अप्पर तामाकोशीले साढे १० अर्ब बढीको हकप्रद जारी गर्ने, बोर्डले दियो स्वीकृति

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १० करोड ५९ लाख कित्ता सेयर हकप्रद जारी गर्न स्वीकृति दिएको हो । यससँगै हाइड्रोले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर साविकका सेयरधनीहरुलाई बिक्री गर्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र सनराइज क्यापिटल रहेको छ ।

सिंगटी हाईड्रो इनर्जीले शतप्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सिंगटी हाईड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साविकका शेयरधनीहरुलाई प्रति सेयर १०० रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरधनी निष्काशन गर्नको लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा सिंगटी हाईड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । सिंगटी हाईड्रो इनर्जीको अधिकृत पुँजी २ अर्ब ९० करोड रूपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रूपैयाँ छ । हकप्रद सेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रूपैयाँ हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा छ । सिंगटी हाइड्रो इनर्जीले प्रचलित कानुन बमोजिम २०६७ साल जेठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भई २०७५ साल असार ६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ । कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविधुत आयोजना २५ मेगावाट क्षमताको आयोजना २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनीका अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह््याविट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रर्बद्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गर्नेछ ।

पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता सुवेदी चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता श्रृजना सुवेदी चयन भएकी छिन् । लामो समयदेखि पूँजी बजारको अनुभव संगालेकी लगानीकर्ता सुवेदीलाई महासंघको पूँजी बजार फोरमको सदस्यमा चयन भएकी हुन् । नेपालको पूँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेकी सुवेदीलाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पूँजी बजारलाई नजिकसँग बुझेका सुवेदीको नियुक्तिले आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ ।