पौने १४ करोडको आईपीओ जारी गर्दै नेपाल वेयरहाउजिङ्ग, पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले पौने १४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । सो मात्राको आईपीओ निष्काशन गर्ने अनुमति माग्दै कम्पनी सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले एक सय अंकित मूल्यमा १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित भएकाे संस्था हाे ।

४ कम्पनीको सेयरमा लाग्यो सर्किट

काठमाडौं । सोमबार चार कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार नेप्सेको तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा क्रमशस् सुपर माइ हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिन्चोक दर्शन लिमिटेड रहेको छ । यस्तै, नकारात्मक सर्किट लाग्नेमा नेशनल माइक्रोफाइनान्सको रहेको छ । कम्पनीको लाभांश राष्ट्र बैंकले घटाएर पठाएपछि कम्पनीको सेयर मूल्यमा त्यसको प्रभाव परेको हो । आज नेप्से १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको छ । यसरी बजार बढ्दा ४३ लाख कित्ता सेयर किनबेच भई एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरीका सेयरधनीहरु रहेका छन् । कम्पनीको आज ५ करोड ९० लाखको सेयर कारोबार भएको छ ।

नेशनल माइक्रोफाइनान्सका सेयरधनीले अब १५ प्रतिशत मात्र लाभांश पाउने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको सेयरधनीले अब १५ प्रतिशत मात्र लाभांश पाउने भएका छन् । संस्थाको आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १५ प्रतिशत मात्र बोनस सेयर बाँड्ने निर्णय गरेको हो । यसअघि लघुवित्तले सेयरधनीलाई ३२.४५ प्रतिशत लाभाशं बाँड्ने निर्णय गरेको थियो । तर राष्ट्र बैंकले लाभांश घटाउन निर्देशन दिएपछि लघुवित्तले लाभांश घटाएको हो । राष्ट्र बैंकले पछिल्लो समय धेरै लघुवित्तहरुको लाभांश घटाउँदै पठाइरहेको छ ।