सेयर बजारमा झिनो अङ्कको सुधार

काठमाडौं ।  यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता सेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ मा खुम्चिएको छ ।’ आज बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव १६, होटल तथा पर्यटन समूह ६५ दशमलव ८२, लगानी समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह १९ दशमलव १९ अङ्कले घटेको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूह ८२ दशमलव १० अङ्क र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ९८ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह २४ दशमलव ५४, वित्त समूह सात दशमलव १४, जलविद्युत् समूह सात दशमलव २२ र लघुवित्त समूह तीन दशमलव ९५ अङ्कले बढेको छ । त्यस्तै म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार समूह चार दशमलव ४६ र अन्य समूह चार दशमलव ४९ अङ्कले बढेको छ । आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको सेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कालिञ्चोक दर्शनको सेयर मूल्यमा नौ दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको आठ करोड ८१ लाख ७८ हजार दुई सय २१ बराबरको एक लाख पाँच हजार छ सय ३६ कित्ता सेयर किनबेच भएको छ ।

नखुल्दै विवादमा फस्यो हिमालयन स्टक एक्सचेञ्ज

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको अनुमतिका लागि निवेदन दिएको हिमालयन स्कट एक्सचेञ्ज विवादमा परेको छ । यसअघि नै हिमालयन स्कट एक्सचेञ्जको नाममा धितोपत्र बोर्डमा निवेदन दर्ता भएको र सोको कारवाही नटुङ्ग्याई सोही नामबाट नयाँ निवेदन दर्ता गरिएको भेटिएपछि विवादमा परेको हो । यसअघि वि.सं.२०६६ सालमा हिमालयन स्टक एक्सचेञ्ज लिमिटेडले नयाँ स्टक एक्सचेञ्जको इजाजतपत्र (लाइसेन्स) अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता भएको थियो । सो निवेदनको आवश्यक कार्यवाही नटुङ्ग्याई सोही नामबाट पुनः निवेदन दर्ता गरेको भन्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले अदालत जाने बताएका हुन् । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल लगायतको लगानीमा पुनः हिमालयन स्टक एक्सचेञ्जको नाममा बोर्डमा निवेदन दर्ता भएपछि सीईओ भट्टराईले आपत्ति जनाए । उनले हिमालयन स्कट एक्सचेञ्जको नाममा कसरी नयाँ निवेदन लिन मिल्छ भनेर प्रश्न गरेका छन् । साथै, देशमा कानुन र अदालत रहेको भन्दै निवेदन दर्ता गर्दा बिचार गर्नुपर्ने उनको भनाइ छ । ‘वि.सं. २०६६ मंसिर १५ गते १८ वटा कम्पनी मिलेर हिमालयन स्कट एक्सचेञ्जको नाममा बोर्डले तोकेको सम्पूर्ण कागजात र २५ हजार रुपैयाँ धरौटि सहित प्रस्तावित कम्पनीको अध्यक्षको हैसियतले कानुनी रुपमा बोर्डमा निवेदन दर्ता गराएका थियौं,’ सीईओ भट्टराईले भने, ‘सो निवेदनमा पटक पटक धितोपत्र बोर्डले पत्राचार पनि गर्याे तर, अहिले हाम्रो निवदेनको कार्यवाही नटुंग्याई वा धरौटि फिर्ता गरि दर्ता रद्द नगरि सोही नाम अर्थात् हिमालयन स्कट एक्सचेञ्ज लिको नाममा कसरी नयाँ निवेदन लिन मिल्छ ? देशमा कानुन छ, अदालत छ, अलिकति बिचार गर्नुपर्ने हैन र भन्या ?’ सीईओ भट्टराईका अनुसार वि.सं. २०६६ मंसिर १५ गते १८ वटा कम्पनी मिलेर धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज लि.को नाममा निवेदन परेको थियो । सो कम्पनीको अध्यक्षमा भट्टराईलाई नियुक्त गरिएको थियो । भट्टराई तत्कालिन समयमा एशियन लाइफ इन्स्योरेन्सका प्रबन्ध सञ्चालक थिए । विकास बैंक, वित्त, बीमा र सेयर दलाल कम्पनी लगायत १८ वटा कम्पनीको लगानीमा हिमालयन स्टक एक्सचेञ्ज बोर्डमा दर्ता भएको थियो । ऐनमा ५ करोड चुक्ता पूँजी भएको कम्पनीले स्टक एक्सचेञ्ज सञ्चालन गर्न पाउने व्यवस्था भएपनि १० करोड रुपैयाँ चुक्ता पूँजी गरेर दर्ता भएको थियो । जसमा मुख्य लगानीकर्ता एशियन लाइफ इन्स्योरेन्स कम्पनी थियो । एशियन लाइफको १ करोड रुपैयाँ लगानी रहेको थियो । सीईओ भट्टराईका अनुसार कुनै पनि कम्पनीको लाइसेन्स लिनका लागि रितपूर्वक निवेदन पेश गरेको कम्पनीलाई अनुमति दिएर अन्य निवेदन रद्द गरिन्छ । साथै, लाइसेन्स जारी नभएको अवस्थामा कारण खोलेर लाइसेन्स दिन मिल्दैन भनेर रद्द गरिन्छ । तर, धितोपत्र बोर्डले दर्ता गरेर सो निवेदनलाई रद्द नगरेको हुँदा हिमालयन स्टक एक्सचेञ्जको अस्तित्व कायमै रहने उनको भनाइ छ । हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेका १८ वटा समूहबीच छलफल गरेर आवश्यक कानुनी कारवाही खोज्ने उनले बताए । ‘धितोपत्र बोर्डले निवेदन दर्ता गराएको हो, पटकपटक पत्र पनि पठायो तर, हाम्रो निवेदनलाई रद्द गरेन, रद्द नगरेसम्म त्यो निवेदनको अस्तित्व कायमै रहन्छ, त्यो अस्तित्व कायम रहेको अवस्थामा त्यहि नामको अरुले लिन मिल्दैन,’ सीईओ भट्टराईले भने, ‘बोर्डले प्रक्रियागत त्रुटि गरेकोमा हाम्रो आपत्ति हो ।’ हिमालयन स्टक एक्सचेञ्जमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा लगायत राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगडको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा १५ प्रतिशत सेयर स्वामित्व रहेको बुझिएको छ । साथै, यस स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्टको पनि १५ प्रतिशत लगानी रहेको छ । सम्बन्धित समाचार : ठूला उद्योगी व्यवसायी मिलेर हिमालयन स्टक एक्सचेञ्ज खोल्दै, दिपक भट्टको पनि १५ प्रतिशत सेयर

घोराही सिमेन्टले १९ बैशाखदेखि प्रिमियममा आईपीओ बिक्री गर्ने, १ कित्ताको कति पर्छ ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६ सय रुपैयाँको २० प्रतिशत अर्थात् ७९ करोड ४३ लाख ८० हजार १ सय रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७ करोड ५४ लाख ६६ हजार १ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अधिकतम सम्पूर्ण सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई छुट्याइएको सेयमार पूर्ण आवेदन नपरेमा जेठ १७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एसबिआई बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक, ज्योति विकास बैंक र घोराही सिमेन्ट इण्डष्ट्रीबाट आवेदन दिन सक्नेछन् । साथै, कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।