर परेको भन्दै विरोध भएपछि यसमा राष्ट्र बैंक नै पछि हटेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले तत्कालै कार्यविधि बनाएर अघि बढ्ने बताए । मौद्रिक नीतिमा सेयर कारोबार रोक्का गर्ने व्यवस्था राष्ट्र बैंकले खारेज गरी बोर्डलाई सम्पूर्ण अधिकार दिएकाले कार्यविधि बनाएर अघि बढ्ने अध्यक्षको भनाइ छ । ‘कार्यविधि बनाउन धेरै समय लाग्दैन, कार्यविधि बनिसकेपछि त्यस विषयमा अध्ययन गरेर तत्काल कार्यान्वयनमा ल्याउँछौं,’ अध्यक्ष हमालले विकासन्युजसँग भने । उसो त यसअघि उनले साउन १ गतेदेखि मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का नहुने बताएका थिए । तर, अहिले उनी सो वक्तव्यबाट पछि हटेका छन् अर्थात् आफुले साउनदेखि कम्पनीको सेयर कारोबार रोक्का हुने नबताएको प्रष्ट पारे । ‘कारोबार रोक्का हुँदैन भनेको थिएन, कारोबार रोक्का हुने समय एक वर्षभन्दा लम्बिनु हुँदैन भनेको हुँ, अब लगातार एक वर्ष सेयर कारोबार रोक्का हुँदैन, यस विषयमा हामी काम थालनी गरिसकेका छौं,’ उनले भने । उनले मर्जरको नाममा सेयर बजारमा चलखेल हुन सक्ने बताउँदै त्यसमा बोर्ड सजग रहेको धारणा राखे । मर्जरका नाममा हुने चलखेल अन्त्य गर्न आफु तयार रहेको उनको भनाइ छ । ‘अधिकतम एक महिना सेयर कारोबार रोक्का हुनु स्वभाविक नै हो तर, निरन्तर सेयर रोक्का हुनु हुँदैन, अब सेयर कारोबार रोक्का हुने समय धेरै छोटो हुन्छ, अन्य देशहरुको अभ्यास पनि हेरेर कार्यविधि बन्छ,’ उनले भने । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र हाइड्रोपावर कम्पनीनहरु मर्जरमा गएका कारण हाल ३१ वटा कम्पनीको सेयर कारोबार रोक्का छ ।