जोशी हाइड्रोपावरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार कम्पनी र क्यापिटलले हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रति शेयर अंकित एक सय रुपैयाँको दरले एक कित्ता शेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

दुई हाइड्रोलाई ३७ करोडको आईपीओ जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई हाइड्रो पावरलाई ३७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले चिर्ख्वा हाइड्रो पावर र माथिल्लो मैलुन खोला जलविद्युत गरी दुई कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । यससँगै चिर्ख्वा हाइड्रो पावरले अंकित मूल्य एक सय रुपैयाँको दरले १२ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई कूल १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । त्यस्तै, माथिल्लो मैलुन खोलाले पनि अंकित मूल्य एक सय रुपैयाँको दरले २५ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत २५ करोड रुपैयाँ बराबरको सेयर स्थानीय र सर्वसाधारणलाई बिक्री गर्ने छ ।

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्यमा भने बृद्धि भएको छ । विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता सेयर तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड १२ लाख ९० हजार नौ सय १२ मूल्य रुपैयाँमा कारोबार भएको छ । आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाख ८६ हजार नौ सय ९२ रुपैयाँ, प्राइम बैंक २४ करोड ८९ लाख ५० हजार पाँच सय रुपैयाँ, शिवम् सिमेन्ट १५ करोड ५१ लाख ५३ हजार छ सय १८ रुपैयाँ र सिटी होटल नौ करोड एक लाख ६२ हजार सात सय ६२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य सात दशमलव २३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ७९ प्रतिशत र अरुण काबेली पावरको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार नेपाल फाइनान्सको सेयर मूल्य छ दशमलब ३६ प्रतिशतले बढेको छ । आजको कारोबारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य छ दशमलव ३४, सिटी होटलको छ दशमलव २६, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ८०, सुपर मादी हाइड्रोपावर पाँच दशमलव शून्य सात र बलेफी हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ७६ प्रतिशतले घटेको छ ।