घोराहीको सेयर आवेदन गर्ने १२ जनामाथि जालसाजी मुद्दा लाग्ने, बैंक पनि तानियो विवादमा
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा रकम नभएको खाताबाट आवेदन दिने आवेदकहरुलाई जालसाजी मुद्धा लगाइने भएको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई भ्रमित पार्ने गरी आवेदन दिएका ब्यक्तिहरुमाथि जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानबिनका लागि सिफारिस गरेको हो । साथै, सर्वसाधारणलाइए भ्रमित पार्ने कार्यमा निष्काशनकर्ता कम्पनी र बिक्री प्रबन्धकका कर्मचारी तथा सञ्चालकहरुको कुनै संलग्नता नदेखिएको अनुसन्धानबाट खुलेको बोर्डले जनाएको छ । ‘केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसंँग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदकहरुरले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने छ,’ बोर्डले भनेको छ । यस्तै, निष्काशन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने बोडृले जनाएको छ । बोर्डका अनुसार आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाइने छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौं । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय नौ दशमलव ७६ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय १० दशमलव ८५ अङ्कले घटेको छ । बैंकिङ समूह १० दशमलव ९९, विकास बैंक ६३ दशमलव २९, वित्त समूह २० दशमलव ०४, होटल तथा पर्यटन समूह ८८ दशमलव २८, जलविद्युत् समूह ५६ दशमलव ३६ अङ्कले घटेको छ । त्यस्तै, लगानी एक दशमलव ६०, उत्पादन तथा प्रशोधन एक सय पाँच दशमलव ८०, लघुवित्त ८६, म्युचअल फन्ड शून्य दशमलव ०३, व्यापार समूह ३२ दशमलव १५ र अन्य समूह ३६ दशमलव ६९ अङ्कले घटेको छ । आज सिटी होटल लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४९ लाख १२ हजार पाँच सय ९६ बराबरको दुई लाख ७६ हजार तीन सय २० रुपैयाँ कित्ता सेयर किनबेच भएको छ ।
सेबोनले मार्केट सेक्युरिटिजलाई तिरायो १० लाख जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिलाई कारवाही गरेको छ । मार्केट सेक्युरिटिज एक्सचेन्जले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै कारवाही गरेको बोर्डले जनाएको छ । धितोपत्र बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजलाई कारबाही गरिएको हो । साथै, कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फको उपदफा (१) को खण्ड (ख) बमोजिम धितोपत्र बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको हो ।