सेयर बजारमा बुधबार २ महिना यताकै कम कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई महिना यताकै कम कारोबार भएको छ । नेप्सेको अनुसार बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो । यसअघि दैनिक एक अर्बभन्दा माथि कारोबार हुँदै आएको नेप्सेमा बुधबार भने कारोबार कम भएको हो । नेप्सेमा दुई महिना अघि मंसिर २८ गते ७२ करोठ ७८ लाख ७७ हजारको कारोबार भएको थियो । यस्तै, आज नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा पुगेको छ जसक्रममा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर र कालिन्चोक दर्शन रहेको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको सेयरधनीले ३ करोड ५६ लाखको गरेका छन् ।
राष्ट्र बैंकले घटाएर पठायो महुली लघुवित्तको लाभांश
काठमाडौं । नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश घटाएर पठाएको छ । योसँगै महुली लघुवित्तको सेयरधनीले १५ प्रतिशत लाभांश पाउने भएको छन् । लघुवित्तका सेयरधनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ पाउनेछन् । यसअघि लघुवित्तले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले पछिल्लो समय लघुवित्तहरुको लाभांश घटाउँदै पठाइरहेको छ । लघुवित्तको लाभांश वितरण गर्ने बैशाख ९ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि लघुवित्तले चैत २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ चैत २८ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्नेहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन पाउनुको साथै लाभांश पनि पाउनेछन् ।
लुम्बिनी विकास बैंकको बोनस सेयरधनीको खातामा
काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले सेयरधनीहरुको हितग्राही खातामा ३ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ । बैंकको पुस २६ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल रहेको छ ।