प्राइम बैंकले १५ रुपैयाँ सस्तोमा सेयर बेच्दै
काठमाडौं । प्राइम कमर्सियल बैंकले दोस्रो बजार मूल्यभन्दा सस्तोमा सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम रहेको सेयर मूल्यभन्दा १५ रुपैयाँ कम गरी संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले ब्यक्तिगत संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ । तर, नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ । बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् । बैंकले चैत २१ गतेदेखि चैत २९ गतेसम्म सेयर बिक्री गर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले सो सेयरमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
२ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । विभिन्न २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज चैत १६ गते अन्तिम दिन हो । यी दुवै लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १७ गतेदेखि साधारण सभाको दिनसम्म बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२९ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद गरी कूल १४.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले चौंथो वार्षिक साधारण सभा चैत ३० गते केन्द्रिय कार्यालय मोरङ्गमा बिहान साढे १० बजे बोलाएको छ । यस्तै, एनएमबि लघवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले दशौँ वार्षिक साधारण सभा २०८० बैशाख १५ गते पोखरा, कास्कीमा दिउँसो १२ः३० बजे बोलाएको छ ।
महुली लघुवित्तका संस्थापक सेयर बेचेर बाहिरीँदै
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी दिलिप कुमारी मंडरको नाममा रहेको १ हजार ३ सय, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआईसी एशिया बैंकको ५ हजार १८१ कित्ता गरी कूल १३ हजार ७२ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले लघुवित्तका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।